सत्ता समीकरणको जोड घटाउ तीव्ररूपमा अगाडि बढिरहेका बेला जनता समाजवादी पार्टी नेपालले आफ्नो पार्टीभित्र सहमति जुटाउन सकेको छैन । सरकार निर्माणका लागि दुई खेमामा विभाजित जसपा नेपालमा बैठकका लागि नेताहरुले पहल गरे पनि त्यसमा सफल भइरहेको छैन । हिजो जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग भएको अनौपचारिक छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व रहेको सरकारको विकल्पमा आफू जान नसकिने प्रष्ट पारेका थिए ।
जसपा नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको कारणले ओलीको विकल्पमा आफू जान नसकिने स्पष्ट पारेपछि एकपटक नेपाली काँग्रेससँग छलफल गर्न अध्यक्ष भट्टराईले आग्रह गरेका थिए । सोही आग्रह बमोजिम आज अध्यक्ष ठाकुर र महतो काँग्रेसका सभापति देउवालाई भेट्न उनको निवासमा पुगेका छन् ।
जसपा नेपालका दुवै पक्षमा आआफ्नो पक्षमा माहौल बनाउनका लागि बिहानैदेखि दौडधुपमा लागेपनि पार्टीभित्र सहमतिका लागि बैठक बस्न सकिरहेको छैन । हिजो अध्यक्ष भट्टराई र अर्का अध्यक्ष ठाकुरबीच भएको छलफलमा विहिबार पार्टीको पदाधिकारी बैठक बसाएर सरकार निर्माणको विषयमा औपचारिक निर्णय लिने सहमति भएको थियो । तर, बिहानदेखि त्यसको प्रयास भए पनि बैठक बस्न सकिरहेको छैन ।
जसपाको कार्यकारीणी समितिका सदस्य रामसहाय यादवले आज पदाधिकारीको बैठक बसेर एउटा कुनै ठोस निर्णय लिने कुरा भएपनि हालसम्म बैठक नबसेको बताए । अहिलेको राजनीतिक संक्रमित अवस्थामा अरु ठाउँहरुमा टहल्नुको सट्टा आफ्नो पार्टीमा एउटा सहमति बनाएर अगाडि बढ्नु राम्रो हुने बताए । बैठकका लागि नेताहरूबाट पहल भइरहेको छ, तर हालसम्म नबसेको उनले बताए । उनले भने, हामीले पार्टीभित्रको विवाद बैठक बसेर समाधान गर्न आग्रह गरिरहेका छौैं, हेरौं रातिसम्ममा बस्छ कि ।’
पार्टीका अर्का कार्यकारिणी सदस्य केशव झाले पार्टीको बैठक बस्ने कुरा भइरहेको थियो, तर कतिखेर बस्ने कुराको जानकारी आफूलाई नरहेको बताए । सत्ता समीकरणका लागि पार्टीले सर्व सम्मतिको एउटा धारणा सार्वजनिक गर्नुपर्ने हो, त्यसका लािग बैठक बस्नु अनिवार्य छ । तर, बैठकको अझै टुंगो नलागेको बताए ।
एमाले, काँग्रेस, माओवादी केन्द्रको बैठक नियमित बसिरहेको छ । सरकारको बारेमा ती दलहरूको एउटा धारणा बनाइसकेको छ । तर, जसपा नेपालमा सहमति नभएका कारण पार्टीमा नेता तथा कार्यकर्ता अन्योलमा देखिएको छ ।
सर्वसम्मतिको एउटा धारणा नबन्दा पार्टीका नेता तथा कार्यकर्ता पनि विभाजित भएका छन् । उनीहरुले समाजिक सञ्जालमा एक अर्कालाई होच्याउने, गाली गर्ने, तल देखाउने काम गरिरहेको छ । जसपा नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीमा देखिएको अहिलेको विवाद बैठक बसेर समाधान गर्नुपर्ने देखिएको छ, यसलाई जति छिटो समाधान गरेर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने बताए । अन्त्यसम्म पार्टीमा कुनै निर्णय हुन सकेन भने जोसँग बहुमत हुन्छ, बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने उनले बताए ।
पार्टीका कतिपय नेताहरु बैठकबाट डराइरहेका छन्, पार्टीको बैठक नै बसेन भने त्यो पार्टी जीवित नरहने उनको बुझाइ छ । पार्टीलाई बचाउनका लागि बैठक अनिवार्यरुपमा बस्नुपर्ने उनले बताए ।