काठमाडौँ । डिस्चार्ज भएको ३६ दिनसम्म बिरामी बन्धक रहेको जनकपुरधामस्थित न्यूरो अस्पताल दर्ताबिना नै सञ्चालन भइरहेको खुलेको छ । २०७८ फागुन दोस्रो सातादेखि सञ्चालन भएको उक्त अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिएको जानकारी पाइएको छ ।
जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ र आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको देखिन्छ । अस्तालले शेयरधनी डाक्टर विजय राउतले न्यूरो उपचारसम्बन्धी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता रहेको दावी गरेका छन् । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाको अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सुचीकृत भने हुन सकेको छैन ।
“न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमन समेत गर्यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, खनालले भने,हामीले मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौं । उपचार खर्च तिर्न नसकेर न्यूरो अस्पतालमा बिरामी ३६ दिनदेखि बन्धक रहेको समाचार प्रकाशित भएपछि विभागले २४ घण्टाभित्रमा कसको मातहतमा रहेर सञ्चालन भएको छ भन्ने लिखित जवाफ समेत मागेको थियो । अनुगमनको क्रममा फार्मेसी, आकस्मिक कक्ष लगायतका विभिन्न कुराहरु सरकारको मापदण्ड अनुसार नभएको अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखाले जनाएको छ ।
सञ्चालकले प्रदेश सरकारको निकाय र पालिकामा दर्ता नगराएको स्वीकार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । त्यहाँ कागजात माग्दा व्यवस्थापक प्रमुख सञ्जय मण्डलले कम्पनी दर्ताको मात्र प्रमाणपत्र उपलब्ध गराएका छन् । उनले अरु प्रमाणपत्र पछि उपलब्ध गराउने बताएका थिए । प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताएका छन् । “भोलि दर्ता प्रमाणपत्रसहित प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई भनेको छु । विभागबाट पनि दर्ता रहे नरहेको विषयमा पत्र लेखेर जानकारी माग्छौं’ उनले भनेका छन् ।”
यो अस्पताल डा. अजय राउत र इन्जिनियर विजय राउतले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो अस्पतालले उपचारमा चर्को उपचार शुल्क लिने गरेको जनगुनासो रहेको छ । अस्पतालमा डिस्चार्ज पश्चात रहेकी मन्तोरिया देवीको विषयमा बुझ्नलाइ सबैला नगरपालिकाका मेयर कारीराम यादव समेत पुगेका थिए । उनले दुईदिन भित्र यहाँबाट मुक्त गराएर लग्ने मन्तोरिया देवीलाई आश्वासन दिएका छन् ।
“भोलि नै यो विषयमा कार्यपालिका बैठक बसेर छलफल गर्छौ । उपचार खर्च तिरेर के कसरी पालिकाले गर्न सकिन्छ भनेर । हामी यो घटनालाई संवेदनशील रुपमा लिएका छौं’ मेयर यादवले भनेका छन् ।
सबैला नगरपालिका– ३० की मन्तोरियालाई गत माघ १२ गते मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई प्रादेशिक असपताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदियो । उपचार पश्चात सामान्य भएपछि गत फागुन २० गते हस्पिटलले डिस्चार्ज गरेको थियो ।
तर उपचार र औषधि खर्च गरी झण्डै ९ लाख रुपैयाँ बाँकी रहेको भन्दै अस्पतालले उनलाई रोकेरै राखेको छ । सम्पत्तिको नाममा दुई धुर घडेरीमा छाप्रो मात्र रहेका मन्तोरिया तीन छोराछोरी र ससुरासहित हस्पिटलमै बसिरहेका छन् । ठक्कर दिने मोटरसाइकल चालक पुर्पक्षका लागि जेल चलान छन् । अहिलेसम्म ठक्कर दिने पक्षले उपचारमा कुनै सहयोग गरेको छैन ।