Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन सुरु भइसक्यो, पूर्वतयारी योजना नै स्वीकृत भएको छैन “यस वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २८ २०७९
  • 5.3K
    SHARES

©जन प्रहार

“सहरमा पानीलाई छैन बाटो”

काठमाडौं । गत वर्ष भएका मनसुनजन्य विपदबाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु भएको थियो । जानकारहरूका अनुसार गत वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै उच्च थियो । २०७७ मा मनसुनको पहिलो महिना असारमा २० जना, ०७६ मा २५ जना, ०७५ मा ११ जना र ०७४ मा २८ जनाको मृत्यु भएको थियो ।

यो वर्ष पनि मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । नेपालमा वर्षभरि हुने वर्षा करिब ८० प्रतिशत मनसुनको समयमा हुने गर्छ ।यसपालि मनसुनको चार महिनाको अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर-पूर्व भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर- पश्चिमी भूभाग तथा सुदरपश्चिमको उत्तरी भू-भागमा सरदभरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ ।

छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुने हुँदा मनसुनमा ठूलो क्षति हुने गरेको छ । नेपालमा मनसुनको समयमा पहिरो, बाढी, कटान र डुबानले बर्सेनि मानवीय र भौतिक क्षति गर्ने गरेको छ ।

तर नेपालको मनसुनजन्य विपद् क्षतिको न्यूनिकरण र रोकथामको प्रयासभन्दा बढी घटना भइसकेपछि प्रतिकार्यमा मात्र सीमित रहने गरेको छ । भौगोलिक प्रकोप विज्ञ एवं इञ्जिनियर श्रीकमल द्विवेदीका अनुसार हरेक वर्षको प्रकोपले अर्को वर्षका लागि केही सन्देश दिने गर्छ, त्यसलाई हेरेर पहिल्यै पूर्वतयारी गर्नुपर्ने हो । तर नेपालमा त्यसो हुन सकिरहेको छैन ।

‘गत वर्ष मनसुनको पहिलो महिना नै भारी वर्षा र ठूलो जनधनको क्षति भएको थियो, त्यसबाट सिकेर योजना बनाउनुपर्थ्यो’ द्विवेदी भन्छन्, ‘तर नेपालमा कहिल्यै पनि अघिल्लो वर्षको प्रकोपबाट सिकेको देखिंदैन ।’ प्रकोपको पूर्वतयारी र प्रतिकार्यको जिम्मेवारी पाएको गृह मन्त्रालय मनसुनजन्य प्रकोपलाई हलुकारुपमा लिएर बसेको छ । मनसुन भित्रिएको एक साता बितिसक्दा पनि मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना – २०७९’ स्वीकृत नगर्नुले यसको जिम्मेवारी लिएको मन्त्रालयको मनसुनजन्य विपद्प्रति कति संवेदनशील छ भन्ने देखाउँछ ।

मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत नहुँदै मनसुन सुरु भइसकेको छ । यो अवधिमा प्राधिकरणले यसलाई स्वीकृतिका लागि पटकपटक विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष गृहमन्त्री बालकृष्ण खाँणसमक्ष समय मागेको छ । तर हालसम्म गृहमन्त्री खाँणको समय प्राधिकरणका पदाधिकारीहरूले पाउन सकेका छैनन् । ‘अहिलेसम्म केन्द्रकै कार्ययोजना स्वीकृत नहुँदा जिल्लामा पनि कसरी काम गर्ने भन्ने टुंगो लागिसकेको छैन’ प्रकोपको जोखिम क्षेत्र मानिने एक जिल्लाका प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘प्रकोप भइसकेपछिको कामका लागि सुरक्षा निकायले विगतकै योजना अनुसार काम गर्ने तयारी गरेका छन् ।’

प्राधिकरणले बनाएको कार्ययोजनामा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जल तथा मौसम विज्ञान विभाग, संघीय मामिला तथा प्रशासन मन्त्रालय, स्वास्थ्य, खाद्य सुरक्षालगायतका क्षेत्रमा गर्नुपर्ने कामबारे विस्तृत योजना उल्लेख छ ।

