काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन थालेको बताएका छन् ।
काँग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक काँग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आएको बताएका हुन् ।
उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने समेत उनले अठोट गरे ।
सभापति देउवाले काँग्रेसभित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत उनले बताए ।