काठमाडाैँ । नेपाली कांग्रेसका दुवै महामन्त्री गगन कुमार थापा र अर्का विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताउनुभएको हो ।
थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने बताउनुभएको छ भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताउनुभएको छ । संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पार्नुभएको थियो ।
उहाँले भन्नुभयो– ‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरू साथीहरू जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो । म त्यसमा लागिरहन्छु, । म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रूपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु ।’ थापाले पार्टीमा संस्थागत रूपमा छलफल नगरी राष्ट्रपति तथा प्रधानमन्त्री पद आलोपालोबारे निर्णय नगर्न सचेत गराउनुभएको छ ।
‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रूपमा भएको यस्तो समझदारीलाई कांग्रेसले बोक्छ । तर, योभन्दा अगाडिका समयहरूमा जस्तै बन्द कोठामा नेताहरू बसेर आलोपालो गर्ने निर्णय गर्नुभयो भने त्यसलाई कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न ।’
अर्का महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू निरन्तर लाग्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ । अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? उहाँले सरकारमा जाने सांसदहरूको संयोजनलगायतका कामहरू अघि बढाउने काममा आफू लाग्ने बताउनुभयो ।