Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमला खत्री वली : राजनीतिमा महिला हिंसाको एक दृष्टान्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २४ २०७८
  • 13.9K
    SHARES

अनाहकमा गरिने फगत टिप्पणीभन्दा निकै माथि उठेकी छिन्, विमला । भनिन्, ‘हेर्नुहोस् त भाइ, सांसदले त यतिसम्म भोग्नुपर्ने रहेछ, आम महिलाको झन् अवस्था के होला ?’

© नमुना दहाल कार्की  

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फुटपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा पर्‍यो । त्यहीबेला सांसद विमला वली कहिले एमाले प्रवेश गरेको त कहिले माओवादीमै फर्किएको विषयले निकै चर्चा पायो । लुम्बिनी प्रदेश सभाका सदस्य रहेका उनका श्रीमान् उत्तरकुमार वलीको २०७५ सालमा दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपचुनाव लडेर सांसद बनेकी विमला वलीलाई सत्ता जोगाउने स्वार्थको खेलमा प्रयोग मात्र गरिएन, सत्ता स्वार्थ अनुकूल शारीरिक बन्धक बनाउनेदेखि चरित्र हत्या गर्नेसम्मका प्रयास भए । गृहिणी जीवनबाट सीधै राजनीतिमा आएकी विमलाले जे भोगिन्, त्यसले राजनीतिक स्वार्थका लागि महिलाको प्रयोग कसरी भइरहेको भन्ने उदाहरण पनि हो ।

उनका श्रीमान् उत्तरकुमार वली पश्चिम दाङ एमालेको बलियो खम्बा थिए । उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ बाट विजयी भए । २०७५ फागुन १० गते दाङमै सवारी दुर्घटनामा उनको निधन भयो । उनी भने श्रीमान्को मृत्युपछि शोकमा थिइन् । उत्तरको निधन भएको करिब नौ महिनापछि २०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङबाट सहानुभूतिका लागि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विमला वलीलाई नै उम्मेदवार बनायो । त्यसअघि उनी राजनीतिबाट निकै पर थिइन्, राजनीतिक तिकडमको दुनियाँ थाहै थिएन ।

‘म राजनीति नबुझेकी मान्छेलाई एकाएक ल्याइयो । श्रीमान्को सपना पूरा गर्छु भनेर त्यसबेला उम्मेदवार हुने साहस गरेकी थिएँ’ उनले भनिन्, ‘उहाँले पार्टीलाई गर्नुभएको योगदान स्मरण गरें, जनताले गरेको विश्वासलाई सम्झें । सबै कुराले मलाई आत्मबल बलियो बनाएर उम्मेदवार बन्न प्रेरित गर्‍यो । म चुनावी मैदानमा होमिएँ । चुनाव जितें ।

  • सत्ता जोगाउन प्रयोग

लगत्तै नेकपामा खटपट सुरु भयो, अन्ततः विभाजित पनि भयो । पार्टी विभाजनको असर प्रदेशमा पनि पर्‍यो । लुम्बिनी प्रदेशको एमाले सरकार विरुद्ध पाँच दलीय गठबन्धनले वैशाखमा संसदमा अविश्वासको प्रस्ताव पेश गरे । अल्पमतमा परे पनि मुख्यमन्त्री पोख्रेल भने आफ्नो दलको स्पष्ट बहुमत रहेको भन्दै एकल सरकार घोषणा गर्ने तयारी गरिरहेका थिए । त्यही बेला सांसद विमला सम्पर्कविहीन भइन् । सम्पर्कविहीन बनेको केही समयपछि उनले आफू माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरी जानकारी दिइन् । पोखरेलकै गृह जिल्लाकी विमला खत्री वलीले पनि माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा शंकर पोख्रेलको एमालेको सरकार अल्पमतमा पर्‍यो ।

आफ्नो सरकार संकटमा परेपछि पोख्रेल सत्ता जोगाउने चलखेलमा लागे । एउटै जिल्ला भएकाले पोख्रेल उनलाई आफ्नो पक्षमा ल्याएर मुख्यमन्त्रीको सिट जोगाउन चाहन्थे । त्यसपछि उनलाई पार्टीमा फर्किन पटक–पटक दबाव सुरु भयो ।

