२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो ।
सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।
सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । काठमाडौं आएकै दिन यो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ । छलफलको क्रममा सुमारले एमसीसी अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नभएको बताएकी छन् ।