काठमाडौं– सरकारले चिनीको भन्सार महशुल वृद्धि गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चिनीको भन्सार महशुल १५ प्रतिशतले वृद्धि गरेको हो । स्वदेशी चिनीको उत्पादनलाई प्रोत्साहित गर्न चिनीको भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यसैगरी सरकारले उखुको मूल्यमा पनि प्रति क्विन्टल ५ रुपैयाँ ५६ पैसा बृद्धि गरेको छ । सरकारका प्रवक्ता बास्कोटाले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ भन्दा नबढने गरी आन्तरिक संयन्त्र बनाउने निर्णय गरिएको बताए ।
सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्थाको दर्ता तथा नविकरणको काम जिल्ला प्रशासन कार्यालयबाट गर्न पनि रोक लगाएको छ । गैर नाफामूलक संस्था नभएकाले उनीहरुको दर्ता तथा नविकरणको काम जिल्ला प्रशासन कार्यालयबाट नगराउने निर्णय गरिएको पनि सरकारका प्रवक्ता बास्कोटाले बताए । सरकारले तत्कालका लागि संघ र प्रदेशका लागि आवश्यक आन्तरिक सुुरक्षा व्यवस्था समन्वय सम्बन्धि निर्देशिका पनि जारी गरेको छ । प्रदेशमा सो सम्बन्धि कानुन तर्जुमा नभएसम्मका लागि आवश्यक निर्देशिका सरकारले जारी गरेको हो ।
सरकारले संघ अन्तरगतको मन्त्रालयको विभाग र त्यसको दरबन्दी पनि कटौती गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले काठमाडौं उपत्यका बाहिर चक्रपथ अन्तरगत सतुंगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर क्षेत्रमा पर्ने जग्गा एकीकरण योजना संचालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई अनुमति पनि दिएको छ । सरकारले कर्मचारी संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त पनि गरेको छ । आर्थिक कार्यविधि पहिलो संशोधनपनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । विद्युतीय भुक्तानी प्रणालीलाई सुनिश्चित गर्न सरकारले सो संशोधन स्विकृत गरेको पनि प्रवक्ता बास्कोटाले बताए ।
सरकारले विदेशी विनिमय व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयकको अवधारणालाई सैद्धान्तिक सहमति पनि दिएको छ ।