उनले संविधान अनुसार वागमती प्रदेशमा २२ जनासम्म मन्त्रीहरु बनाउन सकिने भएता पनि अब मन्त्रीपरिषद् विस्तार नहुने पनि बताए ।
‘अब अरु मन्त्रालय बढ्दैनन । संविधानअनुसार २२ वटासम्म मन्त्रालय बनाउन पाइन्छ तर यो अन्तिम हो,’ पाण्डेले भने, ‘यसपाली हामीले समावेशी ढंगले मन्त्रीमण्डल विस्तार गरेका छौं । चेपाङ समुदायबाट पहिलोपटक मन्त्रिपरिषद्मा प्रतिनिधित्व भएको । दलित आएका छन्, द्धन्दपीडित आएका छन्, चार चारजना महिलाहरु छन् । सकरात्मक पाटो पनि छ नि ।’
मुख्यमन्त्री पाण्डेले प्रदेशदेखि केन्द्रसम्म गठबन्धन जोगाएर जानुपर्ने भएकाले मन्त्रिमण्डल विस्तारको वाध्यात्मक परिस्थिति आइलागेको पनि बताए । अहिले प्रदेशमा गठबन्धन सरकार रहेको छ र त्यसमा एकीकृत समाजवादी सानो शक्ति भएकाले पनि सबै कुरा आफैले सोचे अनुसार नहुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
‘गठबन्धनको सरकार छ, गठबन्धनमा तीनवटा शक्तिमध्ये हामी अलि सानो छौं,’ पाण्डेले भने, ‘मिलेर नै जानु पर्यो, प्रदेशदेखि केन्द्रसम्मको गठबन्धन जोगाएरै जानु पर्यो।’
