काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।गत बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएपछि आज पनि सुनुवाई निरन्तर हुने भएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए ।न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले ‘थप संवैधानिक जिम्मेवारी नदिन’ आदेश गर्दै संवैधानिक इजलासमा थप सुनुवाई गर्न आदेश दिएको थियो ।
बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गर्नुभएको थियो भने गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गर्नुभएको थियो ।
गौतमको तर्फबाट बहस गर्न पूर्व महान्यायाधीवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठलगायत ३० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन् ।