काठमाडौं । आज मंगलबारको एउटा निर्णय, जसले कांग्रेसभित्रको शेखर–गगन समूहको नाम नै बदल्दिन सक्छ । पहिले त्यसको पृष्ठभूमि हेरौं ।
आफ्नो समूहभित्र त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनौतीविहीन नै थिए । त्यसमाथि उनलाई राष्ट्रपतिका आकांक्षी रामचन्द्र पौडेलको पनि साथ छँदै थियो । पारिवारिक त्याग, तपस्याका कुरा गर्ने शशांक कोइराला, प्रकाशमान सिंह अनि विमलेन्द्र निधि पनि उनीसँगै थिए । सत्ता गठबन्धनबाट ‘नछोड भाइ, नछोड’ भन्ने साझेदार दलहरु पनि उनैसँग थिए ।
एकातिर आफ्नो समूहमा चुनौतीविहीन देउवा, अर्कोतिर कम्तीमा दुई समूहमा बाँडिएका प्रतिस्पर्धी गगन कुमार थापा र डा.शेखर कोइराला पक्षीय कांग्रेस सांसद । केही दिनअघि यो पंक्तिकारसँग बोल्दै देउवा निकट उपसभापति पूर्णबहादुर खड्काले भनेका थिए, ‘शेरबहादुरजी निर्विकल्प हुनुहुन्छ । उहाँलाई चुनौती दिनेहरुबीच चरम विभाजन छ ।
खड्काको यो कथन अब काम नलाग्ने भएको छ । नेता डा.शेखर कोइरालाले ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा’ गर्ने निर्णयसँगै कांग्रेसभित्र एकाएक नयाँ राजनीतिक परिदृश्य देखिएको छ । महामन्त्री गगन कुमार थापाले सहमतिको कष्टसाध्य यात्रा पार गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भोलि संसदीय दल चुनावमा आफ्नो समूहबाट एकल चुनौती दिनेछन् ।
आज सहमति जुटेसँगै अब इतर देउवा समूहसँग ३९ सांसद संख्या पुग्यो । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा नेता बन्न कम्तीमा ४५ सिट ल्याउनुपर्छ । अंकगणितमा अझै केही पछि देखिए पनि गगन कुमार थापा कांग्रेस समर्थकमात्रै नभई आम नागरिकको आशा आफूतिर आकृष्ट गर्न सफल भइसकेका छन् ।
आज सिंहदरबार सामुन्नेको होटल बसेरामा बसेको इतर देउवा पक्षीय बैठकमा महामन्त्री गगन कुमार थापा साझा उम्मेदवार बन्दैगर्दा अर्का आशा गरिएका युवा नेता प्रदीप पौडेल पनि उनलाई साथ दिन आइपुगेका थिए । झापामा चुनाव जिते लगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका महामन्त्री विश्वप्रकाश शर्मा साथमा छँदै छन् ।
यो समूहमा पौडेलको प्रवेश हुनु निकै अर्थपूर्ण छ । यो सँगै इतर देउवा समूहको आयतन अझै बृहत बन्न गएको छ ।
पौडेल तिनै नेता हुन्, जो गगनका विगत सहकर्मी तथा प्रतिस्पर्धी पनि हुन् । गगनले अघिल्लो महाधिवेशनअघि छाडेको कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लड्न पुगेका थिए पौडेल । देउवालाई साथ दिएको खण्डमा आगामी मन्त्रिपरिषदमा महत्वपूर्ण जिम्मेवारी पाउने लोभ उनलाई देखाइसकिएको पनि थियो । पौडेलले त्यसलाई वास्ता नगरेर तात्कालिक जोखिम उठाएका छन् । आन्तरिक प्रतिस्पर्धा र समवयी साथीहरुको स्नेह, ईष्र्याहरुभन्दा माथि उठ्दै उनले दीर्घकालीन राजनीतिको कोणबाट महत्वपुर्ण निर्णय लिएको देखिन्छ ।
