Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्र बैंकको नोकरीमा किन हुन्छ आकर्षण ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 7.5K
    SHARES

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो ।

काठमाडौं । २०७६ असार २ गते प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिए । नेपाल राष्ट्र बैंकको निर्देशक पदमा बहाल रहेकै बेला तत्कालीन मूख्यमन्त्री शंकर पोखरेलले श्रेष्ठलाई आयोगको उपाध्यक्ष बनाएका थिए ।

६ चैत २०७४ मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा उनलाई नियुक्ति गरेको थियो । प्रदेश योजना आयोगको उपाध्यक्ष प्रदेशको राज्यमन्त्री सरह हुन्छन् । श्रेष्ठले एक्कासी पदबाट राजीनामा दिनुको कारण भने राष्ट्र बैंकमा भएको बढुवा थियो । राष्ट्र बैंकको निर्देशक रहेका बेला प्रदेश योजना आयोगका उपाध्यक्ष बनेका उनले कार्यकारी निर्देशकमा पदमा बढुवा भएपछि आयोगबाट राजीनामा दिए ।

राष्ट्र बैंकमा १६ जना कार्यकारी निर्देशकहरु हुन्छन् । कार्यकारी निर्देशकभन्दा माथि २ जना डेपुटी गभर्नर, एक गभर्नर र त्यसभन्दा माथि सञ्चालक समिति हुन्छ । प्रदेशको राज्यमन्त्री सरहको पद त्याग्दै श्रेष्ठ बैंकको एउटा विभागीय प्रमुखको जिम्मेवारी लिने गरी राष्ट्र बैंकमा फर्किए ।

प्रदेश योजना आयोग किन छाडे त उनले ? उनको सामान्य उत्तर छ, ‘उता अस्थायी थियो, यता स्थायी, अस्थायी छाडेर स्थायीमा आउनु स्वभाविकै हो ।’

अहिले केन्द्रीय बैंकको अनुसन्धान विभागमा कार्यरत श्रेष्ठ आर्थिक अनुसन्धानमा दखल भएका राष्ट्र बैंकका क्याडर हुन् । राष्ट्र बैंकको जागिर यसै पनि आकर्षक मानिन्छ । आफ्नो क्षमता देखाउन पनि राष्ट्र बैंक फर्किएको उनी सुनाउँछन् ।

श्रेष्ठले करिअरको सुरुवात भने नेपाल टेलिकमको अधिकृतबाट सुरु गरेका थिए । टेलिकममा करिब चार वर्ष बिताएर उनी केन्द्रीय बैंकको सहायक निर्देशकमा नाम निकालेर बैंकिङ सेवामा आएका थिए । टेलिकमको जागिर पनि आकर्षक मानिन्छ, त्यो भन्दा बढी आकर्षक राष्ट्र बैंक मानिन्छ ।

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो । सेवासुविधा मात्र नभई यो कारण पनि राष्ट्र बैंकको जागिर बढी आकर्षक छ ।

मानवशास्त्री डा. डम्बर चेम्जोङ आफन्तहरुलाई जागिरको सुझाव दिनुपर्दा राष्ट्र बैंक पस भन्ने गरेको बताउँछन् । ‘निजामति जागिर खाने हो भने परराष्ट्र सेवा र वित्तीय क्षेत्र भए राष्ट्र बैंकमा जागिर खान मेरो सुझाव छ’, उनी भन्छन् ।

मुलुकको आर्थिक योजनाहरु बनाउने, बजार अध्ययन गर्ने, पैसा छाप्ने लगायत काम राष्ट्र बैंकको जिम्मामा छ । यसले पनि राष्ट्र बैंकको जगिर आकर्षक बनेको हो ।

कति हुन्छ तलब ?

राष्ट्र बैंकको सबभन्दा उपल्लो पद गभर्नर हो । गभर्नरभन्दा माथिको निकाय सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुन्छन् । सरकारी वरियताक्रममा गभर्नर मुख्य सचिव सरह हुन्छन् ।

हालका गभर्नर महाप्रसाद अधिकारीको वार्षिक तलब १३ लाख ९४ हजार ४०० रुपैयाँ र भत्ता ३२ लाख ६२ हजार ४०० रहेको राष्ट्र बैंकको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । उता वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको वार्षिक तलब प्रति १२ लाख १५ हजार र भत्ता २३ लाख ६३ हजार ७२४ रुपैयाँ अन्य भत्ता र सुविधा गरी कुल वार्षिक ३६ लाख ५८ हजार ७ सय २४ रुपैयाँ राष्ट्र बैंकबाट बुझेकी छन् ।

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो ।

डेपुटी गभर्नर बमबहादुर मिश्रको वार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ छ । उनले अन्य भत्ता र सूविधा बापत राष्ट्र बैंकबाट २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझ्ने गरेका छन् । उनले वार्षिक ३४ लाख ७९ हजार ८४१ रुपैयाँ लिने गरेका छन् ।

