Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसमा चढ्यो जवानी, कम्युनिस्टमा बुढ्यौली ! विदेशमा ३४ वर्षमै देश हाँक्छन्, नेपालमा ४५ वर्षेलाई पत्याइन्न


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 4.6K
    SHARES

काठमाडौं / नेपाली काँग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापाले जितेको खबर बाहिरिँदै गर्दा सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा एमाले कार्यकर्ताहरू काँग्रेसका प्रौढ नेता गगन थापाकै बारेमा चर्चा–परिचर्चा गरिरहेका थिए । एमाले कार्यकर्ताले गगन र विश्वप्रकाशको चर्चा गरिरहेकै बेला एमालेका नवमनोनित नेता दुर्गा प्रसाईं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट्न उनको कार्यकक्षमा फुत्त छिरे ।

बाहिर एमाले कार्यकर्ताको गफ सुनियो । एकजनाले भने, ‘अब गगन थापाले अर्कोचोटि काँग्रेसको सभापति नै पड्काउँछ होला ।’ अर्काले थपे, ‘सभापति नै ताकिहाल्ने उमेरचाहिँ अलि भएको छैन कि ? अर्को महाधिवेशनमा उनले शेखर कोइरालालाई नै अघि सार्लान् कि ?

एमाले कार्यकर्ताहरुले गगन थापा काँग्रेसको पन्ध्रौँ महाधिवेशनमा सभापति बन्ने बेला भएको छैन भनेर तर्क गरिरहँदा हामी एकपटक महामन्त्री थापाको उमेर सम्झौं । विसं २०३३ सालमा जन्मेका महामन्त्री थापा अहिले ४५ वर्ष पुगिसकेका छन् । खासमा उनको युवामय कटिसकेको छ र उनी प्रौढ भइसकेका छन् ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा २०२७ सालमा जन्मेका हुन् । उनी युवा नेता होइनन् । किनभने, उनी अहिले ५१ वर्षका भएका छन् । उमेरले यी दुवै नेताहरू पार्टी सभापति र देशको प्रधानमन्त्री मात्र होइन, राष्ट्रपतिसमेत बन्न योग्य छन् । नेपालको संविधानको धारा ६४ (ख) अनुसार ४५ वर्ष उमेर पूरा भएको व्यक्ति राष्ट्रपति बन्न योग्य मानिन्छ ।

  • एकचोटि इतिहासतिर फर्केर हाम्रा नेताहरूको उमेर हेरौँ ।

नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठले विसं. २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा उनी बल्ल २५ वर्ष पुगेका थिए । २०४६ सालको चौथो महाधिवेशनबाट तत्कालीन नेकपा मालेको महासचिवमा निर्वाचित मदन भण्डारी ३७ वर्ष मात्र पुगेका थिए । जबजको सिद्धान्त प्रतिपादन गरेर, एमालेको जननेता भएर मृत्युवरण गर्दा मदन भण्डारी भर्खर ४१ वर्ष पुगेका थिए । अर्थात्, गगन थापाभन्दा चार वर्ष कान्छो उमेरमै मदन भण्डारीको निधन भएको थियो ।

विसं. २०११ सालमा जन्मेका प्रचण्ड २०४६ सालमा पार्टीको महामन्त्री भएका हुन् । त्यसबेला प्रचण्ड बल्ल ३५ वर्षका थिए । अर्थात् गगन थापा भन्दा १० वर्ष कान्छो उमेरमै प्रचण्ड पार्टीको प्रमुख बनेका हुन् । भलै अहिले प्रचण्डले आफ्नो पार्टीमा रहेका प्रौढ नेताहरूलाई समेत नपत्याएर ‘कोही पनि उत्तराधिकारी नरहेको’ तर्क गर्दै आएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कुरा गरौँ । २०२८ सालमा तुल्सीलाल अमात्य नेतृत्वको नेकपा दक्षिणपन्थी भयो भन्दै झापा विद्रोहमा सहभागी हुँदा केपी शर्मा ओली २० वर्षका थिए । भलै यतिबेला ओलीले ५४ वर्ष उमेर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएर उडाइरहेका छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला विसं. २०१५ को आम निर्वाचनपछि प्रधानमन्त्री बन्दा ५५ वर्षका थिए । वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा ५१ वर्षका भए, जबकि बीपी ५५ वर्षको छँदा प्रधानमन्त्री बनेका थिए । अहिले नेपाली काँग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङ ५६ वर्ष पुगिसकेका छन् । उनी २०२२ सालमा जन्मेका हुन् ।