‘माओवादी रोजेको घोषणा गरेपछि ममाथि दबाव दिन थालियो’ उनले भनिन्, ‘एमालेमा फर्किए मन्त्री पाउने प्रलोभन देखाइयो । नफर्किए राजनीतिक भविष्य सकिने भनियो । मैले खुसीले माओवादी रोजेकाले आफ्नो अडान छाडिनँ ।’ त्यसपछि उनलाई एमालेमै फर्कन भनेर एकोहोरो दबाव दिन थालियो । उनकै घर तुलसीपुरमा पुगेर समेत एमालेका नेताहरूले पार्टीमै फर्कन भनेर पटक–पटक दबाव दिइरहे । ‘प्रलोभन र धम्कीसहितको फोन र घरमै आएर टर्चर दिन सुरु भयो’ उनले भनिन्, ‘कोभिड संक्रमित भएर घरमा आराम गरिरहेको बेला समेत दबाव दिने, मानसिक तनाव दिने काम भयो ।’ मन्त्री बनाउने प्रलोभनदेखि राजनीतिक भविष्य समेत अप्ठ्यारोमा पर्ने भन्दै चेतावनी दिए ।

  • मुख्यमन्त्री निवासमै ‘बन्धक’

साउनको १५ गतेपछि विमला तुलसीपुरको आफ्नो घरबाट एकाएक सम्पर्कविहीन भइन् । त्यसदिन नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित उनको घरमा पुगेर पार्टीमा फर्किन दबाव दिएका थिए । तर उनले इन्कार गरिन् । उनी आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले आफू पनि उतै जान लागेको बताउँदै सँगै हिंडे । तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडियो । ‘म उपचारको लागि हिंडेकी थिएँ’ उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरूले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्‍याइयो ।’

मुख्यमन्त्री निवासमा पुर्‍याइएपछि उनलाई बाहिर निस्कनै नदिई पार्टीमै फर्किन अनेक दबाव दिइरह्यो । ‘त्यहाँ मलाई बन्धक जस्तै बनाएर राखियो’ उनले भनिन्, ‘एक्लै नछाड्ने, जहाँ जाँदा पनि एकजना पछाडि मान्छे खटाइएको हुन्थ्यो । शौचालय जाँदा पनि एक्लै जान नदिने ।’ स्वयं पोख्रेलले उनलाई पार्टीमै फर्किन दबाव दिए । ‘म माओवादीमै रहेकाले, एमालेमा नआउने अडान राखें’ उनले भनिन्, ‘मन्त्री बनाउनेसम्म प्रलोभन दिइयो तर मैले कसैगरी पनि आउँदिन भनें ।’

गाउँ समाजमा मात्रै हैन, राजनीतिमा स्वार्थ अनुकूल महिलालाई कसरी प्रयोग गर्न खोजिन्छ भन्ने पछिल्लो उदाहरण हुन्, विमला ।

केही सीप नचलेपछि उनलाई एउटा पत्रमा हस्ताक्षर गर्न लगाइयो । ‘त्यसमा के लेखिएको भनेर पढ्न दिइएन’ उनले भनिन्, ‘पार्टीकै हितको लागि हो भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाइयो ।’ त्यसको केहीबेरपछि उनी एमालेमै फर्किएको भन्ने विज्ञप्ति जारी गर्दै सार्वजनिक गरियो । माओवादी केन्द्र रोजेकी सांसद विमला एमालेमै फर्किन् भने समाचार आए । ‘त्यो सबै दबावमा र झुक्याएर हस्ताक्षर गर्न लगाइएको थियो’ उनले भनिन्, ‘उहाँहरूले आफ्नो सत्ता जोगाउन मेरो सोझोपनको प्रयोग गर्नुभयो । पार्टीमा बस्दिनँ भन्दा पनि झुक्याएर पार्टीमा फर्किएको भनेर जबरजस्ती प्रचार गरेर बदनाम गराउनुभयो ।’

साउन १५ देखि १९ गतेसम्म उनलाई कडाइका साथ मुख्यमन्त्री निवासभित्रै राखियो । त्यसबीच उनलाई नेता र स्वयं तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले पार्टीमै फर्किन दबाव दिए । शनिबारको मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर उनी माओवादी केन्द्रको संसदीय दलमा पुगिन् । ‘आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयकै चप्पल लगाएर भागें’ उनले भनिन्, ‘म राजनीतिमा आउँदा के सोचेर आएकी थिएँ, तर यस्तो पनि दिन आउने रहेछ भनेर त्यो दिन खूब रोएँ ।’ सांसद भएर पनि उनले त्यो समय आफूलाई साह्रै असहाय र निरीह ठानिन् ।

