काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई नदीजन्य पदार्थको उत्खननको मापदण्डको विषयमा परिपत्र गरेको छ ।
मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा सूचनापाटी राख्न सर्वोच्चले दिएको आदेश पालना गर्न परिपत्र गरेको हो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७ को विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालिन आदेश पालना गर्ने मन्त्रालयले शुक्रबार परिपत्र गरेको मन्त्रालयको शाखा अधिकृत कृष्णप्रसाद हुमागाईले जन प्रहार डटकमलाई जानकारी दिए ।
अधिकृत हुमागाईका अनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७मा नदीजन्य पदार्थको संकलन, उत्खनन, वा ढुवानीकर्ताले संकलन वा उत्खनन गर्ने लम्बाई चौडाई तथा गहिराईसम्मको चारकिल्ला, उत्खनन गर्ने समय र अवधी,प्रयोग गरिने साधन, गुनासो सुन्ने नाम, पद र सम्पर्क नम्बरलगायत विवरण खुल्ने सूचनापाटी उत्खनन वा संकलन गर्ने स्थानमा राखिनुपर्ने छ ।