Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत ६ अघि नेपाली कांग्रेसको सत्तारोहण कति सम्भव छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु अघि नै नेपाली कांग्रेस सत्ता पक्षको कित्तामा उभिने भएको छ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन  । नेपाली कांग्रेसले चैत ६ गतेअघि पार्टीको बैठक राखेर सरकारलाई विश्वासको मत दिने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ५ गते बस्ने संसद बैठकमा समस्या नआउने गरी नेपाली कांग्रेसले निर्णय लिने बताएका छन्  । उनले भने, ‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । तर, चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै हामीले विश्वासको मत दिने र सरकारमा जाने पनि निर्णय गर्छौँ ।

नेपाली कांग्रेसलाई चैत ५ गतेको प्रतिनिधिसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्न अप्ठ्यारो नहुने थापाको भनाइ रहेको छ । उनका अनुसार नेपाली कांग्रेसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि सरकारमा सहभागिताबारे छलफल भएको छ । ‘विश्वासको मत दिनुअघि सरकारमा सहभागी हुने कि भन्ने विषय उठेको छ । तर ठोस छलफल भएको छैन,’ उनले भनेका छन्  । १० दलीय गठबन्धनभित्र चैत ५ को प्रतिनिधिसभा बैठक स्थगित गर्ने कि भन्ने विषयमा पनि छलफल भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेञ्चमा बस्ने भनेपछि गत १७ फागुनमा प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

२६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड “लाई नेकपा एमाले, नेपाली कांग्रेससहितका दलहरुले विश्वासको मत दिएका थिए । त्यतिबेला नेकपा एमाले सरकारमा सहभागी भएको थियो भने नेपाली कांग्रेस प्रतिपक्षमा बसेको थियो । पुष १० मा बनेको सत्ता समीकरण फेरबदल भएपछि फागुन १५ गते नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएपछि नेकपा एमालेले प्रतिपक्षी दलको दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको छ । नेपाली कांग्रेस विपक्षी दलको लफडामा पर्नुभन्दा प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सरकारमा सहभागी हुने सोचमा रहेको छ । तर नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने भए पनि कसको नेतृत्वमा जाने भन्ने टुङ्गो अझै सम्म लागेको छैन ।

‘हाम्रो जो मान्छे जान्छ, उपप्रधानमन्त्री भएर जानुपर्‍यो । एक जना मन्त्री सहभागी गराएर भएन,’नेपाली कांग्रेसका एक नेताले भने, नेपाली ‘कांग्रेसबाट नेतृत्व गर्नेलाई सरकारमा पठाउनु पर्‍यो । नेतृत्व कसले गर्ने भन्ने टुङ्गिन बाँकी  नै  छ ।

नेपाली कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । बरिष्ठ नेता डा. शेखर कोइराला उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, र प्रवक्ता प्रकाशशरण महत नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छन ।

प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट नेतृत्व गरेर उपसभापति खड्का जाने सम्भावना बलियो रहेको छ । मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्री बनेर सरकारमा जान तयार रहेको नेपाली कांग्रेस नेताहरु बताउँछन् ।

पुष १० मै प्रचण्ड नेतृत्वको सरकार बन्ने अवस्थामा खड्काले उपप्रधानसहित गृह मन्त्रालयमा खुलेर दाबी गरेका थिए । अहिले नेपाली कांग्रेस सत्तामा जाने परिस्थिति आफ्नै कारणले बनेको भएर खड्का सरकारमा जाने दाबी गरिराख्नुपर्ने अवस्थामा नरहेको बुझाइमा छन् । ‘पुष १० मा उहाँका लागि सरकारमा जाने आधार बनाउनुपर्ने थियो । अहिले उहाँलाई मैले नै निर्माण गरेको यो साम्राज्य भन्ने छ,’नेपाली कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले दाबी गरिराख्नु पर्दैन, मै हो यहाँ त  शेरबहादुरलाई त यहाँ मैले ल्याएको भन्ने छ उहाँको अहिले ।

