Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक बूँद अक्सिजनको चित्कार : म स्वास्थ्यमन्त्री भएको भए….


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 3.5K
    SHARES

अक्सिजन प्लान्ट बनाउने सुझाव सरकारले सुनेन, अब के गर्ने ?

कोरोना संक्रमणको दर दैनिकरुपमा बढिरहँदा सरकारले अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकेको छैन । अक्सिजनको अभावमा अस्पतालले धमाधम उपचार सेवा बन्दको घोषणा गर्न थालेका छन् । देशभर अक्सिजनको हाहाकार मच्चिएको छ । सरकार निरीह र मूकदर्शक बनेको छ । सात गाउँ डुबिसक्यो, डुंगाको बन्दोबस्त छैन । सुरुमा अक्सिजनको उत्पादन पर्याप्त छ सिलिन्डर मात्रै छैन भनिए पनि अहिले भएका सिलिन्डरमा अक्सिजन भर्न पाइएको छैन । चरम अभावको स्थिति आएपछि सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा छुट्याउँदा झनै समस्या विकराल बनेको छ ।

अहिलेको यो स्थिति आउनुमा स्वास्थ्य मन्त्रालय, सीसीएमसी र सिङ्गो सरकार जिम्मेवार रहेको दुई पूर्वस्वास्थ्यमन्त्रीको आरोप छ । मन्त्रालयले गत वर्ष नै यो स्थितिको आकलन गरिसकेको तर मन्त्रिपरिषदबाट सुनुवाई नभएको उनीहरु बताउँछन् ।   आखिर किन सरकारले अक्सिजनको जोहो गर्न नसकेको होला ? यसमा अक्सिजन उत्पादक उद्योगहरु वा सरकार को बढी जिम्मेवार छन् ? अनि अहिले देखिएको अक्सिजनको हाहाकारलाई समाधान गर्ने तत्कालको उपाय के हो ? यिनै विषयमा हामीले दुईजना पूर्वस्वास्थ्यमन्त्रीहरुसँग कुरा गरेका छौं ।

  • यो स्थितिको आकलन एक वर्षअघि नै गरिएको थियो : पोखरेल

पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल एक वर्ष अगाडि नै क्याबिनेटमा अक्सिजन प्लान्ट थप गर्नुपर्नेबारे छलफल भएको बताउँछन् । मन्त्रिपरिषदमै छलफल भए पनि यसलाई गम्भीररुपमा नलिँदा अहिलेको समस्या आएको उनको भनाइ छ । अक्सिजनको अभाव र अब चाल्नुपर्ने कदमबारे पोखरेलको विचार यस्तो छ – अहिले स्थिति भयावह नै भइसक्यो । अस्पतालमा भएका बिरामीका आफन्तले अक्सिजनको व्यवस्था आफैं गर्नुपर्ने अवस्था आएको छ, यो अत्यन्तै दुःखदायी र पीडाबोध हुने विषय हो ।

अघिल्लो वर्ष नै स्वास्थ्यक्षेत्रका सबै समस्यालाई हेरेर अक्सिजनको समस्या आउन सक्छ भनेर त्यतिखेरै स्वास्थ्यकर्मीहरुले यो विषय उठाएका थिए । म त शिक्षा र स्वास्थ्य समिति पनि हेर्ने भएका कारणले समन्वयात्मक ढङ्गले काम गर्नका लागि मैले पहल पनि गरेको थिएँ । गणेश शाहको संयोजकत्वमा टोली बनाएर रिपोर्ट नै बनायौँ र अक्सिजन प्लान्ट र सिलिन्डरको तयारी गर्न भन्यौँ । त्यतिबेलाकै इस्यु हो यो । तर, त्यतिबेला यसलाई गम्भीररुपमा लिइएन र अहिले भयावह स्थिति आइप¥यो । अहिले उत्पादन, व्यवस्थापन र वितरण सबैमा समस्या देखिएको छ । हुन त यो कुनै मन्त्रीले मात्रै गर्न सक्ने अवस्था त होइन । तर, पनि देशभित्रका सबै प्लान्टबाट उत्पादन गर्ने र देशबाहिरबाट पनि सहयोग माग्नुपर्ने बेला हो यो ।  सम्भावनाहरूलाई पक्रिएर काम गर्नुपर्ने बेला थियो । कति सिलिन्डर त अहिले घरघरमा पुगिसकेको अवस्था छ । घरबाटै अक्सिजनको व्यवस्था गरिदेऊ भनेर भन्न थालेका छन् । त्यसकारण योबेला सबै मिलेर जानुपर्ने हो ।

