© जन प्रहार
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्क्याउनेलाई भाेट नदिन आग्रह गरेका छन् । आइतबार यहाँ आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘तपाईंहरू आफैँलाई थाहा छ,’ उनले भने, ‘धम्क्याउनेलाई भाेट नदिनुस्, तर्साउनेलाई भाेट नदिनुस् । एउटा नेताले केहीअगाडि भनेकाे सुनेँ; रेनुलाई नजिताए देश दुर्घटनामा जान्छ भनेर । दुर्घटना सुर्घटनामा केही जाँदैन । घटनाचाहिँ हुन्छ, के हुन्छ भने गठबन्धन नमज्जाले हार्छ ।
ओलीले प्रचण्डकाे धम्क्याउने बानी अझै नगएकाे बताए । ‘धम्क्याएर खानेहरूकाे बानी अझै सुध्रिएन,’ ओलीकाे टिप्पणी थियाे, ‘हिजाे पनि धम्क्याएरै खाएकाे हाे । आज पनि धम्क्याउने काम नै गर्नुहुन्छ । हाेइन धम्क्याउने बानी कहिले जाने हाे ?
यस्तै उनले नेपाली कांग्रेसका नेताले प्रधानमन्त्री पदका लागि पार्टी सकाएकाे बताएका छन् । सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै भने, ‘कार्यकर्ताहरूले के हेरिरहनुभएकाे छ ? तपाईंका नेताले प्रधानमन्त्रीपदका लागि कांग्रेस सकाइरहनुभएकाे छ । खै कांग्रेसका कार्यकर्ताहरूले कहाँ पिर बिसाउने ?
उनले गठबन्धनले आफ्नाहरूलाई मात्रै पाेस्याइरहेकाे बताएका हुन् । गठबन्धनले केही गरेकाे छैन । उसले गरेकाे भनेकाे आफ्नाहरूलाई पाेस्याउने काम हाे ।
“आमनिर्वाचनपछिकाे सरकार एमालेकाे हुन्छ”
उनले आमनिर्वाचनपछि एमालेकाे नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । ‘तपाईंहरूलाई थाहा छ,’ उनले भनेका छन्, ‘अब आउने आमनिर्वाचनपछि एमालेकाे नेतृत्वमा सरकार बन्छ । त्यसका लागि अहिल्यैबाट त्याे अभियानमा लाग्नुपर्छ । गठबन्धनकाे खुट्टा टेकेर हिँड्ने हैसियतमा बनाउनुहुन्न । उसकाे खुट्टा लुलाे बनाउनुपर्छ ।
उनले वैशाख ३० गते पनि एमालेले धेरै सङ्ख्याका पालिकाहरूमा जित हासिल गर्ने बताएका छन् । उनले निष्फिक्री भएर सूर्यमा भाेट हाल्न आह्वान पनि गरेका छन् । ‘माओवादीले कहिलेकाहीँ उपद्रव पनि गर्छ उसले धम्क्याउँदैन मात्रै,’ उनले भने,’यसकाे हामीले प्रतिरक्षा गर्नुपर्छ ।