यसरी यो सहमतिको अन्तर्यमा आलोपालो, लेनदेन जेसुकै भएको भए पनि कांग्रेसको शीर्ष जिम्मेवारी ग्रहणतर्फ गगन कुमार थापाको पाइला एउटा नयाँ यथार्थ बन्न गएको छ । यसका लागि शेखरले गरेको योगदान स्मरणीय छ। कतिपयले उनलाई शशांक कोइराला भाग २ बन्न सक्ने आकलन र सन्देह गरिरहेका थिए । शशांकले विगतमा आफू शीर्ष पदमा उठ्ने भन्दै अन्ततः देउवाको समर्थनमा उभ्याएको इतिहास थियो। तर शेखरले देउवाको प्रस्तावबीच त्यसो गर्न इन्कार गरेका छन्।
- यसले केही नयाँ प्रभावहरु छाड्ने छ ।
पहिलो – यो सहमति सँगै कांग्रेसमा केही समयदेखि रहेका कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेललगायत समूहहरुमै ध्रुवीकरण सुरु भयो भन्ने प्रष्ट भएको छ । कृष्णप्रसाद सिटौलासँग परामर्श गरेरै प्रदीप पौडेलले आजको निर्णय लिएका हुन् । उनलाई कुर्ने हुँदा बसेराको बैठक ४५ मिनेटसम्म लम्बिएको थियो । विगतमा देउवालाई टक्कर दिएका पौडेलले पदीय आकांक्षासहित महाधिवेशन र संसदीय दल चुनावमा दुवैपपल्ट देउवालाई साथ दिइसकेका छन् । उनीसँग असन्तुष्ट रहेका निकटस्थ सांसदहरु सम्भवतः आफ्नो निर्णय आफैं लिन खुला हुन सक्छन् ।
दोस्रो– शशांक, प्रकाशमान, विमलेन्द्र निधिनिकट रहेका नेताहरुलाई पनि उपसमूहकै निर्णय मानिराख्नुपर्ने दबाब हुने छैन । जस्तो कि प्रकाशमान समूहबाट महामन्त्री जितेका विश्वप्रकाश आफैं विगतको राजनीतिमा आफूभन्दा जुनियर मानिएका गगन कुमार थापालाई समर्थन दिने ठाउँमा पुगिसकेका छन् । यसअघि शर्माले पार्टी हाँक्ने, गगनले संसद तथा सरकार भनी समझदारी भएको भनिए पनि आजको सहमतिले पार्टीभित्र शेखरकै निरन्तरता हुन सक्ने संकेत गरेको छ । सम्भवतः शर्माबारे नयाँ कोणबाट छलफल हुन पनि सक्छ ।
तेस्रो– अब शेरबहादुर देउवा स्वयंलाई ज्योतिषीले भनेझैं अंक गनेर सातपल्ट प्रधानमन्त्री बन्ने, तर ठोस योजना र नतिजा नदिने झन्झटबाट मुक्ति दिन वातावरण बनाउने छ । आफ्नै स्वास्थ्यले पनि देउवालाई धपेडी गर्न दिइरहेको छैन । एमालेविरुद्ध गठबन्धन नै बनाएर चुनावमा गए पनि कांग्रेसले उनको नेतृत्वमा उत्साह जगाउन सकेका छैनन् ।
त्यसैले कांग्रेसका लागि यो संसदीय दल चुनावको स्पष्ट सन्देश छ । भोलि बुधबारको चुनावले जेसुकै नतिजा देला । तर यथार्थमा उनीहरुका लागि पनि यो संसदीय चुनाव ऐतिहासिक परीक्षा बन्न सक्छ– आम जनतामा बढ्दै गएको आक्रोशलाई आशामा बदल्ने कि अरु नयाँ–नयाँ संकटहरुलाई निम्ता दिने भन्ने बिषयमा अब हेर्न समय धेरै बाकी छैन ?
