काठमाडौँ । नेपाली कांग्रेसमा थप चार मन्त्री छान्न सकस देखिएको छ । नेपाली कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।
पार्टी सभापति शेर बहादुर देउवाले सोही दिन डा. शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने पार्टी सभापति शेर बहादुर देउवाको सङ्केत पाएपछि महामन्त्री गगनकुमार थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखेका थिए ।
डा. शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि पार्टी सभापति शेर बहादुर देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका छन् ।
प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये नेपाली कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेका छन । डा. शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने अडान लिएपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पनि दबाबमा परेका छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने पार्टी सभापति शेर बहादुर देउवाको तयारी थियो ।
यो बिचमा सभापति शेर बहादुर देउवाले बरिस्ठ नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापासँग संवाद गरेका छन् । पहिले दुई मन्त्रीको प्रस्ताव गरेका पार्टी सभापति शेर बहादुर देउवाले डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा पक्षलाई एक राज्यमन्त्री समेत थप्ने तयारी गरेका छन् ।
दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा बरिष्ठ नेता डा. शेखर कोइराला सकारात्मक छन् । तर महामन्त्री गगनकुमार थापा भने पार्टी सभापति शेर बहादुर देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् । महामन्त्री गगनकुमार थापाले भने, पछिल्लो छलफलमा पनि सभापतिले दुई मन्त्री मात्र दिने कुरा गर्नु भयो । दुई वटामा मान्दै मान्दैनौं ।
महामन्त्री गगनकुमार थापाले बरिष्ठ नेता डा. शेखर कोइरालालाई आफू पक्षीय सांसदको बैठक बोलाएर रणनीति तय गर्नुपर्ने भनेका थिए । महामन्त्री गगनकुमार थापासँगको संवादमा सांसदहरुको बैठक बोलाउन डा. शेखर कोइराला राजी थिए । तर बुधबार बरिष्ठ नेता डा. शेखर कोइरालाले इच्छा नदेखाएपछि बैठक बस्न सकेन । आफ्नो पक्षबाट मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने महामन्त्री गगनकुमार थापाको भनाइ रहेको थियो ।
उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिकबबहादुर लिम्बुलाई मन्त्री बनाउने मुडमा रहेका बरिष्ठ नेता डा. शेखर कोइराला मापदण्ड बनाउने पक्षमा छैन । डा.शेखर कोइराला महामन्त्री गगनकुमार थापा समूहभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबिच विवाद रहेको छ ।
महामन्त्री गगनकुमार थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकलाई मन्त्री बनाउन चाहन्छन् । महामन्त्री गगनकुमार थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएको अवस्था देखिन्छ । संसदीय दलको नेतामा पार्टी सभापति शेर बहादुर देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा पार्टीभित्र मन्त्री छनोटमा “पावरसेयरिङ” खोजिरहेका छन् ।
यसका लागि महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेर बहादुर देउवाका साथै बरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि संघर्ष गर्नु परेको छ । सभापति देउवाले तीन मन्त्री नदिने प्रस्ट संकेत दिएपछि दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्न डा. शेखर–गगन समूहलाई सकस परेको देखिन्छ ।
