काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।
उनले नतिजा आउन भने समय लाग्ने बताएका हुन् । ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा । गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं ।
हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् र उनी संसद बैठकमा सहभागी भइरहेका छन् । फरार सांसद संसदमै आउँदा पनि गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।