२०७८ को बर्खामा बजाङमा गएको पहिरो ।

तर मनसुन सुरु भइसकेको अवस्थामा त्यसमा उल्लेख भएका पूर्वतयारीका योजना कार्यान्वयनका लागि जटिलता छ । एक अधिकारी भन्छन्, ‘प्राधिकरणले बनाएको योजना कन्सेप्टवाइजरुपमा एकदमै राम्रो छ, तर कार्यान्वयनमा जान ढिला भइसकेको छ ।’ गत वर्ष मनसुन सुरु हुने वित्तिकै परेको भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे र तालगाउँ,  गोरखाको मनास्लु, बझाङ, कालीकोट, जाजरकोटलगायतका क्षेत्रमा बढी क्षति पुगेको थियो । यस वर्ष पनि ती क्षेत्र प्रकोपको जोखिममा छन् तर क्षति न्यूनिकरणका लागि पर्याप्त पूर्वतयारी गरिएको छैन ।

‘विपद् भइहालेको अवस्थाका लागि रणनीतिक ठाउँमा डोजर राख्ने र सुरक्षा फौजलाई हाई अलर्टमा राख्ने काम गरेका छौं’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालका भन्छन्, ‘जिल्ला विपद् व्यवस्थापन समितिले खासमा तत्कालिक समस्या समाधान गर्ने मात्रै हो, दीर्घकालीन काम स्थानीय निकायबाट हुनुपर्ने हो ।’

सिन्धुपाल्चोकका स्थानीय निकायचाहिँ पूर्वतयारीका लागि केन्द्र सरकारको मुख ताकेर बसेका छन्, यस्तो अवस्थामा मनसुनमा हुने विपद्मा जोखिम क्षेत्र मानिएको क्षेत्रमा क्षति न्यूनिकरणका लागि पूर्वतयारी शून्यजस्तै छ । विगतमा सिन्धुपाल्चोकका केही वस्ती स्थान्तरण गर्नुपर्ने प्रस्ताव आए पनि अहिलेसम्म प्रगति भएको छैन । बरु गत वर्ष हेलम्बुमा गएको पहिरोको अध्ययनसमेत अहिलेसम्म पूरा भएको छैन ।

बाढी र पहिरोको जोखिम

बर्खा सुरु भएसँगै संखुवासभामा गएको पहिरो !

राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार पछिल्लो ११ वर्षको तथ्यांक अनुसार मनसुनको अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएका छन् । यसअवधिमा सबैभन्दा धेरै मानवीय क्षति पनि पहिरोकै कारण भएको छ । भट्टराईका अनुसार २४६५ वटा पहिरोका घटना हुँदा १३८७ जनाको ज्यान गएको छ, ३३० जना बेपत्ता छन् ।

हरेक वर्ष मुलुकमा ठूलो जनधनको क्षति हुने गरी आउने विपद्को दोष मनसुनलाई दिने गरिन्छ । तर नेपाल भूगोल समाजका अध्यक्ष प्राध्यापक डा. नरेन्द्र खनालका अनुसार यो मानव सिर्जित समस्याको उपज हो । उनका अनुसार प्रकृतिलाई आफ्नो हिसाबले चल्न नदिंदाको परिणाम अहिले भोग्नु परिरहेको छ ।

‘विकासका नाममा भएका जथाभावी निर्माण, नदी वा खोल्सका निकासमा बनाइएका घरहरूका कारण पनि अहिले बढी क्षति भइरहेको हो’ उनी भन्छन्, ‘सम्बन्धित ठाउँमा कति पानी पर्छ र त्यसको निकास कसरी गर्ने भन्ने विषयको वैज्ञानिक अध्ययन गरेर मात्र निर्माण गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।’ अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण, अवैज्ञानिक भू-उपयोग, प्राकृतिक स्रोत (रोडा, बालुवा, ढुंगा) को अनियन्त्रित दोहन जस्ता कारणले मुलुकका पहाडी भूभागमा पहिरोको प्रकोप बढ्दो छ ।

प्राधिकरणका प्रवक्ता डा. भट्टराईका अनुसार छोटो समयमा हुने भारी वर्षा र बेला बेलामा आउने भूकम्पनका कारण पुराना तथा निस्कृय भइसकेका पहिरोहरु पनि पुनः सक्रिय हुने गरेका छन् ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यका अनुसार प्राकृतिक विपत्तिको असर न्यूनिकरणका लागि संरचना निर्माणमा इञ्जिनियरिङलाई जोड दिनुपर्ने हो । ‘हाम्रो चुरे पहाड प्राकृतिक रुपमा कमजोर छ, त्यसैलाई खनेर विना डिजाइनको सडक बनाउँदा जोखिम बढ्दो छ’ आचार्य भन्छन् । तराईमा उत्तर-दक्षिण बग्ने नदी र खोला माझबाट पूर्व-पश्चिम क्षेत्रका लागि बनाइएका अव्यवस्थित सडकले पनि समस्या सिर्जना गरेको आचार्य बताउँछन् । भन्छन्, ‘प्राकृतिक बहावलाई असर पार्ने गरी संरचना बनाइएका छन्, जसले समस्या सिर्जना गरिरहेको छ ।’

