आइतबार नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको न्यूनिकरणका लागि सबैमा जागरण आवश्यक रहेको बताइन् ।
१ सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनेपनि खासमा पुरुष महिला बराबर भएकाले यो दिवसलाई श्रमिक महिला दिवस भन्नु उपयुक्त रहेको उनको भनाइ थियो ।
महिलालाई बालिका, किशोरी, वयस्क, जेष्ठ र वृद्ध अवस्था गरी ५ अवस्थामा विभाजन गर्न सकिने बताउँदै अहिले नाति/नातिनीलाई हेर्न र खाजा पकाएर खुवाउनेलगायत काम गर्न नसकेको अवस्थामा आफ्नै छोरा बुहारीले घरबाटै निकाली दिने भोगाइ रहेको पनि उनले बताइन् ।
महिला हिंसा न्यूनिकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा मानव अधिकारका लागि महिला समूहकी संस्थापक अध्यक्ष एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापा र सिविन नेपालया कार्यकारी निर्देशक सुम्निमा तुलाधरले महिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमा आफ्ना कुराहरु राखेका छन् । वक्ता थापाका अनुसार जस्तोसुकै नीति नियम तथा सोचमा परिवर्तन आए पनि सनसनी फैलाउने विषयहरुले स्थान पाउने तर महिला सशक्तिकरणका विभिन्न मुद्दाहरुले संचार माध्यममा अझै निकै कम मात्र स्थान पाएको उल्लेख गरे ।
जबसम्म सबै एक भएर साझा मुद्दाका रुपमा महिला हिंसाविरुद्ध आवाज उठाउन सकिँदैन तबसम्म परिवर्तन टाढिँदै जाने पनि थापाले बताइन् । उनका अनुसार यसका लागि राजनीति, जाति, धर्मभन्दा पर मात्र महिला आवाज उठाउने महिला महासंघ आवश्यक छ ।

मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष कुन्ता शर्माले नेपाल सरकारका विभिन्न प्रावधानहरुबारे लक्षित समूहसम्म ती सूचना पुग्न नसकेको बताएकी छन् । उनका अनुसार विभिन्न संयन्त्रमा महिला समावेशीकरणको अभ्यास भए पनि त्यो स्थानमा प्रतिनिधित्व गर्ने महिलाहरुले आवाज राख्न सकेका छैनन् ।
कार्यक्रममा विभागका अध्यक्ष सुरजवीर बज्राचार्यले दबूले राज्यको असमान ब्यवहारकै कारण नेवाः पत्रकार संगठित भएको उल्लेख गर्दै महिला हिंसा तथा बालबालिकाप्रति हुने हिंसा न्यूनिकरणमा दबूमा आवद्ध पत्रकारहरु निरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्त गरेका छन् । सूचनाको शक्तिबाट समाजमा परिवर्तन ल्याउन अनुभवी, विद्वत वर्गसँग अन्तरक्रिया पनि निरन्तर गर्दै जाने उनले बताए ।
महिला हिंसा न्यूनिकरणका लागि क्रियाशील पत्रकारहरू मीरा (उषा) लोहनी, लक्ष्मी पुन र सम्झना महर्जनका साथै समाजसेवी गीता गुरूङ सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ ।