काठमाडौं। नेपाल पत्रकार महासंघ शाखा, खोटाङले पत्रकार गजेन्द्र राईलाई निसर्त रिहा गर्न सरकारसँग माग गरेको छ । समाचार लेखेकै आधारमा उदयपुरका पत्रकार राईलाई गिरफ्तार गरी साइवर क्राइमअन्तर्गत मुद्दा चलाइएकोमा शाखाले घोर आपत्ति जनाएको छ ।
शाखाका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् ।
‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ । यो आफैमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइबर क्राइम जस्तो अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भनेका छन्, ‘‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गर्दछौँ ।
राई महासंघको उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानीपोष्ट डटकमका सञ्चालक समेत रहेका छन् ।
उनलाई प्रहरीले निगरानीपोष्टमा प्रकाशित भिडियोको विषयलाई लिएर प्रहरीले मंसिर १० गते गाईघाटबाट गिरफ्तार गरेको थियो । राईलाई पक्राउ गर्दा पुर्जी समेत नदिई बलजफ्त व्यवहार गरेको भन्दै निन्दा गरिएको छ । राईलाई साइबर व्यूरोले काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखेको छ ।
नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिल नेपालले राईसँग जोडिएका विषय काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने कुरा स्पष्ट पार्दै प्रहरीले कारबाही चलाउनु कानुनविपरीत भएको जनाएका छन् ।