काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरिएको छ । वडा अध्यक्ष वीरबहादुर रावलको विशेष पहलमा लुगेनाकी जलु बुढाको उद्धार गरिएको हो ।
वडा अध्यक्ष रावलकाअनुसार उनी यसअघि पनि बेला/बेलामा ओडारमा बस्ने गरेकी थिइन् ।
त्यहाँबाट उद्धार गरेर परिवारको जिम्मा लगाउँदा पनि फेरि ओडारमा जाने गरेको भेटिएपनि अहिले वडा कार्यालयमै राखिएको रावलले बताए । ‘हामीले पटक/पटक उद्धार गरेर परिवारको जिम्मा लगाएका थियौँ तर, उहाँ फेरि ओडार तथा जंगलमै जाने गरेको पाइयो,’ वडा अध्यक्ष रावलले भने, ‘शुक्रबार ओडारबाट उद्धार गरेर वडा कार्यालयमा ल्याएका छौँ । उहाँलाई उपचारका लागि बाहिर पठाउनेबारे तयारी हुँदैछ ।’
श्रीमानलाई सम्झाएर घर राख्न भनिएपनि उनी २/३ दिन घरमा बसेर फेरि ओडारमै जाने गरेकी थिइन् । उनको साथमा करिब ६ वर्षीय छोरा पनि जाने गरेको वडा अध्यक्ष रावलले बताए । ‘आमा छोरा दुवैलाई हाम्रै राेहवरमा वडा कार्यालयमा राखेका छौँ,’ रावलले भने, ‘छोरालाई स्कुल पठाउने तयारी भएको छ भने आमा (जलु)लाई सम्भव भए संस्थाको जिम्मा लगाउँछौँ, नभए वडा कार्यालयमै व्यवस्थित तरिकाले राख्नेबारे छलफल भइरहेको छ ।
उमेरले करिब ४८ वर्षकी जलुको परिवारको उनको उपचार गर्नसक्ने हैसियत नभएकै कारण उनी कठिन जीवन बिताउन बाध्य छन् । उनको उपचारका लागि आफूले पहल गरिरहेको वडा अध्यक्ष रावलको भनाई छ । उपचार पाउन सके जलु मानसिक तथा शारीरिक रूपमा निको हुनेमा वडा अध्यक्ष रावल आशावादी छन् । उनी करिब २ वर्षदेखि उद्धार गरेर परिवारको जिम्मा लगाएपनि फर्केर ओडार नै जाने गरेकी थिइन् ।
