काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।
सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको भनाइ थियो । सह-महामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए ।
उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए । ‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौतीहरु धेरै छन्, अवसर पनि छ, यो चुनौतिलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ,’ सहमहामन्त्री महतले भने, ‘ समयमा मन्त्रीपरिषद् पाउन सकेन घटकलाई जोडेर सरकार बनाउनु पर्ने बाध्य छ, तर अब मलाई लाग्छ केही दिनमै मन्त्रीमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्री जीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ ।”
उनले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए । । साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताए । आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने उनको धारणा थियो।
‘निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ काँग्रेस एक्लै सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै फुल स्विङमा, नेपाली जनताको पक्षमा काम गर्न हामी सक्षम हुनेछौँ, यसका लागि हामी केन्द्रीत हुनुपर्छ, त्यो भन्दा अगाडि हाम्रो राष्ट्रिय महाधिवेशन हुँदैछ, यो हाम्रो पार्टी भित्र लोकतान्त्रिक तरिकाबाट वडादेखि केन्द्रसम्म विभिन्न जिम्मेवारी छ, त्यसलाई पूर्णता दिनुपर्ने हाम्रो बाध्यता हो।’ उनले भने, ‘…त्यसपछिको आम निर्वाचन महत्वपूर्ण कुरा हो, कुनै पनि पार्टी सत्तामा जानको लागि निर्माण हुन्छ, सत्तामा जनताको पक्षमा काम गर्नको लागि जाने हो, त्यो हाम्रो मुल लक्ष्य हो, अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँड विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो ।’
सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि उनले बताए । उनले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियोचर्चा धेरै हुन थालेको समेत आरोप लगाए । उनले भने, ‘अब नेपालले आफ्नो देशको स्वार्थ र आवश्यक्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बेला आएको छ।’