काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ । २०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको एन्फाले दोस्रो चरणको आयोजना विराटनगरमा गर्ने भने पनि गर्न सकेन ।

कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा लिगको पहिलो चरण आयोजना गरिएको थियो ।
दोस्रो चरण आयोजना गर्न विराटनगर महानगरपालिकासँग सम्झौता समेत भइसकेको थियो । तर एन्फाकै निर्वाचन र प्रतिनिधि सभा र स्थानिय निर्वाचनपछि आएको परिवर्तनका कारण नयाँ नेतृत्वले महिला लिग गर्न सकेन ।
असारमा भएको निर्वाचनबाट कर्मा छिरिङलाई पराजित गरी पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो । उनीहरुले महिला लिगको दोस्रो चरण सुरु गर्ने आश्वासन दिए पनि पूरा गर्न सकेनन् ।
अब एन्फाले अर्को वर्ष महिला लिग गर्ने तयारी गरेको छ । राष्ट्रिय महिला लिग ए डिभिजन लिग सञ्चालनको लागि विभिन्न एजेन्सीहरुसँग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई संघको आपतकालीन समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो’, कार्यसमितिको निर्णयमा लिगबारे लेखिएको छ ।