एजेन्सी, / इरानले आफ्ना परमाणु केन्द्रहरूको अनुगमन थप ३ महिनासम्म गर्न दिने सहमति जनाएकाे छ । संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना अनुगमन गर्न दिनेमा इरान सहमत रहेकाे बताएका हुन् ।
यद्यपि इरानले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई आकस्मिक निरीक्षण गर्न भने नदिने भएकाे छ । हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच हुने बिबसीले जनाएकाे छ ।
इरानले मङ्गलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्न लागेकाे बताइएकाे छ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो ।
अमेरिकी पुर्व राष्ट्रपति ट्रम्प प्रशासनले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।