Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई ‘सपनाको राजकुमार’ मान्ने मन्त्री बास्कोटा:


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०७४
  • 12.4K
    SHARES

राज्यमन्त्री भए पनि उनलाई नेपाली सेनाको व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ)ले सुरक्षा दिन्छन्। जबकी अन्य राज्यमन्त्रीलाई प्रहरीको पिएसओ दिइएको छ।

उनी राज्यमन्त्रीमध्ये विशिष्ट मात्र होइनन् एमालेका कैयौं स्थायी र पोलिटब्युरोका ‘घघडान’ नेताहरू मन्त्री बन्न नपाउँदा सञ्चारजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दैछन्। केन्द्रीय सदस्यमा समेत नपुगेका बाँस्कोटाले ओलीसँगको ‘विशेष सम्बन्ध’ले नै त्यो बाटो बनाए।

ओली पक्षकै स्थायी समिति र पोलिटब्युरोमा रहेकाहरूले समेत मन्त्री नपाउँदा उनले विशेष सम्बन्धकै कारण मन्त्रालय हाँकिरहेका छन्। लामो समयदेखि ओलीसँग साथ रहेका बाँस्कोटा ओलीका ‘भित्रिया’ मध्येका एक हुन्।

पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका बाँस्कोटाले एमाले मुखपत्र दृष्टिको कार्यकारी सम्पादक हुँदादेखि ओलीसँग सम्बन्ध बढाएका हुन्।

‘दृष्टिमा कार्यकारी सम्पादक भएपछि उहाँको केपी ओलीसँग निकट सम्बन्ध भएको हो’, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीका प्रेस सल्लाहकार भएका प्रमोद दाहाल भन्छन्,‘हामीले पत्रकारिता सँगै गरेका हौं, ओलीको प्रचार क्षेत्रमा सहयोगसमेत हामीले सँगै गर्यौ।’

बाँस्कोटा पत्रकारिता छाडेर जिल्लाको राजनीतिमा केन्द्रीत भएपछि ओलीसँग थप सम्बन्ध विस्तार गरे।

पार्टीमा तत्कालीन महासचिव माधवकुमार नेपालको ‘दबदबा’ थियो। त्यस बखत फरक मत राख्ने ओलीको ‘नोट अफ डिसेन्ट’ बाँस्कोटामार्फत बाहिरिन्थ्यो। ओलीलाई जिल्ला जानसमेत रोक लगाइएका बेला काभ्रेबाट बाँस्कोटाले ‘स्पेश’ बनाइदिए। उनले ओलीलाई आमन्त्रण गरेर कार्यक्रम गरे। उनी काभ्रे जिल्लामा दुई पटक सचिव र एक पटक अध्यक्ष बने।

जिल्लाबाट राजनीतिमा सक्रिय भएसँगै ओलीसँग उनले निरन्तर भेटघाट जारी राखे। एमालेको नवौँ महाधिवेशनमा ‘पार्टी अध्यक्ष बन्ने दिवा स्वप्न नदेख्न’ माधव नेपाललाई उनले हुँकारसमेत दिए।

विपक्षीलाई ‘भित्तामा पुग्नेगरी धारणा राख्न सक्ने नेता’ भएकै कारण ओलीसँग उनको चरित्र मिल्ने एमाले निकट एक पत्रकार बताउँछन्।
‘त्यस्तो मान्छे ओलीलाई मनपर्छ’, ती पत्रकारले भने, ‘महेश बस्नेत, शेरधन राई र निरु पाल पनि उस्तै छन्। उनीहरु सिक्काको दोश्रो पाटो हेर्दैनन्।’

एमाले प्रचार विभागका सचिव विष्णु रिजाल बाँस्कोटा पहिलादेखि नै ओलीको निकट रहेको बताउँछन्।

‘उहाँ अध्यक्षले विश्वास गरेको व्यक्ति हो’, रिजाल भन्छन्, ‘मैले थाहा पाएदेखि नै उहाँले निकट रूपमा काम गरिरहेको बुझ्छु।’