राष्ट्र बैंकको तल्लो तहका कर्मचारीको तलबभक्ता पनि निजामति सेवाको भन्दा आकर्षक छ । राष्ट्र बैंकले नियमन गर्ने बैंकहरुमा कार्यरत कर्मचारीहरुको तलब राष्ट्र बैंकको भन्दा बढी छ । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राष्ट्र बैंकका गभर्नरको वार्षिक आयभन्दा बढी रकम एकै महिनामा बुझ्छन् । गत वर्ष एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र प्रभु बैंकका सीईओ अशोक शेरचन तलबभत्ता वापत ३ करोड ५० लाख भन्दा बढी बुझेका थिए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ केन्द्रीय बैंकको जागिर विश्वभर नै राम्रो मानिने बताउँछन् । उनका अनुसार, यसको मुख्य कारण आम्दानी र वृत्ति विकास हो । केन्द्रीय बैंकका कर्मचारीमा निजामतिको जस्तो ‘पावर’ पनि हुँदैन र जागिर पनि योग्यताको खाने हो’, उनी भन्छन्, ‘र पनि, आम्दानी र वृत्ति विकासको हिसाबले केन्द्रीय बैंकको जागिरलाई विश्वभर नै आकर्षक मानिन्छ ।’

निजामति सेवाको शाखा अधिकृत बन्न स्नातक तह भए पुग्छ, तर केन्द्रीय बैंकको त्यही तहमा प्रवेशको लागि स्नात्तकोत्तर हुनैपर्छ । ‘निजामतिमा विशिष्ठ श्रेणीको कर्मचारी मन्त्रालयको सचिवका रुपमा बोर्डमै हुनुहुन्छ तर यहाँ हामी विशिष्ठ श्रेणी विभागीय प्रमुखको रुपमामात्रै हुन्छौँ’, डा. श्रेष्ठले भने ।

अवकास पछि ‘सेकेन्ड करिअर’

राष्ट्र बैंकबाट अवकास पाएका धेरै कर्मचारी दोस्रो जागिर सुरु गरेर माथिल्लो तहमा पुगेका छन् । राष्ट्र बैंकबाट रिटायर्ड भएका गभर्नर डा. युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री, सञ्चारमन्त्री हुँदै अमेरिकाका लागि नेपाली राजदूतसम्म बने । अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि राष्ट्रय योजना आयोगको उपाध्यक्ष बने ।

राष्ट्र बैंकबाट रिटायर्ड भएपछि बैंक तथा वित्तीय क्षेत्रको नेतृत्वमा पुग्ने पनि धेरै छन् । राष्ट्र बैंकका पूर्व कर्मचारी रत्नराज बज्राचार्य ग्लोबल आईएमई बैंकका सीईओ छन् । त्यस्तै, गणेशकुमार श्रेष्ठ सेञ्चुरी कमर्सियल बैंक, राजनसिंह भण्डारी सिटिजन्स बैंक र ज्ञानेन्द्र ढुंगाना नेपाल बंगलादेश बैंकका सीईओ छन् ।

अवकास हुनेवित्तिकै सरकारी वा निजी क्षेत्र जता भए पनि अवसर पाइहाल्ने भएकाले पनि राष्ट्र बैंकको जागीरमा धेरै आकर्षण छ ।

आकर्षणका चार ‘फ्याक्टर’

‘सेलिब्रेटी बैंकर’ मनोज ज्ञवाली पनि करिब ५ वर्ष राष्ट्र बैंकमा बिताएर ज्योति विकास बैंकको सीईओ हुन पुगे । हाल नविल बैंकको डेपुटी सीईओ रहेका उनी आफू क्षमता देखाउन राष्ट्र बैंकबाट चाँडै बाहिरिएको बताउँछन् ।

उनको बुझाइमा राष्ट्र बैंक सरकारी सेवा मध्येकै सबभन्दा आकर्षक क्षेत्र हो । राष्ट्र बैंकको जागिर आकर्षक हुनुको पाँच फ्याक्टर छन्– तलब, वृति विकास, एक्सपोजर, अवकास नीति र पावर एक्सरसाइज ।

‘राष्ट्र बैंकमा जागिर खाँदाखाँदै अन्तर्राष्ट्रिय विश्व विद्यालयमा पढ्न, पीएचडी गर्न, अन्तर्राष्ट्रिय एक्सपोजर पाइन्छ । कर्जा सुविधा पनि धेरै छ’, ज्ञवाली भन्छन्, ‘त्यस्तै, राष्ट्र बैंकको अवकास नीति पनि पनि राम्रो छ । कर्मचारी कल्याण कोष र पेन्सन सुविधा निकै राम्रो छ ।’

नियामक निकाय भएकाले राष्ट्र बैंकमा काम गर्नेहरुको मानमर्यादा र आत्मासन्तुष्टि पनि राम्रो हुने उनले सुनाए । बैंकहरुलाई नियमन तथा सुपरीवेक्षण गर्ने भएकाले ‘पावर एक्सरसाइज’ पनि गर्न पाइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४