Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरिँदै तराइ रित्तिँदै पहाड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ११ २०७९
  • 3.9K
    SHARES

धनकुटा। धनकुटाको साबिक तेलिया र कुरुलेतेनुपा गाविसमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । एक घरबाट अर्को घरको दुरी नजिक थियो । भर अभर टार्न गाउँले भेला हुन्थे ।

तर एक दशकको अवधिमा अवस्था पुरै फेरिएको छ । बितेका केही वर्षमा यी क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको छ । एक दशक अघि सम्म बाक्लो बस्ती देखिने यी क्षेत्रमा अहिले भने प्राय सुनसान हुन्छन् । एक घर वाट अर्को घरको दुरी निक्कै बढेको छ । कतिपय स्थानमा त गाउँमा केही समस्या आइहालेर हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत पाइँदैनन् । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत नपाइने धनकुटा तेलियाका मेघराज खतिवडा बताउँछन् । छिमेकी बसाइ सरेर जाँदा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको खतिवडाको भनाई छ ।

यहाँबाट बसाइ सरेकाहरू सबै झापा, मोरङ, सुनसरी सहित काठमाडौँसम्म पुगेर बस्ने गरेका छन् । एक नम्बर प्रदेशका हिमाली र पहाडी जिल्लाका अधिकांश नागरिक तराइका जिल्लामा बसाइँ सर्ने गरेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराइ झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती शून्य बन्दै गएका हुन् ।

दश वर्षको जिल्लागत जनसङ्ख्याको वितरण र वृद्धिदर हेर्दा एक नम्बर प्रदेशका सङ्खुवासभा बाहेक सबै हिमाली र पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर, पहाडबाट तराइ झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइ सराइ घट्नुभन्दा बढिरहेको छ ।

धनकुटाको हकमा समेत त्यही देखिन्छ । स्वास्थ्य शिक्षा रोजगार लगायतको कारण बसाई सर्ने क्रम बढेको धनकुटा हिलेका अच्युत घिमिरे बताउँछन् । ‘मौसम हावापानीको हिसाबले बस्नलाई त यतै ठिक हो नि तर के गर्ने बिरामी भयो तराइ झर्नु पर्ने, छोराछोरी पढाउन तराइ झर्नु पर्ने, सुविधा सम्पन्न अस्पताल छैन राम्रो शिक्षा दिने स्कुल कलेज छैन अनि बसाइ नसरेर पनि त भएन’ उनी भन्छन् ।

२०७८ सालको जनगणना अनुसार प्रदेश एकमा सबै भन्दा बढी जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको जिल्ला खोटाङ हो । यो जिल्लाको जनसङ्ख्या वृद्धिदर माइनस १.५६ प्रतिशत रहेको छ । त्यस्तै भोजपुरको माइनस १.३२, तेह्रथुमका माइनस १.२६ प्रतिशत रहेको छ । अन्य जिल्लामा भने माइनस १ प्रतिशत भन्दा कम छ । धनकुटाको माइनस ०.८२, ताप्लेजुङ माइनस ०.५५, ओखलढुङ्गा ०.४७, इलाम ०.३३ प्रतिशत रहेको छ । त्यस्तै वृद्धि भएका जिल्लामा सुनसरीमा सबै भन्दा बढी १.९४ प्रतिशत रहेको छ । झापा १.९२ मोरङ १.६६ भित्री मधेस उदयपुर ०.७३ र हिमाली जिल्ला सङ्खुवासभामा ०.०२ प्रतिशत छ ।

उच्च शिक्षाको खोजी गर्दै सकेसम्म विदेश नभए सहर जाने तथा आमाबुवा पनि छोराछोरीकै साथ लागेर हिँड्ने क्रम बढ्दा पहाडका खेतीयोग्य भू–भाग जङ्गलमा परिणत हुँदै गएका छन् । तराइको उर्वर जमिन घर घडेरीमा परिणत भएको छ । उत्पादन पनि घटिरहेको छ । जसका कारण आयात स्वाभाविक रूपले बढिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४