मुख्यमन्त्री निवासबाट भागेर माओवादीको सम्पर्कमा पुगेको अर्को दिन उनले पत्रकार सम्मेलन गरिन् । पत्रकार सम्मेलनमा आफूलाई जबर्जस्ती पार्टीमा रहेको भन्दै प्रचार गरिएको बताइन् । उनले खुसीले माओवादी केन्द्र रोजेको भन्दै आफू माओवादीमै रहेको बताइन् । त्यसपछि उनी पुनः माओवादीमै फर्किएको समाचार आए । कहिले एमाले त कहिले माओवादीमा फर्किएको भन्दै उनीमाथि चर्को टीकाटिप्पणी सुरु भयो । तर उनले त्यसो गरेकी थिइनन् । ‘महिला भएकाले सजिलै आफ्नो अनुकूल प्रयोग गर्न खोज्दा मलाई बदनाम गर्ने काम भयो’ उनले भनिन्, ‘सुरुदेखि नै माओवादीमै थिएँ तर जबर्जस्ती पार्टी फेर्दै हिंडेको भनेर बदनाम गर्ने प्रयास भए ।’

उनलाई एमालेमा ल्याउन नसकेपछि बहुमत पुर्याउने पोख्रेलको प्रयास असफल भयो र उनले मुख्यमन्त्री पदबाट साउन २७ गते राजीनामा दिए । एमाले समर्थकले भने पोख्रेलको पद जानुको कारण उनलाई नै दोषी देखाउँदै आलोचना गरिरहे । सत्ता फेर्ने चलखेलमा अनाहक विवादमा तानिएकी सांसद विमलाको दुःख यतिमै सकिएन । त्यसपछि उनलाई थप विवादमा तान्ने काम गरियो, उनको ‘चरित्र’ माथि प्रहार हुन थाल्यो ।

‘माओवादी केन्द्र रोजेपछि ममाथि पटक–पटक आक्रमण गर्ने प्रयत्न भयो’ उनले भनिन्, ‘मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुष्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजियो ।’ कहिले एमाले त कहिले माओवादीमा प्रवेश गरेको घटना सेलाउन नपाउँदै उनी थप तनावपूर्ण स्थितिमा पुगिन् । ‘यी सबै घटनाले म डिप्रेसनको सिकार भएँ’ उनी भन्छिन्, ‘चार महिना पूरा तनावपूर्ण रहे ।’ त्यो बेला आफूमाथि भएको घटना सम्झेर अहिले पनि उनी भावुक हुन्छिन् । ‘चार महिना निकै तनावग्रस्त रहें’ उनले भनिन्, ‘राजनीतिमा यतिसम्म डरलाग्दो खेल हुन्छ भनेर सोचेकी थिइनँ ।’ त्यसमाथि उनी सांसद मात्र नभएर आमा पनि थिइन् । ‘दुईवटा साना छोरा घरमा थिए’ उनले भनिन्, ‘आफैं त्यस्तो घटनामा गुज्रिरहेकी थिएँ । त्यसमाथि सन्तानसँग भेट्न पाएकी थिइनँ । साना छोराहरू सम्झेर हरेक पल मन भत्भती पोल्थ्यो ।’

अहिले ती घटना सम्झँदा उनको मन चिसो हुन्छ । राजनीतिमा कसरी आफ्नो स्वार्थ अनुकूल महिलालाई प्रयोग गर्न खोजिन्छ भन्ने घटना उनले स्वयं भोगिन् ।
अहिले उनी लुम्बिनी प्रदेशकी राज्यमन्त्री छिन् । ‘ती सबै घटनाले म जति कमजोर भएँ, त्यति नै बलियो पनि भएँ’ उनी भन्छिन्, ‘त्यति ठूलो तनावपूर्ण अवस्थाबाट गुज्रिएर आफूलाई उभ्याउन सकेकोमा खुसी पनि छु । राजनीतिमा कतिसम्म स्वार्थको खेल हुनेरहेछ भन्ने कुरा पनि देख्ने र भोग्ने मौका पाएँ ।

उनले अब राजनीतिमा झन् बढी सक्रिय भएर लाग्ने सुनाइन् । ‘सांसदबाट मन्त्री भइयो, अब फर्कने कुरा छैन’ उनले भनिन्, ‘जनताको माया पाएकी छु, अझै अगाडि बढेर देखाउँछु । जनताको हितमा काम गर्छु । अनाहकमा गरिने फगत टिप्पणीभन्दा निकै माथि उठेकी छिन्, विमला । भनिन्, ‘हेर्नुहोस् त भाइ, सांसदले त यतिसम्म भोग्नुपर्ने रहेछ, आम महिलाको झन् अवस्था के होला ?

  • संसदमा महिला : संख्या बढ्यो बढेन भूमिका

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४