सरकारको तयारी नपुगेको हो भन्ने कुरा त मैले अघि नै भनिसकेँ । अक्सिजनको अभाव हुनसक्ने कुरा एक वर्ष अगाडि नै क्याबिनेटमै पुगेको हो । त्यहीबेला अक्सिजन प्लान्ट निर्माण गर्नुपर्ने, अक्सिजन सिलिन्डरको व्यवस्था गर्नुपर्ने कुरा आएकै थियो । तर, सरकारले कहाँ–कहाँ अक्सिजन प्लान्ट निर्माण ग¥यो त ? एक वर्षको अवधिमा त धेरै स्थानमा अक्सिजन प्लान्ट निर्माण गर्न सकिन्थ्यो । तर, त्यो भएन । यस अर्थमा सरकारको पूर्वतयारी नपुगेकै हो । तर, तत्कालको समस्या समाधानको लागि राम्रो व्यवस्थापन र पूर्ण क्षमतामा उत्पादन नै हो । अहिले कुन प्लान्ट सरकारी वा प्राइभेट भनेर बस्ने बेला होइन । राज्यले सबै अक्सिजन प्लान्टबाट पूर्ण क्षमतामा उत्पादन गर्ने हो । जनशक्तिको अभाव भए व्यवस्थापन गर्ने हो । बरु अरु सेवा सुविधा केही थप गर्नुपरेमा गर्ने हो र सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । म स्वास्थ्यमन्त्री भएको भए त्यही गर्थेँ ।

  • सीसीएमसीले विज्ञका कुरा नसुन्दा यो अवस्था आयो  : गगन थापा

अहिले अक्सिजनको हाहाकार हुनुको कारण र समस्याको समाधान के हो भन्ने विषयमा पूर्वस्वास्थ्यमन्त्री गगन थापाको विचार यस्तो छ – पहिलो, यदि म अहिले स्वास्थ्यमन्त्री थिएँ भने यतिबेला हाम्रो देशभित्रै उत्पादन हुन सक्ने क्षमताको म्यापिङ गर्थेँ । काठमाडौंभित्र र काठमाडौं बाहिरबाट उत्पादन हुने क्षमताबारे जानकारी लिई सबै क्षेत्रमा शतप्रतिशत क्षमतामै उत्पादन गर्ने गरी कार्य गराउँथे । त्यसका लागि जनशक्ति, पूर्वाधार वा अन्य के व्यवस्था गर्नुपर्ने हो, त्यो गराउँथे ।

दोस्रो, अक्सिजन चाहिने स्थानको प्राथमिकता राखेर काम गर्थेँ । त्यो भनेको के हो भने सुरुमा हामीले आवश्यक पर्न सक्छ है भनेर आइसोलेसन सेन्टर बनायौँ र त्यहाँ अक्सिजन लगेर राख्यौँ, त्यो रोक्थेँ र व्यवस्थापन गर्थे ।

तेस्रो कुरा भनेको यसको उपभोग गर्ने सम्बन्धमा पनि केही समस्या छ कि जस्तो लागेको छ । कतिपय स्थान वा अस्पतालमा आवश्यक नभएपनि अक्सिजनको प्रयोग भएको जस्तो बुझेको छु । कतिपय स्थानमा घरमै आवश्यक नहुँदा पनि अक्सिजनको प्रयोग भइरहेको छ जस्तो लागेको छ । त्यसको समुचित प्रयोग गर्न सकिए केही हदसम्म यो समस्या समाधानमा सहयोग नै हुन्थ्यो ।

