एजेन्सी । अक्सिजन ट्याङ्की पड्केर आगो लागेपछि इराककाे एक अस्पतालमा कम्तीमा पनि २३ जनाकाे ज्यान गएकाे छ । इराकको राजधानी बगदादमा कोभिड- १९ भएका बिरामीहरूको उपचार गरिरहेको उक्त खतिब नामक अस्पतालमा आगलागी भएकाे हाे ।
शनिबार राति अस्पतालमा अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी भएकाे थियाे । आगलागीमा परेर दर्जनौँ मानिस घाइते समेत भएका छन् ।
काेभिडका बिरामीका लागि चाहने अक्सिजन ट्यांकी पड्केर उनीहरूकाे ज्यान गएकाे हाे । साे घटनापछि रातिदेखि नै मानिसहरूकाे भागाभाग भएकाे थियाे । अस्पताल छोडेर भागिरहेका देखिने र अग्नि नियन्त्रकहरूले आगाे निभाउने प्रयास गरिरहेका भिडियाेहरू सामाजिक सञ्जालमा शेयर भएका छन् ।
अस्पतालमा उपचाररत बिरामीहरूकाे उद्धार समेत गरिएकाे छ । इराकका आपत्कालीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गर्न सफल भएकाे बताएका छन् । कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा रहेका थिए । घाइतेहरूकाे उद्धार गरी अन्यत्र उपचार भइरहेकाे छ ।
उक्त दुर्घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमिले ‘दुःखद दुर्घटना’ भएकाे बताएका छन् । साथै उक्त दुर्ङटनाकाे वास्तविक कारण खोल्न तत्काल अनुसन्धान गर्ने पनि उनले बताएका छन् ।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । साथै आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको जनाइएकाे छ ।