काठमाडौं । मुलुकमा थप ५ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ५ सय ३४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आरटी–पीसीआर परीक्षणबाट ४ सय ९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी कुल ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ सय ५७ संक्रमित निको भए, ५ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १५२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख २९ हजार ५४७ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।