Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाविरुद्धको मोर्चाबन्दीमा साथ दिएनन् सिटौलाले पौडेललाई , देउवा–पौडेललाई माफी मागेर अघि बढ्न सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 6.5K
    SHARES

 

काठमाडौं । नेपाली काँग्रेसमा तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् । गृहजिल्ला झापाको २ महिनाको बसाइपछि बिहीबार काठमाडौं फर्किएका सिटौलाले १४ औं महाधिवेशनका सम्बन्धमा पार्टीभित्र देखिएको आन्तरिक कलहका विषयमा नेताहरुसँग छलफल सुरु गरेका बुझिएको छ ।

शनिबार आफू पक्षीय नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईँ लगायतसँग आफ्नो निवासमा छलफल गरेर सिटौलाले शीर्ष नेताहरुसँगको भेटघाट थालनी गरेका हुन् ।  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति देउवाविरुद्धको मोर्चाबन्दीमा जोड्न प्रयास गरिरहेका बेला सिटौला समूहले फरक ढंगले प्रस्तुत हुने नीति लिएको छ ।

 विधानविपरित गरेको निर्णय खारेजीका लागि पौडेल पक्षले देउवामाथि दबाब दिरहेका बेला सिटौला समूहको शनिबारको भेलाले आफू फरक ढंगबाट जाने नीति लिएको हो । आफ्नो समूहको छलफलपछि सिटौला शनिबार साझा पार्टी सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

त्यसपछि आइतबार विहान सिटौला वरिष्ठ नेता पौडेललाई भेट्न बोहोराटार पुगेका थिए । बिहान साढे  ९ बजेदेखि ११ बजेसम्म पौडेल र सिटौलाबीच भेटवार्ता भएको थियो । सिटौलाले अन्य पार्टी पदाधिकारलाई पनि भेट्ने तयारी रहेको जन न्युज नेपाल खवरलाई सुनाए ।

उनले भने, ‘म दुई महिना झापा बसेर फर्किएँ । यहाँ पार्टीभित्र अन्तरविरोध चुलिँदै गयो । महाधिवेशनको मुखका कार्यकर्ता विभाजन गर्ने काम भयो । यसले पार्टीलाई हित गर्दैन भनेर पार्टी पदाधिकारीसँग छलफल सुरु गरेको हुँ ।’  पार्टीका फोरम बाहिर झगडा र हस्ताक्षर गर्नेजस्ता अभ्यासले महाधिवेशन झन् अन्योलमा पर्ने काम भएको भन्दै आफूले छलफल अगाडि बढाएको सिटौलाले बताए । 

आइतबार पौडेलसँगको भेटपछि सिटौलाले जन न्युज नेपाल खवरलाई भने, ‘उहाँहरुको समूह छुट्टै छ । हाम्रो समूह छुट्टै छ । हामी उहाँहरुको समूहले गर्ने विरोधमा सहभागी हुँदैनौ । उहाँहरु आफैले गर्नुहुन्छ । महाधिवेशनमाथि थप अन्यौलता थप्ने काममा हामी लाग्दैनौँ । रामचन्द्रजीसँग हामी यस्तो हस्ताक्षर अभियानमा सहभागी हुँदैनौँ भनेर आफ्नो कुरा पनि राखेको हुँ । 

सिटौलाले विधान विपरितका विषयमा आफ्नो विरोध रहेपनि मोर्चाबन्दीमा सामेल हुन सक्ने बताएको वरिष्ठ नेता पौडेलले जन न्युज नेपाल खवरलाई जानकारी दिए । तर आफूहरुले भने आज विरोधपत्र दर्ता गर्न लागेको पौडेलले जानकारी दिए ।
सिटौलाले देउवाविरुद्धका विरोधका कार्यक्रममा आफू सहभागी नहुने भनेपछि पौडेल समूहले मात्रै दिउँसो दुई बजे पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ । 

सिटौला समूह देउवाविरुद्धको मोर्चाबन्दीमा सामेल नभए पनि पौडेलले समूहले पदाधिकारी र सदस्यहरू गरी २७ जनाद्वारा हस्ताक्षरित विरोधपत्र दर्ता गर्दै छ । विरोधपत्र दर्तापछि संस्थापन पक्षले निर्णय नसच्याए चरणबद्ध विरोधका कार्यक्रम लिएर जाने पौडेल पक्षको तयारी छ । त्यसका लागि गत साउनदेखि नै पौडेल पक्षले गृहकार्य गरिरहेको छ । तर सिटौलाले नेताहरुसँगको भेटमा महाधिवेशनका विषयमा केन्द्रित छलफल अगाडि बढाएको बताएका छन् ।
पहिले सभापति र सबै पदाधिकारी मिलेर कार्यतालिका ल्याउनुभयो । कार्यतालिकामाथि छलफल हुँदा तालिकाअनुसार महाधिवेशन सम्भव छैन भनेर हामीले भन्यौँ । थप समय लिएर भएपनि महाधिवेशन गरौँ भन्यौँ । तर, कार्यतालिका साँघुरो गरी ल्याउने काम भयो,’ सिटौलाले देउवा–पौडलसँग आफूले राखेको कुरा सुनाए ।

उनले अगाडि थपे, ‘मैले त यही कार्यकतालिका अनुसार महाधिवेशन भए तपाईहरुलाई फुलमाला लगाएर सम्मान गर्छु भनेको थिएँ । तर न काम भयो न महाधिवेशन हुने भयो । अब बाहिर झगडा गरेर र एकले अर्कोलाई हिलो छ्याप्दा कसरी महाधिवेशन हुन्छ ?

१९ असोजमा महाधिवेशनकै तयारी सन्दर्भमा केन्द्रीय समिति बैठक बस्न लागेको भन्दै महाधिवेशनका लागि पदाधिकारीहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । ‘साउनसम्म क्रियाशील सदस्यताको टुंगो लगाउने भन्ने थियो । तर, एक जिल्लाले पनि सकेनन् । पौडेलजीको होल्ड रहेको भनिएका ४५ जिल्लामा पनि सकिएन,’ सिटौलाले भने, ‘आफूले पनि नसक्ने अनि सभापतिलाई मात्रै दोष दिएर हुँदैन । यस्तोमा गलत कार्यतालिका बनाएकोमा पदाधिकारीले माफी माग्नुपर्छ र कमजोरी कहाँ कहाँ भयो, कहाँ सच्याउनुपर्ने हो छलफल गरेर अगाडी बढनुपर्छ भनेर नेताहरु लाइ आग्रह गरेको छु। 

काठमाडौंमा घरभन्दा बाहिर निस्कन नसकेका नेताहरुले जिल्लाका कार्यकर्ताहरुले काम गरेन भन्नु पनि व्यवहारिक नभएको सिटौलाको भनाइ थियो । कोरोना महामारीलाई मध्यनजर गरी महाधिवेशनको कार्यतालिकाबारे निर्णय लिनुपर्ने सिटौलाको भनाइ छ । पौडेल समूहले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन गर्न संस्थापन पक्षलाई दबाब दिने रणनीति बनाएका बेला सिटौला कार्यतालिका परिर्माजन गरेर जानुपर्ने पक्षमा उभिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४