काठमाडौँ । पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीले सरकारी लिखत कीर्ते गरेको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । विदेशबाट शङ्कास्पद रकम नेपाल भित्र्याएको आरोपमा ब्युरोले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा शाहले सरकारी लिखत कीर्ते गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तम सुवेदीले जन प्रहारलाई बताएका छन् ।
लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । करिब ९२ लाख मूल्य पर्ने जग्गाको लालपुर्जा सच्याएर शाहले २ करोड ऋण लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताएका छन् । ‘जग्गाधनी पुर्जा सच्याएर सहकारीबाट ऋण लिएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘सो ऋण उनको भाई विजयविक्रमको नाममा निकालेको भेटिएको छ ।
भाइ विजयविक्रमलाई पनि प्रहरीले पक्राउ गरेको छ । भाइले प्रहरीसँग भनेका छन्,‘मलाई केही थाहा छैन, दाइले गरेको हो ।’ मुलुकी अपराध संहित–२०७४ अनुसार सरकारी लिखत किर्ते मुद्दामा ५ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । शाहविरुद्ध सीआईबीले लिखत सम्बन्धी कसुर, ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
शाहको स्वामित्वमा रहेका विभिन्न कम्पनी र उनको व्यक्तिगत बैङ्क खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको छ । अनलाइन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी सुवेदीले जन प्रहारलाई बताएका छन् । सुवेदी भन्छन्, ‘अमेरिकन नागरिकको कम्प्युटरमा पहुँच बनाएर उनीहरूको खातामा रकम जम्मा भएको फर्जी विवरण देखाएर शाहले सो रकम आफ्नो भएको दाबी गर्दै नेपाल पठाउन लगाएको देखिन्छ ।
अनलाइन माध्यमबाट शाहले अमेरिकनको बैङ्क खातामा रकम जम्मा भएको देखाउँदै सो रकम ‘भुलवश’ जम्मा हुन गएको भन्दै फिर्ता पठाइदिन आग्रह गर्ने गरेको अमेरिकन नागरिकहरूले ब्युरोलाई बताएका छन् । खातामा रकम आएको देखेपछि अमेरिकनले शाहले भने अनुसार नेपालस्थित कम्पनीका बैङ्क खातामा डिपोजिट गरिदिएको थाहा भएको छ ।
- नौ अमेरिकनको जाहेरी
शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।
ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार अहिलेसम्म ९ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी पठाएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएका हुन् । ‘जाहेरी आउने क्रम जारी छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।
पृथ्वी सहित उनको भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउद प्रहरीको हिरासतमा छन् । शाहले सिद्धार्थ सहित दुई वटा बैंकबाट रकम निकाल्न लगाई फर्जी कागजात पेस गरेको अनुसन्धानबाट थाहा भएको छ । अमेरिकाबाट ठगीको रकम सिद्धार्थ बैङ्क, ग्लोबल,सेन्चुरी कमर्सियल, सनराइज, कुमारी, एनसिसि र एनएमबी सहित ११ वटा बैङ्क खातामा आएको छ ।
सो रकम शाहको स्वामित्वमा रहेका कम्पनीहरू हन्टिङ रिजर्भ, १४ पिक, कैलाश एक्जिम, वर्ल्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वर्ल्ड फस्ट होलिडे लगायतका खातामा जम्मा भएको छ । कतिपय कम्पनी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता नै नभएको र दर्ता भएकाहरू पनि उद्देश्य अनुसार सञ्चालनमा नरहेको अनुसन्धानबाट थाहा भएको छ ।
पृथ्वी बहादुर यसअघि २०७२ मा पनि पक्राउ परेका थिए ।