गौशालाको फुटपाथमा कपडा बेच्न बसेकी धनगढीकी रोजिना ढुंगेलले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहप्रति चर्को गुनासो पोखिन । ढाडको अप्रेसन गरेकाले गह्रौं काम गर्न सक्दिनँ, छोरो सानै छ, यही बाटोको व्यापारले जिन्दगी चलाउनुपरेको छ’ उनले भनिन्, ‘कोठाको भाडा नै सात हजार छ, तर नयाँ मेयर आएपछि हामीलाई भोकै सुत्ने बनाउन लागेको छन। महानगरपालिकाले व्यवस्थित ठाउँ देखाइदिए त्यहाँ जान आफू तयार रहेको उनले बताइन् । ‘तर, ठाउँ पनि तोकेको होइन ।
बेलुका आठ बजेपछि मात्र बेच्न भन्छ, तर त्यतिबेला को मान्छे हुन्छ र व्यापार गर्नु ! बालाजु, माछापोखरीको सडकपेटीमा तरकारी व्यापार गर्दै आएकी नुवाकोटकी पवित्रा तामाङ गरिबमाथि महानगरपालिका खनिएको बताउँछिन् । ‘व्यापार हुने समयमा आएर ठेला उठाएर लगिदिन्छ’ उनले भनिन्, ‘शहर त धनीको लागि मात्र रहेछ ! नगर प्रहरीले ३० हजारको ठेलागाढा र ८ हजारको ढक-तराजु खोसेर लगिदिएको उनले बताइन् । महानगरपालिकाको लागि त्यो कवाडी होला, तर मेरो लागि परिवारको सर्वस्व हो, महानगरपालिकाले गरिबको पसिना लुटेरै लग्यो । विदेशमा गएर पनि दुःख नै पाएको, आफ्नै देशमा गरिखान खोज्दा झन् हण्डर पाएको पवित्राले बताइन् ।
राजेश रामको नौ जनाको परिवार सडकमा जुत्ता-चप्पल मर्मत गरेर चलेको छ । उनी काठमाडौं बसेको एक दशक भन्दा बढी भयो । पहिला दिनको ८-९ सयसम्म कमाइ हुनेमा अहिले ५०० कमाउन मुश्किल भएको उनले बताएका छन् । ‘केही साताअघि नगर प्रहरीले १० हजारको सामान खोसेर लगिदियो’ राजेशले भने, ‘नयाँ मेयरको कडा नियमले हामीलाई त भोकै मार्ने भयो ।
रामेछापकी गीता कार्कीको पीडा पनि राजेश रामको जस्तै छ । गाडामा फलफूल बेच्दै आएकी उनी भन्छिन्, श्रीमानलाई उच्च रक्तचाप भएपछि उपचार गराउँदा ऋणमा डुबियो । दुई छोराछोरीलाई काठमाडौंम राखेर पढाइरहेकी छु, दुःख गरिरहेकी छु । तर, हिजोआज महानगरपालिकाले अत्याचार गरिरहेको छ । म सुन्धारा चोकमा चुरोट, पराग र पानी बेच्ने दोलखाकी देवी बुढाथोकी बिरामी छिन् । छाला रोग सोरासिसले गर्दा शरीरमा घाउ आउने, पाक्ने गर्छ । सडकमा आएर व्यापार नगरे उनले औषधि नै किनेर खान पाउँदिनन् ।
बुढाथोकीका श्रीमान् बानेश्वरको एक संस्थामा गाडी चलाउँछन् । दुई छोराको शिक्षा र घर खर्च मुश्किलले चलेको छ । ‘पेटीमा व्यापार गर्न पनि दिन छाडे’ उनले भनिन्, ‘अब के गरेर जीविका चलाउने, औषधि खाने ! यी प्रतिनिधि पात्र मात्र हुन्, जसले सडकसँग गुजारा जोडिएका हजारौं नागरिकले सास्ती पाएको देखाउँछन् । यो विषयमा लेख्दै बोल्दै आएका शहरी योजनाविद् डा. पीताम्बर शर्मा कालो चश्मा लगाएका काठमाडौंका मेयरले संसार नदेखेको जस्तो गरेको बताउँछन् ।
‘शहर धनीको मात्र होइन गरिबको पनि हो’ उनी भन्छन्, ‘विकसित देशमा निश्चित स्थान र समय तोकेर यस्ता अनौपचारिक व्यवसाय गर्न दिने चलन भएको कुरा काठमाडौंका मेयरलाई पक्कै थाहा होला । त्यसअनुसार, व्यवस्थापन पो गर्ने हो, गरिबलाई सडकमा निषेध गर्ने त हैन नि ! महानगरपालिकाले फुटपाथका व्यापारीप्रति सहानुभूति राखेर र संवेदनशील भएर काम गर्नुपर्ने डा. शर्मा बताउँछन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने फुटपाथको व्यापारलाई विकल्प दिन सम्भव नभएको बताउँछन् ।
‘बहाल तिरेर बसेका व्यापारीलाई हटेर जाऊ भन्दा महानगरपालिकाले विकल्प दिन सक्नुपर्छ उनले भने, ‘मान्छे हिंड्ने फुटपाथमा व्यापार गर्नेहरूको दायित्व महानगरपालिकाले लिन सक्ने कुरा होइन । समाजशास्त्री डा. मीना उप्रेती फुटपाथका व्यवसायीसँग महानगरपालिकाले द्वन्द्व बढाउने नभई, दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछिन् । ‘सडकको व्यापारले बाँच्ने मान्छे शहरमा कति छन्, अध्ययन गरेर समाधान खोज्नुपर्छ’ उनी भन्छिन्, ‘निमुखा नागरिकको जीविकोपार्जनमा लाठी देखाएर हैकम जमाउनु उचित होइन ।

