प्रचण्ड–माधव समूहबाट भर्खरै ओली समूहमा लागेका प्रभु साहले शहरी विकास मन्त्रालय पाएका छन् ।
भूमिसुधार मन्त्री पदमा अर्याल कृषि मन्त्रालयमा सरुवा भएकी छिन् । कानून मन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छिन् । महिला मन्त्रालय सम्हालेका लीलानाथ श्रेष्ठ कानूनमन्त्री बनेका छन् ।
विगतमा उर्जामन्त्री बनेका बेला लोडसेडिङ हटाउन नसकेका टोपबहादुर रायमाझीले पुनः उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै वनको ठेक्कापट्टासँग स्वार्थ जोडिएको आरोप लाग्दै आएका प्रेम आलेले वन मन्त्रीकै जिम्मेवारी पाएका छन् ।
अन्तिम घडीमा माधवकुमार नेपाल समूहमा लाग्ने बताएर ओली समूहमै फर्किएका रघुवीर महासेठकी धर्मपत्नी जुलीकुमारी महतो महिला बालवालिका मन्त्री बनेकी छिन् ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाएर उनको ठाउँमा दाबा लामालाई ल्याइएको छ । उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि हटाइएको छ । दुगडको ठाउँमा विमला विश्वकर्मालाई ल्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले राजीनामा दिएपछि खाली रहेका मन्त्रालयहरु भागवण्डा गरिएको हो ।
संसद विघटन गरेर बैशाखमा चुनाव गर्ने गरी कामचलाऊ बनिसकेका प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा राम्रा र काम गर्न सक्नेलाई भन्दा पनि पूर्वमाओवादीबाट आएकालाई भागबण्डा गर्ने पुरानै नीति अख्तियार गरेका छन् ।
पार्टीभित्र लामो समय त्याग गरेका घनश्याम खतिवडाजस्ता पुराना नेताहरुले यसपालि पनि मन्त्री खान पाएनन् । बरु, प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले मन्त्रालयको जिम्मेवारी पाए । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् । गौरीशंकर चौधरीले श्रम मन्त्रालयको जिम्मा पाएका छन् ।
