काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।
शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताउनुभयो ।
बैठकले बागी उम्मेदवारहरुलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शिर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले जहाँ गठबन्धनकाविरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ । र, त्यसका लागि आवश्यक्ता अनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँ भन्नुभयो मूल रुपमा गठबन्धन दलका उम्मेदवारहरु कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा हामी यो बैठक गरिराखेका छौं । हामीले सबै आ–आफ्ना दलका तर्फबाट अवस्था कस्तो भनेर उम्मेदवारहरुको मूल्यांकन गरिराखेको छांै । र, सोही मूल्यांकनको आधारमा रणनीतिहरु तय गर्दै जाने निर्णय पनि गरेका छौं ।
बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताउनुभयो ।