Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिमा बलात्कार आरोपीसामु औंठाछाप दिएर दीक्षा लिनेको लस्कर”सिद्धबाबाको पुराणमा भीआईपी जाँदा मुद्दा प्रभावित हुने डर”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ९ २०७९
  • 6.5K
    SHARES

पशुपतिमा आयोजित यज्ञमा अनुयायीलाई दीक्षा दिनुअघि सिद्धबाबा । तस्वीरः 

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने द्वारैमा अहिले ‘अतिरुद्र महायज्ञ’ चलिरहेको छ ।

पशुपति क्षेत्रका ठाउँ ठाउँमा राखिएका फ्लेक्स बोर्डमा प्रमुख वाचकको नाम ‘अनन्त श्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य’ लेखिएको छ । कहींकतै उनको अर्को नाम उल्लेख छैन ।

पुराणमा बालबालिका, युवा पुस्तादेखि वृद्धवृद्धासम्म सहभागी छन् । प्रचारका लागि राखिएको बोर्डमा आयोजक सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाम छ, त्यसले पुराण कसले वाचन गरिरहेका छन् भन्ने धेरथोर संकेत दिन्छ । महायज्ञमा शुक्रबारसम्म ९०० जना सहभागी भएर उपस्थिति पुस्तिकामा हस्ताक्षर गरिसकेका छन् ।

पुस्तिकामा सामान्य नागरिककाे नाम मात्र छैन, सुरुवातमै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम उल्लेख छ । सँगै नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खाती, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक लगायतको नाम पनि उपस्थिति पुस्तिकामा छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायत पनि यज्ञमा पुगेका छन् । झट्ट देख्नेलाई लाग्छ, पशुपति मन्दिरमा कुनै ‘प्रख्यात’ सन्तले पुराण भनिरहेकाले देशका भीआईपीहरुदेखि सामान्य नागरिकसम्मको लस्कर पशुपतिमा लागेको हुनुपर्छ ।

तर घोरिएर हेर्नेलाई यी दृश्य अनौठा लाग्छन्, किनकि, जसको यज्ञ सुन्न नेता, सरकारी वकिलदेखि प्रहरी हाकिमहरुको लस्कर लागिरहेको छ, ती व्यक्ति अरु कोही नभएर बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरी हुन् ।

उनीहरुलाई महायज्ञका प्रमुख वाचक गिरी बलात्कारका आरोपी हुन् भन्ने थाहा नभएको पनि होइन ।

महायज्ञको उद्घाटनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

महान्यायाधिवक्ता खातीको मातहतकै जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले गिरीलाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा अपील गरेको थियो । त्यही आधारमा उच्च अदालतले फेरि मिसिलहरु अध्ययन गर्न जिल्ला अदालतका नाममा आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता गणेशप्रसाद सापकोटा बताउँछन् ।

‘अदालतले उनलाई हाजिर जमानीमा छाडेको हो, उनी निर्दोष साबित भइसकेका होइनन्’, सापकोटा भन्छन् । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार मोहनबहादुर अधिकारी पनि उच्च अदालतको आदेशपछि गिरीविरुद्ध फेरि मुद्दा दर्ता भएको बताउँछन् ।

‘अहिलेसम्म पेशी चाहिं चढेको छैन, चाप अनुसार तोकिएको समयमा उहाँ हाजिर हुनुपर्छ’ अधिकारीले जन प्रहारसँग भने ।

तर मुद्दा विचाराधीन अवस्थामा रहेका बेला आरोपीले सार्वजनिक समारोह गर्दै हिंड्नु अझ त्यसमा मुलुकका ‘भीआईपी’हरु सरिक हुनु अनौठो विषय भएको नागरिक अगुवा मोहना अन्सारी बताउँछिन् ।

‘मैले बोल्दा अलि अप्रिय लाग्ला तर धर्म र राजनीतिका नाममा धेरै अपराध लुकाइएका छन्, यो त्यसैको उदाहरण हो’ राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अन्सारी भन्छिन्, ‘यस्ता घटनाले राजनीतिक र धार्मिक बर्को ओढेपछि जे गरे पनि छुट हुन्छ भन्ने मान्यता स्थापित गराउँछ ।’

अदालतमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी रहेका व्यक्तिको पुराणमा भीआईपीहरुको लस्कर लाग्नुले मुद्दालाई पनि प्रभावित पार्नसक्ने जानकारहरु बताउँछन् ।

‘सिद्धबाबाले कार्यक्रम गर्न खोज्नु स्वाभाविक हो, उनले मेरो नजिकमा यस्ता मान्छेहरु छन् भनेर देखाउन चाहनु पनि सामान्य हो’ फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल भन्छन्, ‘तर सार्वजनिक पदमा बसेका मान्छेले चाहिं यस्तो गम्भीर अभियोग लागेका व्यक्तिको कार्यक्रममा उपस्थिति जनाउन जानु भनेको उनीहरुको नैतिकताको कुरा पनि हो ।’

मुलुकका नेता, सरकारी वकिल, उच्च प्रहरी अधिकृतहरू जस्ता सार्वजनिक पदमा बसेका व्यक्ति बलात्कार जस्तो गम्भीर अभियोग लागेका मान्छेको कार्यक्रममा उपस्थित हुन जानु उनीहरू स्वयंको नैतिकताको कुरा पनि हो । – सतिशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता

बलात्कार आरोपीलाई पशुपति क्षेत्रमा पुराण लगाउन ठाउँ दिनुले पशुपति क्षेत्र विकास कोषमाथि पनि प्रश्न उठेको छ । तर कोषका अधिकारीहरु यस विषयमा औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

कोषका एक अधिकारीले अनुमति लिनु अघि सिद्धबाबाले पुराण वाचन गर्ने भन्ने थाहै नभएको दाबी गरे । उनको भनाइमा ‘फरक नाम भएकाले यज्ञका लागि अनुमति दिइएको थियो, पछि मात्रै सिद्धबाबा प्रमुख वाचक हुन्’ भन्ने थाहा भएको हो ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले चाहिं अनुमति दिएरै कार्यक्रम गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘यस्तो कुरा आउँछ भन्ने जानकारी पनि थिएन, अतिरुद्री हुनुपर्ने आवश्यक थियो, त्यसैले हुन्छ भनिएको थियो ।’

गराउँदैछन् पाप र पुण्यको संकल्प

सिद्धबाबाले पशुपतिमा यज्ञ गराएर उपस्थितहरुलाई दीक्षा पनि दिइरहेका छन् । उनीबाट दीक्षा लिन आयोजकले दुई पन्ने फारम नै तयार गरेको छ ।

दीक्षा प्राप्तिका लागि भन्दै भराइने औंठा छापसहितको फारम । 

 

एउटा पन्नामा सम्बन्धित व्यक्तिको विस्तृत विवरण राखिएको छ भने अर्को पन्नामा ‘मन्त्र दीक्षा प्राप्ति संकल्प’ भनेर औंठाछाप लगाउनुपर्ने विवरण राखिएको छ । फारममा ‘विशिष्टाद्वैतमतको अक्षुण्ण गुरु–शिष्य परम्परा अनुरुप मेरो परमपूज्य सद्गुरुदेवबाट आज मलाई कृपा भएको शरणागती मन्त्र दीक्षा प्राप्त’ हुने भनिएको छ ।

‘अब उप्राप्त मेरो जीवन गुरु आज्ञाबाट सञ्चालित हुनेछ भने गुरुवाणी नै मेरा लागि शास्त्र हुनेछ’ संकल्पको विवरणमा भनिएको छ, ‘परमपूज्य श्रीसद्गुरुदेव समक्ष मैले गरेको यो सत्यसंकल्पबाट म कहींकतै स्खलित भएमा जन्म जन्मान्तरका लागि कर्माजित मेरा सम्पूर्ण पुण्य संस्कर नाश हुने र अनगिन्ती समयसम्म चौरासी लाख योनीको भ्रमण र नरकबास मैले अनिवार्य भोग्नुपर्नेछ ।’

उनले यो संकल्पमा हस्ताक्षर गराएपछि मण्डपमा राखेर डेढ घन्टासम्म पाप र पुण्यबारे प्रवचन दिने गरेका छन् । उनले मन्त्र प्राप्त गरेपछि शिष्ट जीवन पद्धतिमा आबद्ध हुनुपर्ने बताउँदै ‘यसो कान फुकाइ राखौं भन्ने किसिमले दीक्षा लिनु नहुने’ बताउँदै सचेत गराउने गरेका छन् ।

‘हिजोको बानी व्यहोरा, चोर्ने ढाँट्ने, ठग्ने र मनको स्वादमा आफू बाँधिने सबै कुरालाई त्याग्न सक्नुपर्छ’ उनी भन्छन्, ‘गुरुदेवले दिएको आज्ञा पालना गर्न सकिएन भने ठूलो दोष हुन्छ, गुरुधारण गरेर गुरुमा दोष देखियो भने झन् ठूलो दोष हुन्छ ।’

‘भनेअनुसार नगरे अनिष्ट हुने’ भन्दै बलात्कार

सुनसरीको चतरा आश्रममा बस्ने सिद्धबाबाविरुद्ध ४ कात्तिक २०७६ मा एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । उनका लागि नेपाल प्रहरीले निजी सुरक्षा अधिकृत (पीएसओ) पनि उपलब्ध गराउँदै आएको थियो ।