तर, अहिले त सरकारलाई डिमान्ड कति हो र सप्लाई कति छ भन्ने पनि थाहा छैन । त्यो थाहा भएको भए पो सन्तुलन को कुरा आउँथ्यो । उत्पादनले धान्नै नसक्ने अवस्था छ भन्ने थाहा पाएपछि मचाहिँ पब्लिक हेल्थ एक्सपर्टहरुसँग बसेर यो मितिमा मलाई यति अक्सिजन चाहिन्छ, कहिलेसम्म बढ्दै जान्छ आदि विषयको क्याल्कुलेसन गरेर नपुग्ने अवस्था रहेमा नेपालभन्दा बाहिरबाट ल्याएर पनि तत्कालको आवश्यकता पूरा गर्नका निम्ति काम गर्थेँ । अर्को कुरा, यदि म यतिबेला स्वास्थ्यमन्त्री थिएँ भने पहिले नै यसबारेमा रिपोर्टिङ लिन्थेँ र अक्सिजन प्लान्ट थप्ने गरी काम गरिसकेको हुन्थेँ । अहिले सुरु गरे पनि १२ देखि १५ दिनभित्र अक्सिजन प्लान्ट निर्माण गर्न सकिने अवस्था रहेछ । म भएको भए अहिले नै कम्तिमा १० वटा प्लान्ट सुरु गर्थेँ । यसको अर्थ, मैले वैशाखको दोस्रो सातामा प्लान्ट स्थापना सुरु गरेको भए पनि यतिबेला कम्तिमा १० वटा नयाँ अक्सिजन प्लान्टहरु बनाइसकेको हुन्थेँ ।

योबेलामा जहाँ प्लान्ट भए पनि कुल क्षमतामा उत्पादन गर्नैपर्छ । जनशक्ति वा अरु के–केको व्यवस्थापन गर्नुपर्ने हो, त्यो पूर्वाधार दिएर वा निर्माण गरेर उत्पादन गर्नैपर्छ । तर, सरकारसँग त अहिले माग कति छ र आपूर्ति कति छ भन्ने कुरा पनि थाहा छैन । अहिले पनि जसरी कोटा तोकिरहेको छ, त्यो हेर्दा पूर्वतयारी पुगेन, माग र आपूर्ति कति छ भन्ने थाहा भएन भन्ने नै हो । मैले हिजोमात्रै सीसीएमसीमा अक्सिजन हेर्ने व्यक्तिको अन्तर्वार्ता पढेको थिएँ । त्यो अन्तर्वार्तामा अस्पताललाई चाहिनेजति अक्सिजन उपलब्ध गराउँछौँ भन्ने उल्लेख थियो । यसको मतलब के हो भने अहिले पनि हाम्रो उत्पादन कति छ र हाम्रो माग कति छ भन्ने जानकारी नै छैन । त्यो थाहा भए पो ग्याप कति छ भन्ने थाहा हुन्छ र त्यही ग्याप हटाउनेगरी योजना बन्छ । त्यो नै थाहा नभएपछि त कसरी हुन्छ व्यवस्थापन ?

जतिबेला अक्सिजन उत्पादक, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र सीसीएमसीका साथीहरु बस्नुभयो नि, त्यतिबेला अक्सिजन उत्पादक र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुले ‘हाम्रो उत्पादनले पुग्छ, मात्रै सिलिन्डरको अभाव छ’ भनिदिए । त्यो हामी सबैले पढेको कुरा हो । त्यसपछि हामी सिलिन्डर खोज्न बाहिरतिर जान थाल्यौँ । तर, समस्या सिलिन्डरमा मात्रै नभएर अक्सिजन उत्पादनमा पनि हो भन्ने कुरा त्यतिबेला ब्रिफिङ हुन्थ्यो भने अवस्था अहिले फरक हुन्थ्यो होला ।

मैले सुरुदेखि नै भन्दै आएको कुरा हो कि कार्ययोजना बनाउँदा अहिलेको अवस्था हेरेर बनाउने होइन । यदि सरकारले जनस्वास्थ्य बुझेको मान्छे, संक्रामक रोग बुझेको मान्छे आदिसँग कुराकानी गरेको भए हामीलाई वैशाखको अन्तिममा कति सिलिण्डर र अक्सिजन चाहिन्छ, के के तयारी गर्नुपर्छ भनेर पहिले नै भनिदिएको हुन्थ्यो । त्यो विषय एक महिना पहिले नै थाहा हुन्थ्यो ।