आचार्य भन्छन्, ‘उपत्यकाको मुख्य समस्या भनेको संरचना बनेका बन्यै छन् तर, बर्खाको पानी निकासको कुनै योजना नहुनु हो ।’ सडक छेऊमा ढल राखिएका छन्, त्यहीँ जथाभावी रुपमा फोहोर फालिएका छन् । त्यसलाई सफा समेत नगरिँदा ढल जमेर दूषित पानी सडकमै बग्ने गरेको उनी बताउँछन् ।

मनसुनको समयमा लगातार वर्षा हुुँदा नदीहरुमा पानीको वहाव बढेर आउने बाढीका कारण पनि तराईका क्षेत्रमा बढी क्षति हुने गरेको छ । विगत ११ वर्षमा मनसुनको समयमा आएको बाढीका कारण ८७५ जनाको मृत्यु र ५४८ जना बेपत्ता भएका छन् ।

  • सहरमा पानीलाई छैन बाटो

कतिपय अवस्थामा पहिरोबाट सिर्जित बाँधहरु विष्फोटन हुँदा पनि बाढी आउने गरेको छ । मुख्य नदीहरुमा अत्यधिक वर्षा हुँदा ती नदीले बगाएका थिग्रान नराइका समतल भूमिमा थुपि्रँदा पानीको सतह बढेर बाढीको रुप लिने गरेको जानकारहरू बताउँछन् । अव्यवस्थित संरचना निर्माण, नदीको बहाव क्षेत्रमा हुने अतिक्रमण तथा ढल निकासको अभावका कारण पनि बाढीको प्रकोप बढ्दै गएको छ । बाढीका कारण नेपालका तराई र भित्री मधेशमा पर्ने २३ जिल्ला उच्च जोखिममा रहेको विपद् व्यवस्थापन प्राधिकरणको प्रतिवेदन छ ।

मधेशमा नेपाल-भारत सीमा क्षेत्रमा भारतले बनाएको तटबन्ध र अग्ला राजमार्गका कारण पनि डुबान हुने गरेको छ ।

विपद् व्यस्थापन प्राधिकरणका अनुसार भौगोलिक रुपमा मध्य पहाडी जिल्लाहरुमा भारी वर्षाको धेरै घटना र क्षति हुने गरेको छ । विगत ११ वर्षमा भारी वर्षाका कारण देशभर १९८४ घरमा क्षति पुगेको छ भने ५४७७ परिवार प्रभावित भएका छन् । ११८ जनाको मृत्यु र ५२ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको छ ।

  • २० लाख जनसंख्या प्रभावित हुनसक्ने अनुमान

विपद् जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलका अनुसार यस वर्ष विपद्बाट प्रभावित हुनसक्ने जनसंख्याको वैज्ञानिक विधिबाट विश्लेषण गरी अनुमान गरिएको छ । सन् २०१० देखि २०२० सम्मको तथ्यांकलाई आाधर बनाएर यस वर्ष विपद्बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको उनले बताए ।

‘प्रारम्भिकरुपमा १७ लाख जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको थियो, जिल्लागत र प्रदेशगत रुपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेका छौं’ उनले जन प्रहारलाई भने ।

प्राधिकरणको विवरण अनुसार प्रदेश १ मा मात्रै ५ लाख ७० हजार, मधेशमा ४ लाख ६५ हजार, बाग्मतीमा १ लाख ४६ हजार, गण्डकीमा १ लाख १९ हजार, लुम्बिनीमा ३ लाख ७९ हजार, कर्णालीमा ५ लाख ४९ हजार र सुदूपश्चिममा २ लाख ६३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

  • सहरमा पानीलाई छैन बाटो

ढलान र कंक्रिट पानी सोस्ने जमिन ढाकिएको छ । घरको शौचालयदेखि सडकमा पर्ने पानी ढलमा बग्नु पर्ने हो । तर बगेर आउने ठोस पदार्थ र लेदोले ढल प्रवाह रोक्ने, पाइपहरू जोडिएको ठाउँमा फुट्ने, छुट्ने समस्या छ । ढल निकासमा अवरोध भएकाले वर्षा हुने वित्तिकै काठमाडौंका सडकमा खहरे उर्लने गरेको छ।

