काठमाडौं, १३ पुस । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ यतिखेर नेपालमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आएलगत्तै भेटघाटमा व्यस्त रहेका येझाउले आइतबारै साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए ।
बालुवाटारमा भएकाे ओलीसँग उक्त शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साे क्रममा उपमन्त्री येझाउले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश पनि सुनाएकाे बताइएकाे छ ।
नेकपामा देखिएकाे विवाद एवं विभाजनले राजनीतिक अस्थिरता निम्त्याउनेबारे नेपाली जनता चिन्तित भइरहँदा चिनियाँ कम्युनिस्ट पार्टीकाे चासाे समेत बढेकाे छ । उक्त पार्टीका तर्फबाट नेपाल आउन आएको येझाउ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो । टाेलीले प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकाे थियाे ।
साेमबार यस टाेलीले नेकपाकाे विभाजित समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग पनि भेट गरेकाे छ ।