तर, भइदियो के भने एक महिना पहिले जनस्वास्थ्यविद्लाई बोलाएर सोध्नुपर्ने र आकलन गर्नुपर्नेमा ईश्वर पोखरेलजीले अक्सिजन उत्पादक साथीहरुलाई मात्रै बोलाउनुभयो र उनीहरुले कति उत्पादक हुन्छ भन्ने मात्रै जानकारी दिए । त्यसपछि उद्योगधन्दाहरुलाई अक्सिजन नबेच्नुस् मात्रै भनेर सुनाइयो, नयाँ उत्पादन गर्नेतर्फ लागिएन । यो महामारीले के बुझायो भने भाइरसको गति र प्रभावबारे हामीले पहिले नै आकलन गर्न सक्यौँ र त्यही अनुसार काम गर्यौँ भने हामीले जित्छौँ, नत्र त्यसलाई पछ्याउने मात्रै गर्यौँ भने हामी हार्छाैँ । अहिले हामीले पछ्याएका मात्रै छौँ, त्यसकारण हामी हार्दैछौँ । भाइरसको बाटो कतातिर छ, कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन त माहामारी बुझेको, संक्रामक रोग बुझेको मान्छेसँग पो सोध्नुप¥यो, उसको ज्ञान पो हामीले लिनुप¥यो त । समस्या त यहीँ छ ।

मेरो ज्ञानका आधारमा भन्दा अहिले कसैले अक्सिजन लुकाएको जस्तो लाग्दैन । किनभने, पहिले १० सिलिन्डर अक्सिजन लैजाने अस्पतालको माग अहिले १ सय सिलिन्डर छ । त्यसकारण अहिले कसैले लुकाएर अक्सिजन नपाएको भन्ने होइन, बरु उत्पादन नै नभएको हो ।

कोरोनाको उपचार भनेको नै अक्सिजन हो । अब अस्पतालले पनि के भन्न थाल्यो भने बिरामी त म राखिदिन्छु, तर अक्सिजनको व्यवस्थाचाहिँ तपाई आफैं गर्नुहोला भन्छ । ऊसँग बेड छ, तर उसले अक्सिजन दिन सक्दैन । अघिल्लो वर्ष स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई म केही जनस्वास्थ्यविद् सँगै भेट्न गएको थिएँ । त्यतिबेला नै हामीले अहिलेको जस्तो अवस्था आउन सक्छ भनेर अक्सिजन प्लान्ट बनाउन र तयारी गर्न आग्रह गरेका थियौँ । त्यतिबेला त अहिलेजस्तो भयावह स्थिति आएन । तर, त्यतिबेला भनेको कुरा मनन गरिदिएको भए अहिले यो समस्या आउने थिएन । त्यतिबेला नै अहिलेको भयावह अवस्थाको आंकलन गरेर अक्सिजन प्लान्ट थप गर्नुपर्ने कुरा सुझाव दिएका थियौँ ।

अहिले अक्सिजन अभावको एकमात्रै समस्या के हो भने हामीले सीसीएमसीमा अक्सिजन उत्पादक कम्पनीहरूसँग मात्रै कुरा ग¥यौँ र हामीलाई आवश्यक अक्सिजन उत्पादन गर्न सक्षम छौँ भनेर गलत ब्रिफिङ ग¥यौँ । त्यतिबेला केही सिलिन्डर मात्रै थप गरे पुग्ने गलत सल्लाह दिइयो, त्यसै कारणले यो समस्या आएको हो । संक्रमण अझै पनि बढ्न सक्छ त्यसकारण तत्कालीन र दीर्घकालीन योजना बनाएर अक्सिजन उत्पादनका लागि प्लान्ट निर्माण गर्नैपर्छ ।

अन्तिममा, कवि अर्जुनको कविता–

सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा

तेरो स्मार्ट–सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्याँस लैजा

मेरो बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबको बदलामा तैँले

मलाई एक सिलिण्डर अक्सिजन दे !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४