काठमाडौं । बुधबार काठमाडौंको सिंहदरबारसँगैको न्यू प्लाजा क्षेत्रको सडक जलमग्न भयो । पैदलयात्रुले फुटपाथमा पनि खोला तरेजसरी हिँड्नुपर्‍यो ।

गत वर्षमात्रै पुरानो ढल प्रणाली हटाएर नयाँ हालिएको थियो । न्यू प्लाजामा क्षेत्रमा आएको ‘बाढी’ले ठूलो सरकारी लगानीमा बिछ्याइएको नयाँ ढल प्रणालीको कमजोरी देखाएको छ । अली ठूलो पानी पर्दा काठमाडौंका सडकमा भेल बग्नु नौलो हैन । पछिल्लो समय भने यसअघि खासै भेल नदेखिने क्षेत्रमा पनि वर्षा हुनासाथ खहरे बाढी बग्न थालेको छ । सडकमा नछोपिएका ‘म्यानहोल’ (मंगाल)हरुमा परेर मान्छे तथा सवारी दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ ।

काठमाडौंमा ढल निर्माण र मर्मतको जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हो । केयूकेएलले खानेपानीको बिलमा ५० प्रतिशत रकम थपेर ढल व्यवस्थापन शुल्क असुल्ने गरेको छ । तर, मुख्य वर्षायाम अघिनै सडकमा देखिएको जोखिम सुल्झाउन केयूकेएलसँग कुनै योजना छैन । ३–४ वटा जेटर मेसिनको भरमा शहरभरको ढल व्यवस्थापन गर्ने उसको तयारी बढ्दो समस्या अनुसार नगण्य हो ।

चार वर्षअघिको सरकारी अध्ययन अनुसार सुन्धारा, भोटाहिटी, जमल, नारायणगोपाल चोक, तीनकुने, कोटेश्वर, थापाथली, माइतीघर लगायतका ठाउँमा पानी पर्नासाथ सडकमा ढल बग्न थाल्ने समस्या धेरै छ । नक्साल, भगवतीबहाल, जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि ढलको समस्या छ । यसैगरी कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल र हात्तीसारको जयनेपाल हलनजिक पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको छ । गौशाला र पुतलीसडकमा गत वर्ष नयाँ ढल हाले पनि समस्या समाधान भएको देखिएन ।

आकाशे पानी ढल प्रणालीमा खसाल्न सडकमा बनाइने नाली र त्यसलाई खोलासम्म लैजाने ढल प्रणाली नै जाम हुने समस्या देखिएको छ । स्थानीय तह निर्वाचनपछि १४ जेठमा बसेको काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा अधिकांश वडाध्यक्षले यो बिषय उठाएका थिए । उपत्यकाको सबैजसो क्षेत्रमा घर बनेर खुला ठाउँ हराइसकेको छ । ढल व्यवस्थापनविज्ञ तिलक मोहन भण्डारी आकाशबाट परेको पानी अडिएर जमिनले सोस्ने अवस्था नै नरहेको बताउँछन् ।

‘घरै–घर, ढलान नै ढलान भएपछि आकाशबाट परेको पानी सबै सडकमा जम्मा हुन्छ’, उनी भन्छन्, ‘हाम्रो ढल प्रणालीले त्यति धेरै पानी एकैपटक लिनै सक्दैन । राजधानी सहरमा वर्षा हुँदा गाग्रीको पानी गिलासमा घोप्टाएजस्तो हुन थालेको छ ।’

त्यसमाथि आकाशेपानी ढलमा जाने ड्रेनेजका होलहरु पछिल्लो समय सडक स्तरोन्नति वा विस्तार गर्दा पुरिएका छन् । अहिले त सडकको फोहोर नउठेको पनि हप्तौं भइसक्यो । ‘ठुलो पानी परेपछि भलले सडकको फोहोर पनि ढलमा पुर्‍याएको छ,’ भण्डारी भन्छन्, ‘पानी पस्ने प्वालदेखि ढलसम्म प्लास्टिक नै प्लास्टिक भएपछि सडकमा खहरे बढ्ने नै भयो ।’

