Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव आयो, सुरु भयो दलबदल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 7.9K
    SHARES

वीरगञ्जका मेयर विजय सरावगी एमाले प्रवेश गर्दै (बाँया) र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गर्दै ।

© नेत्र बहादुर कार्की

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । व्यवसायी समेत रहेका सरावगी २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा ६ महिनाअघि वीरगञ्जको मेयरको टिकट पाउने गरी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । ३० वैशाखको चुनावमा एमालेले मेयरको टिकट दिने भएपछि त्यही पार्टी प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेस प्रवेश गर्न चाहेका थिए । तर मेयरको टिकट दिनुपर्ने भएका कारण नेताहरुले चासो दिएनन्, त्यसैले सरावगी एमाले पुगे ।

सरावगी मात्र होइन, निर्वाचन नजिकिँदै गर्दा स्थानीय जनप्रतिनिधिहरुको दलबदल सुरु भएको छ । आफ्नो पार्टीले टिकट नदिने वा दिएपछि फेरि जित्ने सम्भावना कमजोर देखेका कारण जनप्रतिनिधिहरुले अर्को दलमा जान थालेका हुन् । पछिल्लो समयमा मात्र ११ स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पार्टी परिवर्तन गरेका छन् । शनिबार नै बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधि एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित अन्सारीलाई एमाले अध्यक्ष ओलीले नै स्वागत गरे । उनीसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्ष एमाले प्रवेश गरेका हुन् ।

पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार भने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली जनता दलबाट निर्वाचित रौनियारलाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ गत पुसमा एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित उनी समर्थकसहित एमाले प्रवेश गरेका हुन् । रुपन्देहीको ४ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले हालै पार्टी परिवर्तन गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर तथा रोहिणी, ओमसतिया सम्मरीमाई गाउँपालिका अध्यक्षले आफू आबद्ध पार्टी परित्याग गरी अर्को दलमा आबद्ध भएका छन् ।

३ फागुनमा रूपन्देहीको रोहीणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरे । अघिल्लो चुनावमा यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । केवटसँगै माओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरेकी छन् । स्वतन्त्र रुपमा चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी जसपामा प्रवेश गरेका छन् । जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल भने एमाले हुँदै माओवादी केन्द्रमा पुगेका छन् । उनी प्रदेशसभाका चुनावको बेला एमालेमा प्रवेश गरेका थिए ।

यस्तै मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल बुधबार मात्र एमाले प्रवेश गरेका छन् । उनीहरुसँगै वडा १, ५ र ७ बाट निर्वाचित वडाध्यक्षलाई एमाले अध्यक्ष ओलीले नै पार्टी प्रवेश गराए । यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री मंगलबार मात्र नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  एमालेबाट दलबलसहित पार्टी प्रवेश गरेका क्षेत्रीलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएका थिए । शुक्रबार नै कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • नैतिकता नहुँदा सामान्य कुरा हो : विश्लेषक

राजनीतिक विश्लेषक कृष्ण खनाल चुनावको बेला दलबदल हुनु नौलो कुरा नभएको बताउँछन् । राजनीतिक दलका शीर्ष नेताहरुले नैतिकता देखाउन छोडेका बेला सत्ताको लोभले पार्टी छोड्नु प्रवेश गर्नु नौलो कुरा नभएको बताउँछन् । अर्का राजनीतिक विश्लेषक हरि रोका पनि दलका नेता कार्यकर्ताले सिद्धान्त र नीतिभन्दा व्यक्तिगत स्वार्थ हेर्न थालेको बताउँछन् ।

‘जब पोलिटिकल आइडोलिजी सकिँदै जान्छ, नेताहरुले आफ्नो स्वार्थ मात्रै हेर्छन् । उनीहरुलाई पार्टीको विचार, सिद्धान्तले केही फरक पार्दैन,’ रोका भन्छन्, ‘हाम्रो जस्तो देशमा आफ्नो दल छवि बिग्रँदै गएपछि वा आफूले गरेको काम जनताले रुचाउन छोडेपछि चुनावको मुखमा पार्टी फेरिनु सामान्य जस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४