Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमकार अभियानको कार्यक्रममा राजेन्द्र लिङ्देनको आपत्तिजनक टिप्पणी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २६ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न-मार्न तयार नभएको भन्दै भड्काउने किसिमको टिप्पणी गरेका हुन् ।

‘नेपालका हिन्दु के हिन्दु ? हिन्दु त भारतमा छन्, जसले हिन्दुत्वमा चोट लाग्ने कुरा मात्रै कसैले गर्‍यो भने त्यहाँ मर्न मार्न तयार हुन्छन्,’ लिङ्देनले भने, ‘०६२/०६३ को राजनीतिक परिवर्तनको आडमा नेपाललाई अकारण धर्मनिरपेक्ष घोषणा गरिएको छ । तर पनि यहाँ कोही कसैले पनि कुनै प्रश्न नगरी ढ्यापढ्याप ताली बजाए ।’

लिङ्देनले भनेको कुरामा तथ्यगत त्रुटि त छ नै, उनले आम नागरिकलाई धर्म विशेषको नाममा उक्साउने कामसमेत गरेका छन् । हिन्दु हुनु र हिन्दुत्ववादी हुनु अलग कुरा हो । हिन्दु व्यक्तिगत आस्थासँग जोडिएको कुरा हो, जो व्यक्तिको निजी छनोटको स्वतन्त्रतासँग जोडिन्छ । नेपालको संविधानले त्यो भावनाको सम्मान गरेको छ । त्यसैले संविधानमा धार्मिक स्वतन्त्रता स्पष्ट उल्लेख छ ।

लिङ्देनले भाषणमा दोहोर्‍याई तेहेर्‍याई उल्लेख गरेको हिन्दुत्ववाद चाहिँ भारतीय अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक ‘प्रोजेक्ट’ हो, जसले धार्मिक भावनालाई मतपत्रमा व्यक्त गर्ने, त्यसैको आडमा सत्ता प्राप्त गर्ने लक्ष्य राख्छ । अहिले नरेन्द्र मोदी नेतृत्वको भाजपा यसैको राजनीतिक संगठन हो ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूलाई धर्मको आडमा राजनीति गरेको, लिम्बुको छोरा भएर पनि हिन्दुको कुरा गरेको आरोप लाग्ने गरेको बताए । उनले आफ्नै जीवनकालमा हिन्दूराष्ट्र बनाउन आफू हिँडे्को पनि बताए ।

‘मलाई जेसुकै आरोप लगाए पनि देश र धर्म जोगाउने अभियानबाट पछि हट्ने छैन,’ उनले भने, ‘सके आफ्नै जीवनकालमा हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने अभियानमा आफू हिँडेको छु । नसके पनि यसै अभियानका लागि सकिन्जेल काम गर्नेछु ।’

भारतमा हिन्दू जनसंख्याको बहुलता रहे पनि भाजपा र त्यसको मातृसंस्था आरएसएसले हिन्दु आस्थालाई राजनीतिक रंग दिएर मतमा परिवर्तन गर्दै आएको छ । पछिल्ला दुई दशकमा यसै कारण ठूला साम्प्रदायिक धार्मिक दंगाहरु पनि भएका छन् । धेरै नागरिक मारिएका छन् । नेपालमा यस्तो अवस्था छैन । यस्तो परिप्रेक्ष्य हुँदाहुँदै पनि लिङ्देनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले धर्मको नाममा, या धर्मको आडमा राजनीति गर्ने प्रयास नै अनुचित भएको भन्दै लिङ्देनको अभिप्रायको खण्डन गरे । धर्मलाई व्यक्ति, समुदायको आस्थामै सीमित राख्नुपर्ने, राजनीतिक औजार बनाउन नहुनेमा उनले जोड दिए ।

भारतमा झैं नेपालका हिन्दु किन जाइ लागेनन् भनी उक्साउनुभन्दा नेपालको विशेषता चिन्न उनले जोड दिए । ‘नेपालको विशेषता भनेकै धार्मिक सहिष्णुता हो, जुन अन्यत्र कमजोर भएको पनि हुन सक्छ,’ उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसैले नेताहरुले धर्मको नाममा राजनीति गर्नुहुँदैन, सहिष्णुतालाई कमजोरी ठानेर चुनौती दिने काम कसैले गर्नु हुँदैन ।

ज्ञवालीले भारतमा राजनीति असहिष्णुतातर्फ गएको, नेपालमा संविधानले नै सनातनदेखि मान्दै आएको धर्म र संस्कृतिलाई महत्वसाथ उल्लेख गरेको प्रसंग सम्झाउँदै यसमा गौरव गर्न सिक्नुपर्ने बताए ।

राप्रपालगायत केही समूहहरुले धर्मनिरपेक्षताको बारेमा निरन्तर प्रहार गरिराखे पनि यो लोकतन्त्रकै अंग भएको नेताहरु बताउने गर्छन् । नेपालमा कांग्रेसले २०१२ सालमै धर्मनिरपेक्षता समेटेर घोषणापत्र लेख्यो, जुन बेला यसका नेता बीपी कोइराला थिए ।

एमालेको औपचारिक दस्तावेज जनताको बहुदलीय जनवादले ०४९ सालमै धर्मनिरपेक्षता उल्लेख गरेको छ । प्रायःजसो दलहरुको सन्दर्भमा पनि पहिलेदेखि यही उल्लेख भए पनि अचानक ४ जेठ ०६३ मा संसदमा छिराइएको जस्तो गरी केही नेता लगायतले गलत तथ्य पेश गरिरहेका छन् ।

लिङ्देनले पनि यसैमा जोड दिए । उनले धर्म निरपेक्षताकै कारण धर्मान्तरण बढेको गुनासो गरे । ‘यसरी धर्म परिवर्तन गराउने काम भइरहँदा पनि किन टुलुटुलु हेर्ने काम भइरहेको छ ?’ उनले कार्यक्रममा प्रश्न गरे ।

एमाले नेता ज्ञवाली भने धर्म निरपेक्षताको बुझाइमा अलमल गराउन खोजिएको बताउँछन् । यसलाई धर्मान्तरणसँग जोड्नु गलत नियत भएको उनले बताए ।

‘धर्मान्तरण त जुनसुकै कारणले, जसले गराए पनि गलत नै हो, तर यसलाई धर्मनिरपेक्षतासँग जोड्नु चाहिँ उचित होइन,’ ज्ञवालीले भने, ‘हामी कुनै पनि धर्मलाई राज्यले काखापाखा नगर्ने, सबै धर्मसंस्कृति प्रति समान नजर र सम्मान व्यक्त गर्ने नीतिका पक्षधर हौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४