केयूकेएलका प्रवक्ता प्रकाश राई ड्रेनेज र ढल प्रणालीमा समस्या बढेको स्वीकार्छन् । उनका अनुसार, सडक बनाउँदा ठाउँअनुसार निश्चित दूरीमा ड्रेनेज होलहरु राख्नुपर्छ । ‘तर, सडक विभाग, महानगरपालिका, नगरपालिका लगायत निकायले सडक बनाउँदा बिना समन्वय आफूखुसी होल राखेका छन्’, उनले भने, ‘यसले गर्दा सबै पानी ढल प्रणालीमा जान नपाएर सडकमा बग्ने गरेको छ ।’

इन्जिनियर राईका अनुसार ढल प्रणाली नै जाम हुने अर्को समस्या छ । ढल प्रणालीका लागि प्लास्टिकजन्य पदार्थहरु ठूलो चुनौती बनेको उनी बताउँछन् । सहरमा जथाभावी फालिएका प्लाष्टिकका झोला, बोरा र वोतलहरु ढलमा जम्मा भएर थुनिने गरेको उनले बताए । ‘अरु बेला विस्तारै निकास पाइरहेको ढलमा सामान्य बाढीको समयमा प्लाष्टिकहरु गएर जाम हुन्छ’, उनी भन्छन्, ‘त्यो अवस्थामा ठुलो बर्साद हुनासाथ सडकहरु जलमग्न हुन्छन् ।’

काठमाडौंमा सडक, ठूला पूर्वाधार वा निजी घर बनाउँदा निर्माण सामग्रीहरु खुला नालामा राखिएका हुन्छन् । ती निर्माण सामग्रीका रहलपहल र फोहोर सबै ढलमै मिसिन्छन् । सहरबासीको आनीबानी पनि नकुहिने फोहोर सडक र अन्ततः ढलमै फाल्ने छ ।

बाढीमा बगेर आउने ठोस पदार्थ र लेदोले ढल प्रवाह रोक्ने, पाइपहरू जोडिएको ठाउँमा फुट्ने, छुट्ने समस्या रहेको केयूकेएलको भनाइ छ । त्यसरी ढल निकासमा अवरोध हुँदाको असर सडकदेखि घर–घरसम्म पर्ने गरेको छ ।

  • समस्यै–समस्या, छैन मर्मत तालिका

ढलको समस्या समाधान गर्न सरकार उदासीन छ । काठमाडौंमा फोहोर पानी प्रशोधन केन्द्र जोड्ने ढल प्रणाली बनाउने काम हुँदैछ । ढल प्रणाली सुधार्ने काम भने सरकारले भ्याएको छैन । पछिल्ला वर्षहरुमा यो समस्याबारे अध्ययन समेत भएको छैन । केयूकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले सन् २०१५ मा गरेको अध्ययनअनुसार काठमाडौंको १५ देखि २० प्रतिशत ढल प्रणाली फोहोर पानी निकास गर्न नै असमर्थ छ । तर, त्यसपछिका वर्षहरुमा त्यस्ता समस्याग्रस्त ढल मर्मत भएको छैन ।

२०१५ को अध्ययनमा काठमाडौं उपत्यकाको १६०० किलोमिटर ढल प्रणालीमध्ये १५ प्रतिशतभन्दा बढी ढल सञ्जाल साँघुरो पाइएको थियो । पीआईडीले करिब ९० हजारमध्ये ५६ हजार मंगालको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको थियो । काठमाडौंको एउटै ढल प्रणाली बर्सादको पानीलाई आधार बनाएर तयार भएको होइन । अरु बेला ढल बग्ने प्रणालीलाई बाढीको निकास  बनाइएको छ । ढल प्रणालीका कतिपय भाग साँगुरो (बोटलनेक) भएकाले पनि ठुलो वर्षा हुनासाथ सडकमा बाढी देखिने भण्डारी बताउँछन् ।

केयूकेएलका प्रवक्ता राई बढी समस्याग्रस्त क्षेत्रमा गुनासोको आधारमा ढलहरु मर्मत गर्ने गरिएको बताउँछन् । तालिका बनाएरै मर्मत गर्न केयूकेएलसँग पर्याप्त जनशक्ति र प्रविधि नभएको उनले बताए । उनका अनुसार अहिले केयूकेएलसँग ४० हजार मंगालसहित १४०० किलोमिटर ढल प्रणालीको आकारप्रकार र अवस्थाबारे अद्यावधिक तथ्यांक छ । बाँकी करिब ५० हजार मंगाल र त्यसको ढल प्रणालीको अवस्थाबारे कुनै निकायले एकीकृत तथ्यांक राखेका छैनन् ।

