Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।

उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको प्रहरी उच्च स्रोतले जन प्रहारलाई बतायो । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।

१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।

प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो ।

तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।

  • प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीले लिए ब्रिफिङ

उपप्रधान एवं गृहमन्त्री लामिछाने शुक्रबार निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए । त्यसक्रममा उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख उत्तमराज सुवेदीसहितका अधिकृतहरुलाई राखेर प्रकरणमा भएको प्रगतिबारे जानकारी समेत लिएका छन् ।

ब्रिफिङमा सहभागी एक अधिकृतका अनुसार त्यसक्रममा अधिकृतहरुले डीएनएमा मात्र भर पर्दा अनुसन्धान अलपत्र परेको बताएका थिए । उनीहरुले अहिलेसम्मको वस्तुस्थिति बताउँदै फेरि नयाँ शिराबाट अनुसन्धान थालिएको बताएका थिए ।

प्रहरी स्रोतका अनुसार हालसम्म प्रकरणमा प्रहरीले ११५ जना शंकास्पदको डीएनए जाँच गरेको छ । तर कोहीसँग म्याच भएन । तत्काली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालको अन्तिममा विष्ट नै आरोपी भएको निष्कर्षसहित उनलाई पुनः नियन्त्रणमा लिने प्रयास भएको थियो ।

निर्मलाकी आमाले दुर्गादेवी विष्टविरुद्ध किटानी जाहेरी पनि दिएकी थिइन् । तर, घटना गिजोलिएको भन्दै थप आधारविना उनलाई पक्राउ गर्न नसकिने निष्कर्षसहित अनुसन्धान अधिकृतहरुको टोली पछि हटेको थियो ।

अधिकृतहरुका अनुसार अहिले प्रहरीसँग भएको नयाँ प्रमाण भनेको त्यही जाहेरी मात्र हो । ‘नयाँ शिराबाट अनुसन्धान गर्दै जाँदा केही फरक विषय सतहमा आउँछ कि भन्ने अपेक्षा हो’ एक अधिकृत भन्छन्, ‘यो बीचमा दिलीपसिंहले गरेको अरु गतिविधि पनि निगरानीमा छन् । उनीबाहेक अरु शंकास्पदमाथि पनि अनुसन्धान जारी राखेका छौं ।

प्रहरी अधिकृतहरुको ब्रिफिङ सुनेपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले घटनालाई तथ्यगत प्रमाणका आधारमा टुंगोमा पुर्याउन निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यसका लागि तपाईंहरुलाई जुनसुकै सहयोग गर्न तयार छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४