काँग्रेस नेता डा. शेखर कोइरालाले आफू सभापतिमा चुनाव लड्ने बताउँदै गर्दा रामचन्द्र पौडेल, प्रकाशमान सिंह जस्ता नेताहरूलाई के लागिरहेको थियो भने शेखरले सभापति ताक्ने बेला भएको छैन । केन्द्रीय सदस्यमात्रै रहेको र पदाधिकारीसम्म नभएको व्यक्ति एकैचोटि सभापति बन्न नसक्ने भन्दै शीर्ष नेताहरूले डा. शेखरको खिल्ली उडाएका थिए । जबकि, शेखर अहिले ७१ वर्ष पुगिसकेका छन् । र, उनले पदाधिकारी नै नभएको व्यक्तिले पनि सभापतिमा प्रतिस्पर्धा गर्न सक्छ र मै हुँ भन्ने शीर्ष नेताहरूलाई पछि पार्न सक्छ, कार्यकर्ताको विश्वास आर्जन गर्न सक्छ भन्ने व्यवहारतः प्रमाणित गरिदिएका छन् । भलै शेखरले आफ्नै नेताहरूबाट धोका पाएकाले सभापतिमा जीत हात पार्न भने सकेनन् ।

विदेशमा ३४ वर्षमै देश हाँक्छनसाना मरिन​

विश्वका केही नेता एवं सरकार प्रमुखहरूको उमेर हेर्ने हो भने महिलाहरूले समेत कलिलो उमेरमै पार्टी मात्र होइन, देशकै नेतृत्व हाँकेको पाइन्छ । जस्तै– फिण्डल्याण्डकी साना मरिन देशको प्रधानमन्त्री बन्दा ३४ वर्षकी थिइन्, अहिले उनी ३६ वर्षकी भएकी छिन् ।

फ्रान्सका चर्चित नेता इमानुअल म्याक्रोँ राष्ट्रपति बन्दा ३९ वर्षका मात्र थिए । हाल उनी ४३ वर्ष पुगेका छन् । अर्थात् उनी गगन थापा भन्दा २ वर्ष कान्छा हुन् ।

न्युजिल्याण्डमा ३७ वर्षको उमेरमै ज्याकिन्डा आर्डन प्रधानमन्त्री बनेको उदाहरण छ । एन्डोराका प्रधानमन्त्री जेभियर ४० वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन् भने क्यानडाका जस्टिन ट्रुडु प्रधानमन्त्री बन्दा ४३ वर्षका थिए । अहिले जस्टिन ४९ वर्षका भए । त्यस्तै, स्वीडेनमा ५४ वर्षको उमेरमा एण्डर्सन प्रधानमन्त्री बनेको पाइन्छ । टाढाको उदाहरण हेर्नैपर्दैन, पाकिस्तानमा बेनजिर भुट्टो ३५ वर्षको उमेरमै प्रधानमन्त्री बनेकी थिइन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा ७१ वर्षका डा. शेखर कोइरालालाई समेत पार्टीको सभापति बन्ने बेला भएको छैन भन्ने बूढ्यौली चिन्तनले गगन थापाको पुस्तालाई प्रधानमन्त्री वा पार्टी प्रमुख बन्न अयोग्य देख्नु कुनै अनौठो होइन । तथापि, नेपाली काँग्रेसको यो महाधिवेशनले नेपालको एउटा बूढो पार्टीमा जवानी चढाइदिएको छ । अर्कोतर्फ एमाले, माओवादी लगायतका कम्युनिस्ट पार्टीहरु चाहिँ बुढ्यौलीपनबाट मुक्त हुन नसकेको प्रष्टै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४