नयाँ बस्ती र टोलहरुमा बिछ्याइएका साना ढल सञ्जालको अवस्थाबारे अध्ययन हुन नसकेको प्रवक्ता राई बताउँछन् । ती ढललाई जथाभावी ढंगले मूल प्रणालीमा जोडिएका छन् । स्थानीयबासिन्दाले आफूखुशी बनाएर चलाएका यस्ता प्रणालीमा पटक–पटक समस्या देखिने गरेको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायत भित्री शहरमा राणाकालदेखिकै ढल प्रणाली कायम छ । यी क्षेत्रमा पटक–पटक ढल जाम भएर नागरिकले सास्ती भोग्दै आएका छन् । त्यो प्रणालीले अहिलेको आवश्यकता धान्ने अवस्था छैन ।

अहिले त भित्री शहरका गल्ली र सडकमा पुराना इँटा निकालेर पिच गरिएका छन् । कतिपय ठाउँमा कंक्रिटले जोडेर ढुंगा बिछ्याइएका छन् । यसले सहरको मौलिकता त मास्यो, मास्यो, जल पुनर्भरण पनि ठप्प पारेको छ । यो अवस्थाले पानी पर्दा सडकमा भल बग्ने समस्या बढाएको छ ।

  • योजनाबद्ध कामको खाँचो

पुरानो मात्रै हैन, नयाँ बनेका र बन्दै गरेका ढल प्रणालीलाई व्यवस्थित बनाउन कुनै निकायले चासो दिएको छैन । पुराना प्रणालीको क्षमता विस्तार गर्ने योजना त अहिलेसम्म बनेकै छैन ।

२०७७ चैतमा मेलम्चीको पानी काठमाडौं आएपछि धेरै ठाउँमा ढल फुटेका थिए । शहरको ढल प्रणालीले पानीको ठूलो चाप थेग्न नसक्ने त्यतिबेलै देखिएको थियो । तर, सरकारले त्यसमा सुधारको चासो दिएन ।

ढलको समस्या बढ्नुमा नदी सतह पनि कारण बनेका छन् । काठमाडौंका नदीहरुमा ढलका पाइपहरु सिधै जोडिएका छन् । नदीमा पानीको सतह बढ्नासाथ ढल खस्ने मुखमा पर्ने चापले पनि समस्या हुने गरेको केयूकेएलका प्रवक्ता राई बताउँछन् ।

काठमाडौंमा पानी परेपछि होचा स्थानमा ढलको समस्या बढी देखिन्छ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल जमेर डुबानकै समस्या पनि निम्तिने गरेको छ । नदीको सतहभन्दा होचा स्थानमा रहेका बस्तीमा हुनसक्ने जोखिमलाई न्यून गर्न अध्ययन गरेर काम थाल्नुपर्ने भए पनि कसैले चासो दिएको छैन ।

‘उपत्यकाको धेरैजसो ढल प्रणाली विना इन्जिनियरिङ काम चलाउन खोलातर्फ सोझ्याएर बिछ्याइएका हुन्’, पूर्वाधारविज्ञ सूर्यराज आचार्य भन्छन्, ‘यसकारण कतिपय ठाउँमा ढलहरू बोटलनेक भएका छन् । त्यस्तोमा बढी थपिंदा समस्या हुन्छ नै । अध्ययनमा आधारित योजनाबद्ध ‘युटिलिटी करिडोर’ नबनेसम्म ढलसम्बन्धी समस्या बढ्दै जान्छ ।’

समयमै ढल प्रणालीको वैज्ञानिक व्यवस्थापन नगरिए विकराल अवस्था आउने उनी बताउँछन् । ‘भूमिगत ढललाई विना रोकावट प्रशोधन केन्द्रसम्म नपुर्‍याए सामाजिक र वातावरणीय हिसाबले अनेकन् चुनौती थपिन्छन्’ उनी भन्छन्, ‘ढल व्यवस्थापनको पुरानो कार्यशैली नै समस्या हो ।’

ढल व्यवस्थापनविज्ञ भण्डारी पानीको बाटो रोकिंदा सडकदेखि घरीसम्म बाढी पसिरहेको बताउँछन् । ‘पानीको बाटोमा हामीले अनेक गल्ती–कमजोरी गरेर अवरोध गरेका छौं,’ उनी भन्छन्, ‘बाटो रोकिए पानी कि जमेर बस्छ कि त आफै बाटो खोल्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४