Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माइतीघरमा नेकपाका सांसदको प्रदर्शन : हामी यहाँ छौं !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 4.6K
    SHARES

 काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।

  • आज दुनियाँलाई नेकपाको आधिकारिकता देखाउनका लागि सडकमा आएका हौं : भुसाल

निवर्तमान मन्त्री घनश्याम भुसालले संसद पुनस्र्थापना भएन भने संविधानले काम गर्न छाड्ने र मुलुक अस्थिरतातर्फ फस्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कृषि मन्त्रीबाट राजीनामा दिएका भुसाल शुक्रबार माइतीघर मण्डलामा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बने । भुसालसँगै अर्का निवर्तमान मन्त्री योगेश भट्टराई पनि माइतीघरमा उपस्थित भए ।

माइतीघरमा भेलाएका बरिष्ठ नेता–कार्यकर्ताहरु अब निर्वाचन आयोगतर्फ जाने भुसालले बताए । नेकपामा आफूहरु ( प्रचण्ड–माधव समूह) नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन निर्वाचन आयोगमा जान लागेको भुसालले बताए । साथै आजै सांसद अदालत जाने कार्यक्रम रहेको पनि भुसालले बताए ।

नेकपा (प्रचण्ड–माधव समूह) का नेता भुसालले भने, ‘अहिले हामी निर्वाचन आयोग जाँदैछौं र त्यहाँ एउटा निवेदन दिँदैछौं । खासगरी केन्द्रीय कमिटीको अत्यधिक बहुमत हामीसँग छ र हामी नै आधिकारिक हौं भन्ने प्रमाणित गर्नका लागि र यो दुनियाँलाई देखाउनका लागि, त्यसमाथि जालझेल नहोस् भन्नका लागि हामी निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्यहरु जाँदैछौं ।’

भुसालले भने, अदालतको सुनुवाई आज सुरु हुन्छ, त्यहाँ पनि हामी सांसदहरु पुग्छौं । र, यसरी बहुमत सांसदहरु, बहुमत केन्द्रीय कमिटीका सदस्यहरु, हामी संसदको पुनस्थापनाको पक्षमा छौं र हामी आधिकारिक नेकपा हौं भन्ने आज हामी स्पष्ट पार्न चाहन्छौं ।’

मन्त्रालय चलाइरहेका मन्त्री र सांसदहरु सडकमा हिँड्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा भुसालले भने, ‘आजको प्रश्न भनेको संसदको पुनस्र्थापनाको हाम्रो माग छ । यो माग संविधानको रक्षाको माग हो ।’

उनले अगाडि भने, ‘संसदको पुनस्र्थापना भएन भने हाम्रो संविधानले काम गर्न छोड्छ र फेरि मुलुक अर्को अस्थिरताको भुँवरीमा फस्छ । त्यसले गर्दाखेरि यो माग सांसदको मात्रै माग होइन । कम्युनिस्ट पार्टीका सदस्यको मात्रै माग होइन । यो समस्त लोकतन्त्रका लागि लडेका, लोकतन्त्रप्रेमी सबै नागरिकहरुको माग हो, मुद्दा हो । त्यसकारणले आज यो सबैको दायित्व हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४