काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठक डाकिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले बिहीबार निर्देशन दिएका थिए । ‘समर्थन फिर्ता लिने काठमाडौंबाट खबर आयो । सबै साथीहरु बैठक बस्नलाई तयार छन् । आज बैठक बस्दैछौं’, चुमानले भनेका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल नेकपा माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको छ ।
पुष २५ गते गण्डकी प्रदेशमा खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो । सोही दिन नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान, नेकपा एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बनेका थिए । १० माघमा नेकपा एमालेका रोशन बहादुर गाहा र नेकपा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउँदै सरकारलाई पूर्णता दिइएको थियो ।
नेपाल एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस कसले गर्ने भन्नेमा रस्साकस्सी सुरु भएको छ । दुवै दलले आ–आफ्नो अडान छाडेका छैनन् ।
२७ सिटसहित गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार बनाउन शीर्ष नेताहरुसँग छलफलमा छन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा सरकार बनाउन नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको सहज बहुमत पुग्छ ।