उनको पहुँच प्रहरी उच्च अधिकृतहरुदेखि प्रदेश र संघीय सरकारका मन्त्रीहरुसँग पनि देखिएको थियो । त्यसैले सुरुमा पीडितले किटानी जाहेरी दिंदा प्रहरीले दर्ता गर्न मानेको थिएन ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले पनि ‘आफू कृष्णदासजी महाराजबाट प्रभावित’ भएको भन्दै सिद्धबाबाको प्रशंसा गरेका थिए । त्यसैले सुरुमा उनीविरुद्ध जाहेरी लिन प्रहरी पनि तर्किएको थियो । तर पीडित जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्म किटानी जाहेरी लिएर पुगेकी थिइन् ।

सीआईबीले पीडितको स्वास्थ्य परीक्षण गराएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएको थियो । पीडितका अनुसार सिद्धबाबाले ३ कात्तिकमा राति साढे ११ बजे फोन र म्यासेन्जरबाट उनलाई सम्पर्क गरेका थिए ।

जवाफ नफर्काएपछि उनले ‘मैले मौका दिएको बेलामा चुप किन’ भन्दै कुटीमा बोलाएका थिए । पीडितले दिएको जाहेरी अनुसार उनले ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ बताउँदै धम्की दिएर जबर्जस्ती करणी गरेका थिए ।

सिद्धबाबाले घटनाबारे ‘कसैलाई भने अनिष्ट’ हुन्छ भन्दै धम्क्याउने गरेको पीडितको भनाइ छ । काठमाडौं आएर श्रीमानकै सहयोगमा पीडितले प्रहरीमा सिद्धबाबाविरुद्ध जाहेरी दिएकी थिइन् ।

अदालतबाट आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि सिद्धबाबा भने विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका थिए ।

अस्पतालले उनलाई ‘हृदयघात’ भएको बताएपछि उनलाई पक्राउ नगरी जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोली फर्किएको थियो । बिहान शुभचिन्तक र अनुयायीसँग गफ गरिरहेका सिद्धबाबा ११ बजेतिर आईसीयूमा भर्ना भएका थिए ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले पछि जबर्जस्ती करणीको मुद्दामा सिद्धबाबालाई सफाइ दिएका थिए । उनलाई सफाइ दिंदा न्यायाधीशले पीडितको चरित्रमाथि नै प्रश्न उठाएका थिए । पीडितको चरित्रमाथि प्रश्न उठाउँदै निर्दोष रहेको फैसला गर्दा पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिललाई बहसको मौकासमेत दिइएको थिएन ।

सिद्धबाबाले आफू ‘वैदिक सनातनी रामानन्दीय वैष्णव भएकाले फेसबुक नचलाउने, मोबाइल नछुने, अनि स्त्री र अग्निबाट टाढा रहने’ बयान दिएका थिए । सिद्धबाबाले पीडित भनिएकी महिलासँग भेट पनि अस्वीकार गरेका थिए ।

तर सरकारी वकिलका अनुसार सिद्धबाबाले पीडितलाई बलात्कार गरेको प्रमाणित हुने यथेष्ट आधारहरु थिए । अदालतमा पीडितले सिद्धबाबाको घुँडामा खत रहेको बताएकी थिइन्, प्रहरी अनुसन्धानका क्रममा पनि सिद्धबाबाको घुँडामा खत भेटिएको थियो । यसले पनि उनीहरुबीच घटना भएको दिन भेट भएको प्रमाणित गर्ने एक सरकारी वकिल बताउँछन् ।

बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि कृष्ण गिरी अस्पताल भर्ना भएका थिए । 

घटनाबारे अनुसन्धान भइरहेका बेला गिरीले पीडित महिलालाई रुँदै फोन गरेर मुद्दा फिर्ता गर्न दबाब दिएका थिए । ‘मबाट एकपटक गल्ती भयो, माफ पाउँ, अब त्यस्तो हुँदैन । भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेर उनले भनेका थिए ।

यसलाई प्रहरीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाएको थियो, त्यस क्रममा उक्त आवाज सिद्धबाबाकै भएको पुष्टि भएको थियो । यो पनि सिद्धबाबा बलात्कार प्रकरणको महत्वपूर्ण प्रमाण भएको ती सरकारी वकिल बताउँछन् ।

तर जिल्ला अदालतले फैसलाको पूर्णपाठमा ‘उमेर पुगेका महिला र पुरुषबीच शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भन्न नमिल्ने’ जिकिर गरिएको थियो । जबर्जस्ती करणीको प्रमाण हुँदाहुँदै पनि जिल्ला अदालतले ‘सहमतिमा भएको’ भन्दै सिद्धबाबालाई सफाइ दिएको भन्दै विरोध भएको थियो ।

