काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय १७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको हो । ९ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ४६ पुगेको छ । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै हो ।
यसैबीच अमेरिकाको अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्युपमेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने त्यहाँको मेयरले चेतावनी दिएका छन् ।
तत्काल व्यवस्था हुन नसके अहिलेको सामग्री १० दिन भन्दा बढी नथेग्ने र अझ धेरै मानिसको मृत्यु हुन सक्ने मेयर बिल डी ब्लासिओले चेतावनी दिएका छन् ।
ब्लासिओका अनुसार तत्कालै अत्यावश्यक सामग्रीको व्यवस्था गर्न जरुरी छ । भेन्टिलेटर पनि उपलब्ध नहुने अवस्था सृजना नहुने अवस्था आउन नदिन अहिलेबाटै तयारी गर्न आवश्यक छ । न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेमध्ये झण्डै आधा मानिसहरु त्यहीको भएको बताइएको छ । (एजेन्सी)