त्यसो त बाँस्कोटालाई विगतमा पनि ओलीले मन्त्री हुन सुझाएका थिए। सुशील कोइराला नेतृत्वको सरकारमा दीपक अमात्यलाई फिर्ता बोलाएपछि ओलीले बाँस्कोटालाई पर्यटन मन्त्रालय सम्हाल भनेका थिए।

उनले छ महिनाका लागि मन्त्री हुन्न भन्दै लत्याइदिए। त्यतिबेला अन्तरिम संविधानले सांसद नभएका व्यक्तिलाई मन्त्री हुन रोकेको थिएन। बाँस्कोटाले नमानेपछि ओलीले कृपाशुर शेर्पालाई पर्यटन मन्त्री बनाए।

बाँस्कोटा राजनीतिको सुरूवातमा एमाले नेताहरू ईश्वर पोखरेल र प्रदीप नेपाल निकट थिए। प्रदीप नेपाल एमालेको पत्रिका ‘छलफल’को सम्पादक भएका बेला उनी काभ्रे संवाददाता थिए। एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मीरा ध्वजुले उनलाई विद्यालयमा पढाएकी थिइन्। मीरासँगको चिनजानले बाँस्कोटाले पोखरेलसँग सम्बन्ध विस्तार गरेका थिए।

सुरुवातदेखि नै मालेको आधिकारीक भनाइ आउने दृष्टि साप्ताहिकमा कार्यकारी सम्पादक भएपछि ओलीसँग बाँस्कोटाको लाइन मिलेको थियो। पत्रिका पनि बिस्तारै ओलीको लाइनमा जाँदै थियो। पत्रकारिताकै सम्बन्धलाई बाँस्कोटाले ओलीसँग साइनो जोड्ने माध्यम बनाएका थिए।
ओलीसँग सुरूवातका समयमा भएका भेटबारे राज्यमन्त्री बाँस्कोटा भन्छन्, ‌’ओलीको विचार प्रवाह पृथक खालको छ। त्यो गहिरो छ। मेरो पत्रकारितामा गाँसिएको मष्तिकले छिट्टै उहाँको प्रभाव महसुस गर्यो।’

उनले दृष्टि साप्ताहिकका लागि कैयौं पटक ओलीको अन्तर्वार्ता लिए। ओलीको लेखको सम्पादनसमेत गरे।

बाँस्कोटा आफ्नो प्रधानमन्त्री ओलीसँग छुट्टै र विशेष सम्बन्ध भएको स्वीकार गर्दैनन्।

‘विशेष, छुट्टै विशिष्ट वा अतिरिक्त सम्बन्ध छ भन्ने मलाई लाग्दैन,‘ बाँस्कोटा भन्छन्, ‘राम्रो सम्बन्ध छ।’

त्यसो त मन्त्री भएपछि क्वाटर नपाएका बाँस्कोटा यतिबेला प्रधानमन्त्री ओलीको निजी निवास भक्तपुरको बालकोट बस्छन्।

मन्त्री भएपछि भाडामा घर खोजिरहेका बाँस्कोटालाई ओलीले नै आफ्नो घरमा बस्न सुझाएका थिए।

‘मलाई सुरक्षा लिनु परेको छैन, झण्डा राख्नुपरेको छैन’, बाँस्कोटा भन्छन्, ‘उहाँको घरमा यी सबै प्रबन्ध पहिला नै छ। म अध्यक्षको घरमा ढलीमली गरेर बसेको छु।’

राजनीतिमा सक्रिय हुनुअघि नै ओलीलाई आफूले ‘सपनाको राजकुमार’को रूपमा चिनेको बाँस्कोटा बताउँछन्।

विद्यार्थी कालदेखि म राजनीतिमा सक्रिय थिएँ। राजबन्दी रिहाइ गर भनेर हामी भित्ता लेखेर हिँड्थ्यौँ’, बाँस्कोटा भन्छन्,‘मैले सयौँ भित्ताहरू रंग्याएको थिएँ – मोहनचन्द्र अधिकारी र खड्ग ओलीलाई रिहाई गर भनेर।’

