सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई मगंलबारदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो । निजामति अस्पतालका निर्देशक डा. अनुज रायमाझीले बुस्टर डोज खोप लगाउन आएका जेष्ठ नागरिक फर्किरहेको बताउँछन् ।
‘हामीले ठाउँ मात्रै उपलब्ध गराउने हो । स्वास्थ्य कार्यलयबाट खोप ल्याएर दिनुहुन्छ,’ डा. रायमाझीले भने, ‘बुस्टर डोज खोप लगाउन आएका जेष्ठ नागरिक तथा दीर्घरोगी फर्किरहेका छन् ।’ स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्ले मन्त्रालयबाट ढिलो परिपत्र भएका कारण आजैदेखि बुस्टर डोज खोप सञ्चालन गर्न नसकिएको बताए ।
‘हामीलाई आज बिहान मात्रै मन्त्रालयबाट अतिरिक्त खोप दिने परिपत्र पायौं,’ काफ्ले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘ काठमाडौं, ललितपुर तथा भक्तपुरमा भोलि (बुधबार)देखि बुस्टर डोज खोप लगाउने सल्लाह भएको छ ।
मन्त्रालयका अधिकारीहरु भने समवन्यको अभावमा यस्तो समस्या भएको बताउँछन् । ‘आजबाट सञ्चालन गर्ने भएको भए केही दिन अगाडि नै मन्त्रालयले तल रहेका निकायलाई परिपत्र गर्नुपर्थ्यो । तर, बिहान परिपत्र गरेर कसरी सञ्चालन गर्न सकिन्छ’ ती अधिकारी भन्छन् ।
मंगलबार दिउँसो खोप समवन्य तथा अनुगनम समितिको बैठकको निर्णय पछि मात्रै खोप केन्द्रहरुलाई बुधबार अतिरिक्त खोप दिन निर्देशन दिइने काफ्ले जानकारी दिए।
तर, विभाग अन्तर्गतका परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहाल सबै निकायमा परिपत्र भएको जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा बुस्टर डोज खोप शुरु नभएको जानकारी पाएको छु । त्यस बिषयमा फ्लोअप हुन्छ’ दाहाल भने । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले बुस्टर डोज खोप लगाउन पाउने छन् ।
मन्त्रालयका अनुसार बुस्टर डोज खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।