पछि उच्च अदालतले गिरीको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको आदेश बदर गरेको थियो । फैसला बदर गर्दै सबूत प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने निर्णय उच्च अदालतले सुनाएको थियो ।

शक्तिशाली बाबा

अहिले बलात्कार आरोप लागेका सिद्धबाबा तिनै व्यक्ति हुन्, जो ६ वर्षअघि पोखरामा विनाअक्सिजन भूमि समाधिमा ९ दिन बसेको भन्दै चर्चामा आएका थिए । त्यसबेला समाधिबाहिर उनलाई हेर्न हजारौंको भीड लागेको थियो ।

समाधिमा बस्नुअघि उनले राष्ट्र र मानव कल्याणका लागि समाधिमा बस्न लागेको बताएका थिए । त्यसबेला उनले आफूसँग हावामा उड्ने, जमिन र पानीमुनि बस्ने शक्तिसमेत रहेको बताउने गरेका थिए ।

 

सोलुखुम्बुमा २०३१ सालमा जन्मिएका गिरीले स्थानीय विद्यालयमा कक्षा ७ सम्म पढेर गाउँबाट हिंडेको स्थानीय बताउँछन् । घर छाडेर हिंडेको ६ वर्षपछि उनी सन्तको भेषमा घर फर्किएको जानकारहरुको भनाइ छ । त्यतिबेला भारतमा आयुर्वेदमा आचार्य र विद्याचार्य गरेको उनले बताउने गरेका छन् ।

तर सिद्धबाबाका रुपमा उनी चिनिएको चाहिं पोखरामा समाधिस्थलमा बसेको भनिएको घटनापछि नै हो । चिकित्सकहरुले विना अक्सिजन ३ मिनेटभन्दा बढी मान्छे बाँच्न नसक्ने बताइरहेका बेला उनले ९ दिन समाधिमा बसेको बताएका थिए । त्यसपछि उनको पोखरामा विशेष सम्मान भएको थियो । त्यसो त त्यही बेला सुनसरीमा उनीविरुद्ध गैरकानुनी काममा संलग्न भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको थियो ।

चतरामा उनले सुनसरी–मोरङ सिंचाइ आयोजनाको करिब १३ विघा जग्गा कब्जा गरेर भवन निर्माण गरेको उजुरीमा उल्लेख थियो । नगरपालिकामा कुनै पनि भवन निर्माण गर्दा अनुमति लिनुपर्ने हो । तर उनले पहुँचका आधारमा नक्सा पास नगराई भवन बनाएका थिए । उक्त भवन उद्घाटन २७ फागुन २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

गिरीले बनाएको भवन उद्घाटनका लागि चतरा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी । 

बराह क्षेत्रमा हरित क्रान्ति ल्याउने, आयुर्वेद विश्वविद्यालय बनाउने, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने बताउँदै उनले भवन बनाएका थिए । उनीविरुद्ध दोहोरो नागरिकता र जडीबुटीको अवैध कारोबार गरेको आरोप पनि थियो ।

यिनै सिद्धबाबाले आयोजना गरेको एक स्वास्थ्य शिविरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले उनीसँग भेट गरेका छन् ।

हालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले पनि उनीसँग भेट गर्ने गरेका थिए । नेपाल प्रहरीका उच्च अधिकृत र उनीहरुका परिवारका सदस्य पनि आशीर्वाद लिन पुग्ने गरेका थिए । त्यसैको बलमा उनले अवैध गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

सम्बन्धित समाचारहरु–

२०७६ मंसिर १३ गते : चतरा आश्रमका ‘सिद्धबाबा’ प्रहरी निगरानीमा, बलात्कारको उजुरी दर्ता

२०७६ मंसिर १४ गते : सिद्धबाबाको आश्रममा हर्कत–  पत्रकारलाई नगद !

२०७६ मंसिर १५ गते : ‘हृदयाघात’ भएको भन्दै बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा

२०७६ मंसिर १६ गते : बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ 

२०७६ मंसिर २५ गते : क्याबिन नम्बर नौ ! अर्थात ‘भीआइपी बलात्कार आरोपी’ को हिरासत ! 

२०७६ मंसिर ३० गते : बलात्कार आरोपी सिद्धबाबाको हातमा त्रिदण्ड ! 

२०७६ पुष १० गते : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो 

२०७७ मंसिर २२ गते  : सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ

२०७७ मंसिर २३ गते : प्रधानन्यायाधीशसमक्ष पुगिन् पीडित

२०७७ फागुन १ गते : ‘महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे’  

२०७९ असार १५ गते : न्यायाधीश कोइरालाले प्रमाण नहेरी फैसला गरे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४