Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिउँसै घर फोड्ने चोर खोज्दा ब्राउन सुगरको डिलरसम्म पुग्यो प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । केही महिनायता बौद्ध, जोरपाटी लगायतका ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धका अधिकृतहरु हैरान थिए । एकपछि अर्को चोरी हुन थालेपछि वृत्तका डीएसपी नविन कार्कीले विशेष टोली नै बनाएर एम्बुस थाप्न थाले ।

हालै भएको एउटा चोरीका केही दृश्य भने नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद भयो । क्यामरामा ०२–०२० प ६६१० नम्बरको पहेँलो रंगको स्कुटर पनि देखिएको थियो । त्यो नम्बरको आधारमा यातायात व्यवस्था कार्यालयबाट रेकर्ड मगाएर प्रहरीले हेर्‍यो । तर, उपलब्धी हात परेन ।

बौद्धको फुलबारीमा एकजना व्यक्ति तरकारी किन्न पसलमा गएका वेला भएको घटनामा तीन वटा सिक्रीसहितका गरगहना लगिएको छ । जिन्सी सामग्री भने जस्ताको तस्तै थिए ।

त्यही क्षेत्रलाई लक्षित गरेर बौद्ध प्रहरीले एम्बुस थापिरहेका वेला सीसी क्यामरामा देखिएको चोरको जस्तै र नम्बर पनि अधिकांश मिल्ने स्कुटर फेला पार्‍यो । अन्तिमको एउटा अंक मात्र मिलेको थिएन । यद्यपि, सादा पोशाकमा रहेका प्रहरी स्कुटर धनीलाई कुरेर बसे ।

‘पक्कै त्यही स्कुटर हुनुपर्छ भन्ने आशंका थियो, केहीबेरमा स्कुटरमा एउटा व्यक्ति बसेपछि पक्राउ गरेका थियौं’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘हिरासतमा लिएर केरकार गर्ने वित्तिकै उनले स्कुटरको अन्तिममा भएको १ नम्बरलाई ० बनाएर चोरीमा जाने गरेको पाइयो ।’

बौद्धका डीएसपी कार्कीका अनुसार अन्य अपराधीले समूहमा चोरी गर्ने गरेका थिए । तर, स्कुटर धनी झापाको तत्कालीन शरणामती गाविस हालको झापा गाउँपालिका घर भइ काठमाडौं आरुबारीका २७ वर्षीय सोनम लामा चोरीमा एक्लै खटिने गरेका थिए, त्यसले उनीसम्म पुग्न प्रहरीलाई गाह्रो भएको थियो ।

लागूऔषध सेवन गरेर चोरीमा

अधिकृतहरुका अनुसार लामा घर फोड्ने विषयको विज्ञ रहेछन् । दिउँसो कोही नभएको मौकामा घर फोडेर गरगहना निकाल्ने वित्तिकै उनले सूर्यबहादुर श्रेष्ठ र सन्तोष विकलाई दिने गरेका थिए ।

उनीहरुले जोरपाटीमा युवराज बलु बबरले गैरकानुनी रुपमा चलाएको गणेश टन्च सेन्टर नामक सुन पसलमा लगेर गरगहना बिक्री गर्ने गरेको पाइएको डीएसपी कार्की बताउँछन् । पसलमा चोरीका सुन गालेर अवैध रुपमा बिक्री गर्ने गरिएको पाइएको छ ।

अनुसन्धानका क्रममा सोनमको साथबाट लागूऔषध ब्राउन सुगर पनि बरामद भयो । उनी लागूऔषध सेवन गरेर चोरीमा निस्किने गरेको समेत पाइएको प्रहरी बताउँछ । सोनमको मातहतमा अन्य कोही हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाउँदा ब्राउन सुगर कारोबारीको समूहलाई समात्यो ।

सोनमकै माध्यमबाट समातिएका लागूऔषध कारोबारीमा सिन्धुपाल्चोक साविकको तातोपानी गाविस–५ का ३७ वर्षीय सञ्जीव तामाङ, झापा कन्काई नगरपालिका–३ का सनम माझी र झापा शिवसताक्षी नगरपालिका–५ का विजय लिम्बू छन् । उनीहरुको साथबाट विभिन्न ठाउँमा पैसा पठाएको आईएनईको सिल्प पनि भेटिएको छ ।

प्रहरीले सुनजाँदी पसलका सञ्चालक बबरालाई पनि पक्राउ गरेको छ ।

सोनमको विगत केलाउँदै प्रहरी

प्रहरीका अनुसार सोनम भारतमा बस्ने तिब्बती परिवारका सदस्य हुन् । झापा हुँदै दाइसँग एक दशक अघि नेपाल छिरेका उनले नेपाली नागरिकता समेत बनाइसकेको आशंका गरिएको छ ।

लागूऔषध सेवनसँगै उनी पछिल्ला वर्षहरुमा चोरीमा संलग्न रहेको पाइएको प्रहरी बताउँछ । चोरीबाट आएको रकमले उनले विलासी जीवनयापन गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले हालै धरानका एक जना लाहुरेकी छोरीसँग विवाह गरेका थिए । ‘झट्ट हेर्दा चोर जस्तो पनि देखिँदैन, एकदमै ब्राण्डेड कपडा लगाएर हिँड्ने गरेको पाइएको छ’, अनुसन्धान अधिकृतहरु भन्छन् । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४