काठमाडाैँ । यहिँ वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एक सिट बोनस पाएको छ । प्रतिनिधिसभामा २० सिट भएको रास्वपाको अब २१ सिट हुने भएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गतेको निर्वाचनमा रबि लामिछाने भारी मतका साथ विजयी भएपनि नागरिकता विवादमा दोषी ठहर भएपछि उनको पद गुमेको थियो ।
पद गुमेपनि रबि लामिछानेले अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै उनलाई उम्मेदवार हुने बाटो खुल्यो । सोहीअनुसार चितवन २ बाटै उम्मेदवारी लिएका रबि लामिछानेले यो उपनिर्वाचनमा “एकको बदला तीन” सार्वजनिक रुपमा बताउँदै आएका थिए ।
जसअनुसार तनहुँ क्षेत्र नं. १ बाट अर्थविद डा. स्वर्णिम वाग्ले र बारा २ बाट पुर्ब प्रहरी महानिरीक्षक रमेश खरेललाई पार्टीको तर्फबाट लडाइएकामा तनहुँको नतिजा पनि रास्वपाकै पक्षमा आएको छ । तनहुँमा डा. स्वर्णिम वाग्ले विजयी हुँदा चितवन दुईमा यसअघिको भन्दा पनि धेरै मत पाएर रबि लामिछाने विजयी भएका छन् ।
तर, बारा २ मा भने रास्वपा पराजित हुने निश्चित देखिएको छ । रास्वपाका उम्मेदवार रमेश खरेल जारी मतगणनामा कमजोर मतका साथ चौथो स्थानमा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा आफ्नो एक पद गुमेपनि त्यसको बदलमा तीन ल्याउने आशयका साथ “एकको बदला तीन सिट” जित्ने बताउँदै आएका थिए । तर, सो योजना पुरा नहुने भएपनि रास्वपाले संसदमा एक सिट बोनस भने उपनिर्वाचनबाट पाएको छ ।
तनहुँ १ मा मंसिर ४ मा निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो ।