काठमाडौं । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् ।
बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् ।
श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । भित्री क्षेत्रका बासिन्दा भने भाग्न पाएनन् ।
श्रीलंका टापुका स्थानीय अर्जुन चन्द्रवंशीले टापुको समस्या यसरी सुनाए–
हिजो काम परेकाले इनरुवा गएका थियौं । फर्कन ढिलो भएपछि राति प्रकाशपुरमा नै बस्यौं । आज बिहानै कोशीले धार परिवर्तन गर्यो । कोशीले धार परिवर्तन गर्दा हाम्रो बस्ती जाने बाटो थुनियो । बस्तीमा मेरो परिवार छ । अब बस्ती (श्रीलङ्का टापु) कसरी जाने भन्ने तनाब छ ।
श्रीलङ्का टापु कोशीको बिचमा छ । त्यहाँ अझै १०–१२ हजार मान्छे होलान् । श्रीलंका टापु जाने बाटो उदयपुरपट्टीबाट मात्रै छ । कोशीको पश्चिम पट्टीको सानो भंगालो पार गरेपछि बस्ती पुगिन्थ्यो । अब त्यही भंगालोमा कटान गरेर ठूलो भंगालो पस्यो ।
हाम्रो बस्ती सबैतिरबाट थुनिएको छ । त्यहाँका मान्छे कसरी बाहिर निस्किने भन्ने समस्या छ ।
सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।
प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।
प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ ।