तर नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान नेता विमलेन्द्र निधि पनि कम्मर कसेर बसेका छन् । ती पदाधिकारीले भने, ‘उहाँले मान्छे बोलाएर भेट्दै मेरा लागि भनिदिनु पर्‍यो भनिराख्नु भएको छ । उहाँले पार्टीका सबै पक्षसँग सरकारको नेतृत्व गरेर जान चाहेको जानकारी गराइराख्नु भएको छ ।

नेता प्रकाशमान सिंहले पनि नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने गरी लबिङ तीब्र पारिरहेका छन् । पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन निर्णायक भूमिका खेलेका कारण पनि अहिले देउवाले उनलाई गुन तिर्ने चर्चा परिचर्चा छ । सिंह उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्न इच्छुक रहेको उनी निकट स्रोत बताउँछ ।

यता पार्टीका बरिष्ठ नेता डा. शेखर कोइरालामा पनि नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने मनसाय देखिन्छ । नेता कार्यकर्ताले ‘सरकारमा जाने हो ? भनेर प्रश्न गर्दा कोइरालाले प्रस्ट जवाफ नदिने गरेको पाइन्छ । ‘शेखर दाइले कहीँ पनि म सरकारमा जान्न भन्नु भएको छैन । सबैलाई कुरै भएको छैन भन्नु भएको छ,’ उनी निकट स्रोतले भन्यो ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि सरकारको नेतृत्व गरेर जान लालयित देखिन्छन् । उपप्रधान तथा अर्थमन्त्रीसहित आफ्नो नेतृत्वमा नेपाली  कांग्रेसलाई सरकारमा पठाउन उनले पार्टी सभापति देउवामाथि दबाब बढाएको बुझिएको छ ।

डा. शेखर–गगन समूहको रणनीतिक छलफल

राष्ट्रपति प्राप्तिका लागि एक मत नेपाली कांग्रेसमा डा. शेखर–गगन समूह सरकारको सहभागिताबारे गुटगत रणनीति बनाउन सक्रिय भएको छ । बिहीबार साँझ नक्सालको एक होटेलमा उक्त समूहका सांसद र शीर्ष नेताहरुबिच छलफल भएको थियो ।

सांसद दीपक गिरीको संयोजनमा भएको बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । डा.शेखर कोइरालाले सरकारले विश्वासको मत लिएपछि सभापति शेबरहादुर देउवासँग कुराकानी हुने बैठकमा बिफ्रिङ गरेका थिए ।

सांसदहरुले संघदेखि प्रदेशसम्मको सरकारमा सहभागिता पार्टीभित्र सन्तुलित हुनुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् । छलफलमा डा.शेखर र गगनले केही दिनमा सभापतिसँग कुराकानी गरेर न्यायोचित ढंगले अवसर दिलाउने आश्वासन दिएका थिए ।

‘कुनै साथीहरुले व्यक्तिगत रुपमा मिलाएर आफू–आफू मन्त्री हुनु भयो भने  समूहले स्वामित्व लिँदैन,’ ती नेताले भने, ‘त्यस्तो अवस्थामा पार्टीको ठूलो तप्काले सरकारलाई आफ्नो ठान्दैन । त्यस्तो अवस्थामा केही समयपछि सरकारलाई अप्ठ्यारो हुन्छ भन्नेबारे छलफल भएको छ ।

डा. शेखर–गगन समूहको एकदुई जना तानेर मन्त्री बनाइदिने सभापति देउवाको रणनीति देखिन्छ । देउवाको उक्त रणनीति सफल हुन नदिन डा. शेखर–गगन समूहले आन्तरिक संवाद थालेको छन । नेपाली कांग्रेसले १० वटा मन्त्रालयको दाबी गरेको छ । तर विगतमा नेकपा एमालेले पाएका ८ वटा मन्त्रालयभन्दा नेपाली कांग्रेसलाई कम नहुने देखिन्छ । नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउँदा सभापति देउवाले आफूहरुलाई बढीमा दुई मन्त्रालय मात्र दिने डा. शेखर–गगन समूहको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४