अन्जनाको आईईएलटीएसको परीक्षा यही भदौमा हुदैँछ । त्यसको लागि राहदानीको आवश्यकता पर्छ । राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिन्छ । उनका अनुसार नयाँ फारम भरेपछि वैयक्तिक तथा जैविक विवरण उपलब्ध गराउने पालो अबको तीन महिना अर्थात कात्तिकमा मात्रै आउने रहेछ । त्यसैले उनी दु:खी भएर बसेकी थिइन् ।
काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंको प्राङ्गण अघिपछिको जस्तै बुधबार पनि भिडभाड देखिन्थ्यो । विभिन्न उद्देश्यले सेवाग्राही लागि लाइन उभिरहेका थिए । प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचय पत्र बनाउन मानिसहरु लाइनमा उभिइरहेका थिए । सरकारले बाध्यताकारी व्यवस्था गरेसँगै राष्ट्रिय परिचय पत्र बनाउन आउनेको भिड बाक्लै देखिन्थ्यो ।
राष्ट्रिय परिचय पत्र बेगर राहदानी बनाउन नपाइने तथा कतिपय कलेजमा भर्ना हुनको लागि पनि राष्ट्रिय परिचय पत्र खोजिन थालेको छ । त्यही लाइनको छेउकै कुर्सीमा बसिरहेकी थिइन् काठमाडौं निवासी अन्जना श्रेष्ठ ।
हातमा कागज हेर्दै उनी रोइरहेकी थिइन् । किन रोएको भनी जन प्रहारले सोध्दा उनले कर्मचारीको लापरबाहीले आफूलाई धेरै गाह्रो भएको बताइन् । भर्खरै १९ वर्ष टेकेकी अन्जना अध्ययनको लागि अष्ट्रेलिया जाने तयारीमा रहेछिन् ।
४५ दिन अघि फारम भरेकी अन्जनाले बुधबार मात्रै डिजिटल तस्वीर, दश औलाको रेखासहित ल्याप्चे छाप, हस्ताक्षरसहित वैयक्तिक तथा जैविक विवरणका लागि उनलाई बोलाइएको थियो । त्यसैले उनी बिहान ६ बजे नै जिल्ला प्रशासन कार्यलय पुगिन्।
कार्यलय समय सुरु भएसँगै लाइन बसेकी उनी निकै उत्साहित थिइन् तर उनको त्यो उत्साह धेरैबेरसम्म टिक्न सकेन । उनले खुसी हँदै कर्मचारीलाई आफ्नो फारम बुझाइन् तर उनको फारम हेरिसकेपछि आवेदन फारमको नम्बरमा त्रुटि भएको भन्दै अब नयाँ फारम भर्न भनेर आदेश दिइयो ।
कर्मचारीको त्यो कुराले उनी भावूक बनिन्, उनलाई साह्रै पीडा भयो त्यही पीडा आँशुको रुपमा बगेको प्रष्ट देख्न सकिन्थ्यो । अन्जनाको आईईएलटीएसको परीक्षा यही भदौमा हुँदैन । त्यसको लागि राहदानीको आवश्यकता पर्छ ।
राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिन्छ । उनका अनुसार नयाँ फारम भरेपछि वैयक्तिक तथा जैविक विवरण उपलब्ध गराउने अबको तीन महिना अर्थात कात्तिकमा मात्रै आउने रहेछ । त्यसैले उनी दु:खी भएर बसेकी थिइन् ।
त्यस्तै अन्जनाको छेउमै उभिएकी थिइन् काभ्रेकी अन्जु तिमिल्सिना । उनलाई पनि अन्जनालाई जस्तै फारममा त्रुटि भएको भन्दै नयाँ फारम भर्न भनिएको रहेछ । अन्जना भन्छिन् ‘घर, कार्यलयको कामले फुर्सद निकाल्न धेरै गाह्रो छ, बच्चाको जिम्मेवारी पनि, ढुक्क भएर आएको थिए तर बनेन ।
अन्जुले राष्ट्रिय परिचय पत्रको लागि अनलाइन फारम भर्दा स्थान नारायणहिटी दरबारमा भनेर भरेकी थिइन्। भरेको एक महिनापछि कार्यलय गइन् तर त्यहाँ उनलाई काभ्रे जिल्लाको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं मै जानु भन्ने आदेश आयो ।
त्यही आधारमा फारम लिएर प्रशासन कार्यलय आएकी रहेछिन् । उनको फारम अस्वीकृत भएसँगै उनी फेरि नयाँ फारम भर्ने तनावले आत्तिइन् र श्रीमानलाई फोन गरिन् । काम नभएकाले फर्किन लागेको बताइन् । तर, उनका श्रीमानले एकै पटकमा काम नसकी नर्फिन भन्दै प्रशासकिय अधिकृतलाई आफ्नो समस्या गएर बताउन सल्लाह दिए ।
अन्जु श्रीमानको सल्लाह अनुसार आफू मात्र गइनन्, अन्जनालाई पनि साथै लिएर गइन् । अधिकृतसँग उनीहरुले आफ्ना सबै कुरा राखे पनि । अन्जना भन्छिन्, ‘अधिकृत सरलाई आज काम नभए मेरो दुई वर्ष खेर जाने बताएँ, सरले नआत्तिन भन्दै सान्तवना दिनुभयो, सँगै दुई तीन दिनमा काम बन्ने आश्वासन दिनु भयो ।
