काठमाडौं । पुराना र प्रमुख दलहरुप्रति असन्तुष्ट मत पाएर राष्ट्रिय शक्ति बनेका रास्वपा सभापति लामिछानेलाई उपचुनाव राजनीतिक लाइफलाइन रहेको देखिन्छ ।
आगामी १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ५९ जनाको उम्मेदवारी परेको छ । बारा–२ मा २६ जना, चितवन–२ मा २४ जना र तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएकाले तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले बारा–२ र नागरिकता विवादमा रवि लामिछाने पदमुक्त भएकाले चितवन–२ रिक्त भएको थियो । तीनवटै क्षेत्रमा सत्तारुढ दलहरुले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।
गत चुनावको परिणाम र उम्मेदवारहरुको पृष्ठभूमि हेर्दा यो उपनिर्वाचनमा रास्वपा बलियो प्रतिस्पर्धी देखिएको छ ।
रास्वपाबाट उम्मेदवार बनेका तीनै उम्मेदवार आ–आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्ने व्यक्ति हुन् । चितवन–२ मा सभापति रवि लामिछाने आफैं उम्मेदवार छन् भने तनहुँ–१ मा अर्थविद डा. स्वर्णिम वाग्ले र बारा–२ मा पूर्वडीआईजी रमेश खरेल उम्मेदवार रहेका छन् । अर्थशास्त्री वाग्ले केही दिन अगाडि मात्रै नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् । पूर्वडीआईजी खरेल गत चुनावमा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं–१ मा उम्मेदवार थिए । चुनाव नजिते पनि खरेलले सम्मानजनक मत पाएका थिए ।
अघिल्ला चुनावहरुको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धी शक्ति चाहिँ सत्ता गठबन्धन र नेकपा एमाले नै हो । गत चुनावमा तनहुँ–१ मा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेलले २५ हजार ३१३ मत ल्याएर जित्दा १९ हजार ९२५ मत पाएर नेकपा एमालेका नेता एकबहादुर राना निकतम प्रतिद्वन्द्वी बनेका थिए । उपनिर्वाचनमा नेपाली कांग्रेसले गोविन्द भट्टराई र नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
भट्टराई नेपाली कांग्रेस पार्टीका केन्द्रीय नेता हुन् । उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले गत चुनावमा काठमाडौं–६ बाट हारेका सर्वेन्द्रलाई यहाँ ल्याएको छ । सर्वेन्द्र गत चुनावमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास जित्दै उनी तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । रास्वपाबाट उम्मेदवार बनेका प्रतिस्पर्धी शक्ति अर्थविद डा. स्वर्णिमको व्यक्तित्व बिर्सदा यो निर्वाचन क्षेत्रको मुख्य प्रतिस्पर्धी उम्मेदवार गोविन्द र सर्वेन्द्र हुन् ।

रास्वपाका विकास सिग्देलले गत चुनावमा ६ हजार मत मात्रै पाएका थिए । त्यो चुनावमा ६ हजार ८ सय मत ल्याएका पुराना नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले यसपटक उम्मेदवारी दिएनन् ।
चितवन–२ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” नै प्रतिस्पर्धी शक्ति देखिन्छन् । गत चुनावमा फराकिलो मतान्तरले जितेका रविसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ रनेकपा एमालेले रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ । गत चुनावमा रविले ४९ हजार ३०० मत ल्याएर जित्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । यसपटक नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार फेरेका छन् ।
बारा–२ को प्रतिस्पर्धा भने चितवन र तनहुँभन्दा भिन्न छ । यहाँ सत्तारुढका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । अघिल्ला दुई चुनावमा गठबन्धनकै जगमा यो क्षेत्र जसपाका रामसहाय प्रसाद यादबले जितेका थिए । तर उनलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादव आफैं उपनिर्वाचन लड्न यहाँ आएका छन् । गत चुनावमा यादव सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
उपेन्द्रसँगको प्रतिस्पर्धामा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाको उम्मेदवारी परेको छ । पूर्वमन्त्री पौडेल नेकपा एमालेका पुरानै नेता हुन् । शिवचन्द्र भने केहीदिन अगाडि मात्रै नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका हुन् ।
गत चुनावमा शिवचन्द्र जसपाका रामसहायसँग ३५४ मतको झिनो अन्तरले पराजित भएका थिए । तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्रले १३ हजार ४६८ मत पाउँदा नेकपा एमालेको समर्थन पाउँदै रामसहायले जितेका थिए । अहिले शिवचन्द्र जनमत पार्टी प्रवेश गरेकाले उनको उम्मेदवारीलाई अर्थपूर्ण छ ।
