चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय प्रधानमन्त्री केपी ओलीले मान्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा केही न केही विवाद र बहस हुन स्वभाविक भएको बताउँद सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले नमान्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए ।
‘वामदेवजीलाई राष्ट्रियसभामा पठाउने सर्वसम्मत निर्णय भएको हो जुन कुरा महासचिव र प्रवक्ताले सार्वजनिक भएको छ’प्रचण्डले भने,‘प्रधानमन्त्री जीले मान्नु हुन्छ, मान्नैपर्छ । उहाँले नमान्ने कुराको कल्पनापनि गर्न सकिँदैन ।’
‘संवैधानिक व्वस्थामा राष्ट्रिय सभामा नगएपनि छ महिनाका लागि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ, अब यो प्रधानमन्त्रीको हातको कुरा हो’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रियसभामा पठाउने पार्टीको निर्णय मान्नु भएन भने के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले सिफारिस नगर्ने कुरा म कल्पना पनि गर्न सक्दिन । उहाँले गर्नुहुन्छ । गर्नुभएन भने के भन्ने कुरा तिर अहिले म जानै चाहन्न ।’