उपसभापति धनराज गुरुङ र जिल्ला सभापति डिकबहादुर लिम्बुलाई दुई मन्त्रीको कोटामा पठाउँदा राज्यमन्त्री कसलाई बनाउने भन्नेमा समस्या देखिने भएको छ । किनकि सो पक्षबाट सरकारमा सहभागी हुने तेस्रो व्यक्तिका रुपमा सहमहामन्त्रीद्वय पाण्डे र परियारको नाम चर्चामा रहेको छ । दुवै जना पार्टीको पदाधिकारी भएका कारण राज्यमन्त्रीको भूमिकामा बस्न नरुचाएको बताइन्छ । यी दुवैले राज्यमन्त्री बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोतले बताउँछ ।
महामन्त्री गगनकुमार थापा डेलिभेरी गर्न सक्ने र जनतामा आशा जगाउन सक्नेहरूलाई सरकारमा पठाउनुपर्ने अडानमा रहेका छन् । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले पनि पार्टीमा योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गर्ने निर्णय गरेको थियो ।
यसअघि नेपाली कांग्रेसबाट कर्णाली प्रदेशका खड्का, बागमती प्रदेशका महत, मधेस प्रदेशका रिजाल र कोशी प्रदेशकी गुरूङ सरकारमा गएका छन् । पार्टी सभापति शेर बहादुर देउवा पक्षले सरकारमा पठाउने थप २ मा सुदूरपश्चिमका एन पी साउद र बागमती प्रदेशका मोहन बहादुर बस्नेतको नाम चर्चामा रहेको छ । एन पी साउद परराष्ट्र,मन्त्रालय र मोहन बहादुर बस्नेत भने स्वास्थ्य वा खेलकुदमध्ये एक मन्त्री हुने सम्भावना बलियो रहेको छ । नेता मोहन बहादुर बस्नेतको नाम गत शुक्रबार पनि युवा तथा खेलकुद मन्त्रीमा प्रधानमन्त्रीले टिपोट गरेर केरमेट गरिएको थियो ।
डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको समूहबाट गण्डकी प्रदेशका उपसभापति धनराज गुरुङ,सहमहामन्त्री जीवन परियार, सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री बद्रि पाण्डे, कोशी प्रदेशका जिल्ला सभापति डिक बहादुर लिम्बुमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । सभापति शेर बहादुर देउवा र नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहको प्राथमिकतामा लुम्बिनी प्रदेश देखिएको छैन । पार्टी सभापति शेर बहादुर देउवा पक्षमा सुरुमा सहमहामन्त्री किशोरसिंह राठौरको नाम चर्चामा थियो । तर पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा बागमती प्रदेशका मोहन बहादुर बस्नेतप्रति झुकाव देखाएका छन् ।
डा. शेखर कोइराला महामन्त्री गगनकुमार थापा समूहमा लुम्बिनी प्रदेशबाट मन्त्रीका मुख्य दाबेदार नेता डा. चन्द्र भण्डारी बिरामी भएकाले नेता सञ्जय गौतमले लबिङ तीव्र पारेको अवस्था रहेको छ । लुम्बिनी प्रदेशलाई मन्त्रीविहीन बनाउन खोजिएको भन्दै आफूले नेताको ध्यानाकर्षण गराइरहेको नेता संजय गौतमले बताएका छन् ।
लुम्बिनी प्रदेशबाट मन्त्री बन्न पुर्ब महामन्त्री डा. शशांक कोइराला निकट नेता दीपक गिरीको लबिङ जारी नै रहेको छ । बुधबार बिहान पार्टी सभापति शेर बहादुर देउवाले उपसभापति एवम् उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का महामन्त्री गगनकुमार थापा,अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूसँग परामर्श गरेका छन् ।
उनीहरुबीच तनहुँ–१ चितवन–२ को उपनिर्वाचन र मन्त्री छनोटबारे छलफल भएको थियो । धुम्बाराहीको छलफलमा सहभागी एक नेताका अनुसार मन्त्रीबारे सामान्य छलफल भएपनि ठोस निर्णय भएको छैन । नेपाली कांग्रेस र जनता समाजबादी पार्टी “जसपा”ले मन्त्रीका नाम नदिँदा र जनमतका मन्त्रीले राजीनामा दिँदा मन्त्रिपरिषद् अपूर्ण भएको अवस्था रहेको छ ।
यता एक–दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी रहेको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, अहिले सरकारले करिबकरिब पूर्णता पाएको अवस्था छ । आज-भोलि नै शतप्रतिशत पूर्णता प्राप्त गर्छ भन्ने मैले बिश्वास लिएको छु ।