अन्जु भन्छिन् ‘आश्वासन त पाइयो तर काम हुन्छ या हुदैन केही ठेगान छैन। ढुक्क हुन सकिन्न, सरकारी काम कहिले जाला घाम जस्तो गर्ने प्रवृति छ, अब कति दिन दु:ख पाइने हो थाहा छैन ।
काठमाडौं जिल्ला प्रशासन कार्यलयसँगै हामी जिल्ला प्रशासन कार्यलय ललितपुर पुग्यौं। काठमाडौंमा जस्तै ललितपुरमा पनि राष्ट्रिय परिचय पत्र बनाउनको लागि उत्तिकै लाइन देख्न सकिन्थ्यो । लाइनभन्दा पर केही मानिस एकै ठाँउमा बसिरहेका थिए । त्यही भिडमा रुखको छहारीमा बसिरहेका थिए, कैलालीका राजेश शाही । चार दिनदेखि उनको विहानदेखि साँझसम्म प्रशासन कार्यलयमा बित्ने रहेछ ।
‘सामान्य त्रुटि भयो, फारम भर्दा नागरिकता नम्बरको एउटा अक्षर गलत भरेछु अहिले चार दिन भयो सच्चाउन धाएको, काम बन्ने कही लक्षण नै छैन, भोलिबाट त कामबाट पनि बिदा पाउन गाह्रो छ । काठमाडौंको टोखा बस्ने राजेश बिहान ६ बजे ललितपुर पुग्छन् । राजेशको योजना राष्ट्रिय परिचय पत्रको नम्बर पाउने बित्तिकै राहदानी बनाउने हो । उनी वैदेशिक रोजगारको लागि तयारी गर्दैछन् ।
राजेश भन्छन्, ‘जनताको समयको मतलब नै छैन, एउटा सामान्य कुरा सच्याउनको लागि पनि यस्तो ढिलासुस्ती, साह्रै दु:ख पाइयो । राजेशले जस्तै जुम्लाका कमलप्रसाद पाण्डे पनि प्रशासन कार्यलय धाउन थालेको तीन दिन भयो । उनी बिहानै साढे ५ बजे प्रशासन आउने गर्दा रहेछन् ।
कमल भन्छन्, ‘उपत्यकाका एक सय र मोफसलका सय जना गरेर एक दिनमा दुई सय जनाको कोटा हुने रहेछ, तीनदेखि आइरहेको छ, एक सयजना भित्र पर्न सकिएन,, प्राविधिक गडबडी उत्तिकै हुने, कर्मचारीको ढिलासुस्तीले गर्दा तीनदेखि दु:ख पाउनु परेको छ ।’
राष्ट्रिय परिचयपत्रमा भरिएका व्यक्तिगत विवरणको सुरक्षामा प्रश्न
वैयक्तिक तथा जैविक विवरण उपलब्ध गराउन उनीजस्तै धनगढीका सुदिप शर्मा पनि प्रशासन धाउन थालेको चार दिन भयो । चार दिनदेखि राष्ट्रिय परिचयपत्र नम्बर लिने आशामा कुरिरहेका छन् सुदिप । एक महिनापछि पालो आएको बताउने उनी पालो आउदा पनि विवरण बुझाउन नसेकोमा व्यवस्थापन पक्षसँग रुष्ट देखिन्थे ।
उनी भन्छन्, ‘जनता परिचय पत्र बनाउन लाइन घण्टौ सम्म उभिएर बस्नु परेको छ, मान्छे धेरै भएपछि कर्मचारी थपेर भए पनि काम छिटो गर्नुपर्छ, एक दिनमै बन्ने काम हप्तौ लगाउने जस्तो देखिन्छ ।’
सुर्खेतकी दिलमाया सोमाई राष्ट्रिय परिचय पत्रको फारम लिएर बुधबार कार्यलय पुगिन् । मानिसको लाइन र त्यहाँको वातावरण देखेर उनी निराश देखिन्थिन्। होटल हिमालयमा मालीको काम गर्ने दिलमायाले एक दिनको बिदा मागेर आएकी रहिछिन् । तर, बुधबार उनको काम बन्ने कुनै छाँटकाट नदिएपछि अब कति दिन धाउन पर्ने हो थाहा छैन ।
उनी भन्छिन्, ‘अरुको काम गरेर खाने मान्छेलाई तीन चार दिनसम्म बिदा कसले दिन्छ ? नबनाई पनि नहुने, अनागरिक भइने डर। गाह्रो पो पर्यो त ।’
यी त प्रतिनिधि घटना मात्रै हुन्। राष्ट्रिय परिचय पत्र बनाउन धेरै नेपाली नागरिकले सास्ती व्योर्होनु परेको छ । छिटो, छरितो तथा सुलभ तरिकाले सेवा नपाउँदा नागरिकले दु:ख पाएका छन् ।
सरकारले ५ वर्षअघिदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्दै आएको छ । पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचय पत्र लिनेको संख्या ८४ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० असार मसान्त ८१ लाख र साउन १५ गतेसम्म ३ लाख गरी ८४ लाख नागरिकले विभिन्न जिल्ला र प्रदेशबाट राष्ट्रिय परिचयपत्र लिइसकेका छन् ।