यो क्षेत्रमा पनि जसपालाई समर्थन गर्ने निर्णयपछि नेकपा माओवादी केन्द्र उपनिर्वाचनमा उम्मेदवारविहीन बनेको छ । तनुहँ र चितवनमा गत चुनावमा पनि नेकपा माओवादीको उम्मेदवार थिएन । तर राम्रै जनमत भएको बारा–२ उपेन्द्र यादवलाई छोड्ने निर्णयका कारण नेकपा माओवादी केन्द्रले शिवचन्द्र कुशवाह गुमाउनु परेको छ भने उपनिर्वाचनमा रास्वपा तेस्रो प्रतिस्पर्धी शक्तिका रुपमा देखिएको छ ।

यद्यपि, अघिल्लो मतपरिणाम हेर्दा बारा–२ मा रास्वपा प्रतिस्पर्धी शक्ति होइन । तर सशक्त प्रचारसहित रमेश खरेललाई उम्मेदवार बनाएर रास्वपाले आफूलाई एउटा राजनीतिक शक्तिका रुपमा देखाउन खोजेको छ ।
नेकपा माओवादी केन्द्रसँग भने ४ मंसिरकै चुनावमा पनि रास्वपाले हाराहारीको मत पाएको थियो । गठबन्धन गरेकाले नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेपनि समानुपातिकमा रास्वपा भन्दा ठूलो अन्तर थिएन ।
एकल प्रतिस्पर्धा गरेर पनि प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले ११ लाख ३० हजार समानुपातिक मत पाउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार मत पाएको थियो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन जोगाउन यो उपनिर्वाचनमा कतै पनि उम्मेदवारी नदिने निर्णय गरेका छन् ।
दलगत उम्मेदवारी हेर्दा नेपाली कांग्रेस अघिल्लो चुनावकै अवस्थामा छ । नेपाली कांग्रेसले बारा–२ गत चुनावमा नेकपा माओवादी केन्द्रलाई छोडेको थियो भने चितवन–२ र तनहुँ–१ मा आफ्नै उम्मेदवार थियो । अर्का प्रतिस्पर्धी दल नेकपा एमालेले यो उपनिर्वाचनमा बढाउने नीति लिएको छ ।
गत चुनावमा जसपालाई समर्थन गरेको बारा–२ मा यसपटक नेकपा एमालेले आफ्नै उम्मेदवार उठाएको छ भने चितवन र तनहुँमा यसअघि पनि प्रतिस्पर्धी शक्ति थिए । यो तीन मध्ये कुनैपनि क्षेत्र गत चुनावमा नजितेकाले नेकपा एमालेलाई यो उपनिर्वाचन लाभ उठाउने अवसर रहेको छ ।
रवि लामिछानेको राजनीति
दलगत र उम्मेदवारका रुपमा हेर्दा यो उपनिर्वाचन अरुलाई भन्दा रास्वपा सभापति रवि लामिछानेका निम्ति बढी अर्थपूर्ण देखिन्छ । किनकी पार्टी गठन भएको ६ महिना पुग्दा नपुग्दै दुई गठबन्धनसँग प्रतिस्पर्धा गरेको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्यो र कुल २१ सिटसहित संसदको चौथो ठूलो दल बन्यो ।
तर रास्वपाले पाएको यो मतलाई उसप्रतिको आकर्षणसँगै ठूला दलहरुप्रति असन्तुष्टि मानिएको थियो । चुनावपछिको बितेको तीन महिने अवधिमा सत्तामा समेत बसिसकेकाले रास्वपा यो उपचुनावमा संसदको चौथो ठूलो दलको हैसियतमा सहभागी हुँदैछ । यसअर्थमा जनतासामू पहिलो परीक्षा पनि हो ।
११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । उनको दलले एक राज्यसहित तीन मन्त्री पाएको थियो । तर नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा सांसदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री र पार्टी सभापतिबाट पदमुक्त भए । पदमुक्त भएका लामिछानेले गैरसांसदका रुपमा फेरि सरकारमा जान चाहेका थिए । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन नमानेपछि रास्वपाले २२ माघमा सरकार छोड्यो ।
त्यसयता पनि लामिछानेको राजनीति ‘जता सत्ता, उतै रास्वपा’ जस्तो देखिएको छ । प्रधानमन्त्री पदका निम्ति प्रचण्डले एकपछि अर्को गठबन्धन फेरिरहँदा लामिछानले सधैं सँगै रहे । राष्ट्रपति चुनावमा नेपाली कांग्रेस उम्मेदवारलाई भोट दिएको रास्वपाले ६ चैतमा प्रधानमन्त्रीलाई फेरि विश्वासको मत दियो । आफ्ना एजेण्डाहरु समावेश भए र मन्त्रालयमा सहमति भए अहिले पनि आफ्नो दल सरकारमा जानसक्ने रास्वपा नेताहरु बताउँछन् ।
यो उपचुनावमा रास्वपा र सभापति रवि लामिछानेले यो विषयमा जवाफ दिनुपर्ने देखिन्छ । किनकी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा एमाले दुबै दलले रास्वपामाथि प्रश्न उठाउने संकेत गरेका छन् । तनहुँ १ मा पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भन्छन्, ‘तनहुँबासीले प्रश्न गर्नुपर्छ, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको ? केही दिनपछि गठबन्धनबाट किन निस्केको ? राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ?
मंसिरकै चुनावमा रविसँग पराजित भएका नेकपा एमाले नेता कृष्णभक्त पोखरेल पनि सांसद भएपछि लामिछाने र उनको दल रास्वपाले गरेको सत्ता केन्द्रित गतिविधिलाई जनताको बीचमा लैजाने बताउँछन् । ‘जान्नेलाई छान्ने भन्नुभयो तर उहाँ कति जान्ने रहेछन् भन्दा नागरिकता लिनुपर्छ भन्ने पनि थाहा नपाउने जान्ने रहेछन्’ उनले भने, ‘हिजो नो नट अगेन भन्नुभयो, आज उहाँलाई किन नभन्ने ?
त्यसैले पुराना र प्रमुख दलहरुप्रति असन्तुष्ट मत पाएर राष्ट्रिय शक्ति बनेका रास्वपा सभापति लामिछानेलाई उपचुनाव राजनीतिक लाइफलाइन रहेको देखिन्छ ।