काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।
जन प्रहारसँगको कुराकानीमा उनले आफू बाहिरै बसेर अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”नेतृत्वको सरकारलाई सफल पार्न सक्रिय रहने उल्लेख गरेका छन् ।
उनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरु पनि सरकारमा नजाने बताएका छन् । ‘मसहित दोस्रो तहका नेताहरु मन्त्रीमा जाँदैनौं’, पुनले भने, ‘बाहिरै बसेर सरकारलाई सफल पार्न लाग्छौं । सिंगो पार्टी सरकारको सफलताका लागि सक्रिय रहन्छ ।
देउवा–प्रचण्ड समीकरण भत्काएर वाम गठबन्धन बनाउन मिहिनेत गरेका पुनलाई बाहिर राखेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई क्याबिनेटमा
उपप्रधानमन्त्री बनाएपछि उनी असन्तुष्ट रहेको चर्चा माओवादी केन्द्रभित्र छ । पुनले मर्यादाक्रममा तल पर्ने भएपछि सरकारमा जान तयार नभएको भन्ने आशंकामा सत्यता नरहेको जिकिर गरेका छन् ।
कुनै अमुक व्यक्तिले पद प्राप्ति गर्ने वा नगर्ने विषय गौण रहेको भन्दै उनले बाहिरै बसेर पनि मुलुकमा विद्यमान समस्या समाधानमा लाग्न सकिने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रबाट तेस्रो पुस्ताका युवा सांसदहरुलाई मन्त्री बनाइने उनको भनाइ छ ।
राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सु-शासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना पुरा गर्ने गरी सरकार अघि बढ्ने दाबी गरेका छन् । प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह प्रवाह भएको उनको दाबी छ ।