‘अन्य नेता भूमिगत थिए। तर जेलमा रहेका उनीप्रतिको आकर्षण मलाई स्वत: बढ्यो’, बाँस्कोटाले भने,‘हामीले एउटा सपनाको राजकुमारजस्तो मान्छेसँग भेट्यौँ।’

केपी ओली गृहमन्त्री भएका बेला गरेको एउटा व्यवहारले आफू थप प्रभावित भएर निकट बनेको बाँस्कोटा बताउँछन्।

‘मेरो साथी असई थियो। उहाँ गृहमन्त्री। मेरो गृहमन्त्रीसँगको सम्बन्धले उसले स्वभाविक बढुवामा सहयोगको आशा गर्यो। मैले पनि सहजै लिएँ। केपी ओलीसँग चिनजान थियो। जाउँ न त भनेर मैले मंगलबजार पुर्याएर भेटाएँ’, बाँस्कोटा भन्छन्, ‘मैले मेरो साथी हो भनेँ, तर उहाँले मलाई बाहिर पठाएर एक्लै कुरा गर्नुभयो।’

बास्कोटा साथीसँग ओलीको कुराबारे आफूले ६ महिनापछि मात्र थाहा पाएको बताउँछन्।

‘उहाँले यो मान्छे कहाँ भेटिस्? के के भनेको छ? कति पैसामा डिल गरिस् भनेर केराकार गर्नुभएछ’, बाँस्कोटा भन्छन्, ‘साथीलाई तिमीलाइ यहाँ लिएर आउँदा मलाई यति पैसा चाहिन्छ माथि बुझाउनुपर्छ भनेर भनेको छ कि छैन? भनेर सोध्नुभएछ।’

आफूलाई शंका गर्दा आफ्नो उनीसँग झन् सम्मान सोही घटनाबाट बढेको बाँस्कोटा बताउँछन्।

‘साधारण मानिसहरूसँग गरिने व्यवहार र कतै तिनीहरू आफन्त वा प्रियहरूबाट ठगीमा पर्लान् कि भनेर जसरी सचेतना अपनाउनुभयो, मलाई यो मान्छे देशका लागि ठिक छ भन्ने लाग्यो,’ उनले भने।

बाँस्कोटाले आफ्नो घर सानो भएकै कारण ओलीको घरमा बसेको बताए।

‘उहाँ मेरो घरमा आउनुभएको छ’, उनले भने, ‘३ आनामा बसेको चार कोठे घर छ। मेरो सबै पारिवारिक विषयबारे उहाँलाई जानकारी छ।

मन्त्री भएपछि साँघुरो घरमा सकसजस्तो भयो। एकैचोटी जीवन बदलिए जस्तो लाग्यो।  घर खोज्दै हिँड्दा प्रधानमन्त्रीज्यूको घर खाली भेटियो।’

एमालेनिकट एक पत्रकार भने बाँस्कोटा राजनीतिक खेलाडी भएको बताउँछन्।

‘गुट व्यवस्थापनको काम गर्नुहुन्छ। ओलीसँग गुटका मानिस भेटघाट मिलाउनुहुन्छ’, ती पत्रकार भन्छन्, ‘बाग्मती अञ्चलमा कैलाश ढुङ्गेल, माधव ढुङ्गेल र गोकुल बाँस्कोटा ओलीका खास मान्छे हुन्। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बनाउन पनि उहाँको लबिइङको भूमिका छ।’

बाँस्कोटा भने आफू ओलीको राजनीतिक दुरदर्शीताबाट प्रभावित रहेको दाबी गर्छन्।

‘प्रधानमन्त्रीको पदमा बसेर थिचोमिचोविरुद्ब बोल्ने उहाँको विषयले म प्रभावित छु। त्यो भनेको सैनिकले लडाँइमा छाती थापेर लड्ने भन्दा ठूलो हो,’ उनले भने।

ओली र बाँस्कोटाका केही समानता पनि छन्। प्रतिनिधि सभा निर्वाचनमा ओलीले सबैभन्दा धेरै ५७ हजार मत ल्याए। बाँस्कोटाले दोश्रो सबैभन्दा धेरै मत ल्याए। उनले काभ्रे २ बाट ५५ हजार मत कटाए। दुवैले अन्तरजातीय विवाह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४